भर्खरै :

ख्वप कलेजमा शैक्षिक–औद्योगिक संवाद कार्यक्रम

ख्वप कलेजमा शैक्षिक–औद्योगिक संवाद कार्यक्रम

भक्तपुर, ३१ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा विद्यार्थीहरूबिच उद्यमशील सोचको विकास गर्ने अभिप्रायले एकदिने ‘ख्वप शैक्षिक–औद्योगिक संवाद’ कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले शिक्षालाई श्रमसँग जोड्ने नीतिअन्तर्गत भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अध्यापन कार्य भइरहेको बताउनुभयो ।
शैक्षिक क्षेत्र विदेशीको लागि सस्तोमा ज्यामी तयार गर्ने ठाउँ नभई शिक्षासँगै सीपको विकास गराई उद्यमशीलताको विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले युवाहरूमा उद्यमशील सोच, नवप्रवर्तन तथा आत्मनिर्भर व्यवसायिक संस्कृतिको विकास आजको आवश्यकता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शैक्षिक संस्था र उद्योग क्षेत्रबिचको सहकार्यलाई अझ सुदृढ बनाउनु जरूरी छ । भक्तपुर पर्यटकीय क्षेत्र भएकोले स्थानीय स्तरमा आवश्यक सामग्रीको उत्पादनमा जोड दिन भक्तपुर नगरपालिकाले उद्यमशील कर्जा प्रवाह गरिरहेको र विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको छ ।”
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले शिक्षालाई व्यावहारिक तथा उद्यममुखी बनाउन यस्ता संवाद कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनुभयो । कलेजले उच्च शिक्षामा औपचारिक अध्यापन मात्र नभई विद्यार्थीको वृत्ति विकासका कार्यमा समेत जोड दिई सामाजिक उत्तरदायित्व वहन गरिरहेको बताउनुभयो ।
ख्वप ईन्क्युवेसन ल्यावका संयोजक अञ्जु ग्वाछाले कार्यक्रमको उद्देश्य, पृष्ठभूमि तथा अपेक्षित उपलब्धिबारे जानकारी दिई विद्यार्थीहरूमा उद्यमशील सोच तथा नेतृत्व क्षमताको विकास गर्न कलेजले इन्क्युवेसन ल्यावको माध्यमबाट विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
कलेजका उप–प्राध्यापक तथा उद्यमी निष्ठा कायष्ठले आफ्नो व्यवसायिक यात्राको अनुभव बताउँदै व्यवसायमा व्यावहारिक रूपमा आइपर्ने अवसर तथा चुनौतीहरूको बारेमा बताई विद्यार्थीलाई उद्यमी बन्नको लागि अभिप्रेरित गर्नुभयो ।
उहाँले सफल उद्यमी बन्नको लागि निरन्तर सिकाइ, मेहेनत, नवीन सोच तथा आत्मविश्वास अत्यावश्यक हुने बताउनुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. भोजराज अर्याल, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णमुरारी न्यौपाने र गोर्खा इको प्यानलका प्रमुख तथा उद्यमी ई. सुरेश कवांको उपस्थितिमा छलफल भयो ।
कार्यक्रमका सहजीकरणकर्ता एवं कलेजका उप–प्राध्यापक रामेश्वरी बखुन्छेँले विज्ञहरूमाझ उद्यमशीलता प्रवद्र्धन, उद्योग–शिक्षा सहकार्य, नवप्रवर्तन तथा स्टार्टअप संस्कृतिको विकासका विविध पक्षमा प्रश्न राखी अन्तरक्रियात्मक छलफल भयो ।
त्यस अवसरमा सहभागी विद्यार्थीहरूले उद्यमशीलतासम्बन्धी उपस्थित विज्ञहरूमाझ विभिन्न जिज्ञासाहरू राखेका थिए ।
कार्यक्रमले शैक्षिक संस्था र उद्योग क्षेत्रबिचको सम्बन्धलाई थप सुदृढ बनाउँदै विद्यार्थीहरूमा उद्यमशील सोचको विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा शिक्षक÷प्राध्यापक, उद्योग क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताबिच अन्तरक्रियात्मक कार्यक्रम भयो । कार्यक्रममा कलेजमा उपप्राध्यापक सुनिता गाइसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *