उठ जाग ए श्रमिक हो
- असार ५, २०८३
नेपालका महान् कवि सिद्धिचरणसितको मेरो परिचय त्यसबेलादेखि भयो जब मैले उहाँलाई कलकत्ताबाट छापिने मेरो मासिक पत्रिका ‘प्रभात’ को पहिलो अङ्कका लागि एउटा कविता पठाइदिनुहुन पत्राचार गरेको थिएँ । त्यो सन् १९५१ अप्रिल महिनाको कुरा थियो ।
उहाँले हार्दिकताका साथ मेरो अनुरोध स्वीकार गरी हामीलाई शुभेच्छा र आशीर्वादका भावनाले ओतप्रोत भएको ‘प्रभात’ शीर्षकको एक कविता पठाउनुभयो । उहाँ मेरो एक अति प्रिय कवि भएको हुनाले सो कविता पाउँदा म त साँच्ची नै दङ्ग परेँ ।
त्यो कविता समयमै आएको थियो । त्यसमा अभिव्यक्त भएका भावहरू यस्ता थिए–
प्रभात रे, प्रकाश रे, नवीन ज्योति खुल्छ रे
शताब्दिदेखि मूच्र्छित अचेत प्राण उठ्छ रे ।
मलाई थाहा छ, सिद्धिचरण नेपालका सर्वोच्च कवि हुन् । तर यिनै सर्वतोमुखी प्रतिभाका सम्बन्धमा मैले त्यतिखेर मात्र थाहा पाएँ जब स्व. सूर्यविक्रम ज्ञवालीले नेपाली साहित्यकाशका दुई तारा सिद्धिचरण श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटासम्बन्धी शीर्षकमा एक लेख प्रकाशित गर्नुभयो ।
वास्तवमा दार्जिलिङवासीहरूको तर्फबाट नेपाली प्रतिभाहरू सम्बन्धमा लेखिएको यो प्रथम लेख थियो । तिनताक नेपालमा नेपाली कवि र तिनका कृतिहरूबारे समालोचना लेख्ने चलन थिएन । यसका कारणहरूमध्ये एकचाहिँ के हुन सक्छ भने त्यसबेला साहित्यिक समालोचना र त्यसको ज्ञान गरिमाको प्रचलन नेपालमा पनि चलेको थिएन र अर्को मुख्य कारण त्यसबेलाको राणासरकारका क्रूर अवस्थामा केवल राणा र तिनका परिवारको मात्र स्तुति गाउनुपर्दथ्यो ।
उपर्युक्त लेखमा हामीले नेपालका कविहरूको प्रतिभाको उच्च प्रशंसा गरेको विषयलाई सर्वप्रथम पढ्न पाएका थियौँ । फलतः हामीले के सोच्यौँ भने नेपालजस्तो सानो देशमा पनि यस्ता उच्च र व्यापकस्तरका प्रतिभाशाली मानिसहरू बसेका रहेछन् ।
अब म यहाँ प्रस्तुत उद्देश्यमुताबिक केवल कवि सिद्धिचरण श्रेष्ठका विषयमा चर्चा गर्नेछु । माथि भनिएको लेखमा कवि सिद्धिचरण नेपालको पूर्वी भागमा रहेको ओखलढुङ्गा भन्ने ठाउँमा जन्मिएका रहेछन् र त्यो उनको पवित्र जन्मस्थल रहेछ भन्ने थाहा भएको थियो ।
पछि म हुर्किँदै ठुलो भएर जब उनको कविता ‘ओखलढुङ्गा’ पढेँ तब त मैले त्यो कवितालाई बेग्लै आनन्दानुभूति र बेग्लै गहिराइका साथ बोध गरेँ । यो एउटा साहित्यिक परमानन्दको स्रोत छाडेका छन् कविले हाम्रा लागि । यो अनन्त छ ।
ज्ञवालीज्यूले ‘ओखलढुङ्गा’ कविताको चर्चा गर्दै कसरी कवि सिद्धिचरणलाई ओखलढुङ्गामा बिताएको बाल्यकालको सम्झना बारम्बार भइरहन्थ्यो भन्ने कुरा सो लेखमा वर्णन गर्नुभएको छ । कसरी कवि ओखलढुङ्गालाई प्रेम गर्थे, त्यो जन्मभूमि जहाँ उनी ती बनेली र फाँटहरूमा खाई, खेल्दै, गाउँदै, नाच्दै परिव्याप्त घुमे । तर जब उनी हुर्के, बढे, ठुला भएर काठमाडौँ जानुपर्यो तब उनले यो अति प्रियस्थललाई चटक्कै गुमाउनुपर्यो ।
जब कविले यो कविता १९३५ ई.सं. मा लेखे तब उनी त्यतिखेर २२ वर्षका मात्र थिए । म त्यतिखेर एउटा सानो फुच्चे केटो थिएँ । समय बित्दै जाँदा म सरकारी हाइस्कूल दार्जिलिङमा पढिसकेर कलकत्ताको सरकारी ललितकला कलेजमा ६ वर्षको लागि ई.सं. १९३९ मा पढ्न गएँ । म त्यहाँ पढ्दै, काम गर्दै र ३ वटा उपन्यास लेख्दै ई.सं. १९५१ मा ’प्रभात’ पत्रिका प्रकाशन गर्न पुगेँ ।
त्यसपछि पेरिसमा अध्ययन समाप्त गरी मनु थापासित विवाह पनि गरेर लन्डनमा कार्यरत रहेका बेलामा राजा महेन्द्रसँग दर्शनभेट हुँदा मलाई नेपाल आउने मनसाय बक्स हुँदा म १९६१ मा काठमाडौँ आएँ र मित्र नारायणप्रसाद बास्कोटाजीकोमा बसेका बेला उनले मलाई कवि सिद्धिचरणज्यूसित परिचयार्थ लगे ।
त्यो एउटा मेरो लागि साँच्ची नै अभूतपूर्व संवेदनशील क्षण थियो । सो पहिलो भेटमा नै उनले मेरो हात समाई मलाई बस्न भनिएको आशीर्वचन प्राप्त गरेँ । अग्लो, पातलो कदको कविलाई त्यहाँ मैले अत्यन्त सुमधुर, भावुक र सहृदयी पाएको थिएँ । त्यसपछिका दिनहरूमा हाम्रो बारम्बार भेटघाट हुने गथ्र्याे र मलाई बारम्बार अभिप्रेरणा मिलिरहन्थ्यो ।
तत्कालै उनीसित १९६१ को नोभेम्बरमा मलाई ककनीको सौन्दर्य शिरोमणिस्थलमा गई केही दिन बस्ने सौभाग्य प्राप्त भएको थियो । ती दिनहरू हामीहरूले निकै सिर्जनशील उत्पादनका रूपमा बिताएका थियौँ । त्यहाँका विविध प्राकृतिक छविछटा, सूर्योदय र सूर्यास्त, हिमाली शृङ्खलाका गौरवशाली महिमा र तिनका गतिशील दृश्यहरूका बिचमा रही हामीले धेरै सिर्जनाका कार्य गर्यौँ ।
तीमध्ये मैले बनाएका राजा महेन्द्र र कवि सिद्धिचरणका चित्रहरू र उनका सुन्दर कविताहरू उल्लेखनीय छन् । त्यहाँ मैले उनीसित जम्मा एक दिन अत्यन्त सुमधुर र अविस्मरणीय रूपमा बिताएको छु । ती कविता र मैले बनाएको कविको तस्बिर उनका सुपुत्र रविचरण श्रेष्ठसँग सुरक्षित छन् ।
राणा शासनको विरोध गरी जनताको स्वतन्त्रता र कल्याणका लागि कलमवीर भई विद्रोह गरेबापत १९९७ मा उनलाई १८ वर्षको जेल र सर्वस्वहरण गरिएको थियो । जेलमा बस्दा नेपालमा प्रथम उपन्यास ‘सुमती’का स्रष्टा उनका पिता क्रान्तिकारी विष्णुचरण श्रेष्ठ पछि ८० वर्षको उमेरमा जेलमा ल्याइएका थिए र बिरामीमै निकालिएपछि घरमा उनको देहावसान भयो ।
एउटै छोरो जेलवासी सिद्धिचरणलाई बाबुको अन्त्येष्टिमा दागबत्ती दिन पनि दिइएन । उता जेलमा बस्दा भने कवि सिद्धिचरणले गंगालाल, गणेशमान, केदारमान आदिलाई क्रान्तिकारी पाठ पढाई अध्ययन गर्ने र लेखक, कवि हुने प्रेरणा दिँदै विद्वान् कवि र नेतासमेत बनाए । यस प्रकार उनी महान् गुरु र अगुवा हुन् यो देशका ।
अन्तमा, उनी जस्ता उच्च सिर्जनशील प्रतिभाको कदर कसले गर्नुपर्दैन ? हामी सम्पूर्ण देशवासीले उनको कदर हार्दिक र भौतिक स्तरबाट गर्न कति पनि कसर राख्नु हुँदैन । हामी उनका ऋणी छौँ ।
माथि उल्लिखित ककनीको त्यो सङ्गतलगायत आजीवन उनीसित मेरा भएका सत्सङ्गतहरूले म उनको विषयमा यस्तो निचोड निकाल्न चाहन्छु–
कविजी आज हामीसमक्ष छैनन् तर उनको मीठो सम्झना र उनले दिएका योगदानहरू हाम्रो समक्ष रहिरहेका छन् । कवि सिद्धिचरण एक उच्च मानवीय स्तरका आत्मा थिए जो गरिब र निम्न वर्गीय जनताका पक्षमा निडर भई बोल्ने एक लोकप्रिय विद्रोही कवि थिए । उनको साहित्य, स्वतन्त्रता, राष्ट्रियता, प्रजातन्त्र र न्याय एवम् शाश्वत मानवीय संवेदनाप्रतिको आजीवन प्रतिबद्धता जहिले पनि उच्चस्तरमा टड्कारो भई चम्किरहने कुरामा दुईमत छैन ।
उनीजस्ता एक उदाहरणीय व्यक्तित्वको महान् मरणले हामीसमक्ष हाम्रो पिँढी र यो शताब्दीकै एक अति उच्च कविको अमर छवि छाडेको छ । नेपाली र विश्वजनसमुदायमा उनी झन् । हृदयग्राही हुँदै जानेछन् ।
युगकवि सिद्धिचरण शताब्दी स्मृतिग्रन्थबाट
Leave a Reply