यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
-अनिष प्याकुरेल
सोमबार प्रदेश नं ३ को प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो सस्तो भाषणबाजीमा अर्को एउटा श्रृङ्खला थपेका छन् । जननिर्वाचित प्रतिनिधिहरुसामु उनको भाषण कोही जिम्मेवार नेता र देशको प्रधानमन्त्रीको भन्दा पनि एक जना गफाडीको गफजस्तो थियो । ‘क्यानाडामा माल्डा आँप बेच्ने’, ‘अरबमा सागसब्जी पठाउने’, ‘भ्यालेन्टाइन डेमा रोज बेचेर पैसा कमाउने’ उनका अभिव्यक्ति हाँस्य टेलिश्रृङ्खलाका कलाकारहरुको निम्ति गज्जबको मसला बन्नेछ ।
‘ठूला देश भएर पनि अमेरिका र रुसले हात्ती र गैंडा जन्माउन सकेको छैन । गैंडा हेर्न नेपाल नै आउनुपर्छ, अमेरिका गएर पनि हेर्न पाउँदैन । साने देश भएर पनि गैंडा र हात्ती नेपालमै जन्मिन्छ’ आदि अभिव्यक्तिले ओलीको स्तर मापन मात्र भएन बरु संसारका सामू प्रष्ट बनाएको छ ।
बैठकमा उनले भने,‘हामी जुङ्गाको लडाई लड्दैछौं । महिला दिदीबहिनीहरुसँग जुङ्गा हुँदैन । आनन्दै छ । हामी पनि जुङ्गाको लडाई गरिरहनुभन्दा जुङ्गा नै खोरिनु बेश हो ।’ प्रदेश सभाका सभासद्हरुबीच दुई घण्टा बोलेका प्रधानमन्त्रीका यस्ता हलुका टिप्पणी केहीका लागि हाँसोको विषय त बनेको हुनसक्छ । तर वास्तवमा प्रधानमन्त्री आफ्नो अभिव्यक्तिप्रति कति सतही छन् भन्ने कुरा यस्ता अभिव्यक्तिहरुमा प्रतिविम्बित भएको छ ।
‘नेपालमा के छैन, यहीं केदारनाथ, बदरीनाथ, स्वयम्भुनाथ, विश्वनाथ, केदारनाथको शिर के छैन । चितवनमा हात्ती र गैंडा छन्, के छैन ।’ प्रधानमन्त्रीको यो अभिव्यक्ति हलुका र हावादारी त छ नै । साथै यसमा पञ्चायतकालीन अन्धराष्ट्रिय गौरवको बासी गन्ध पनि आइरहेको छ ।
ुप्रधानमन्त्री आफ्नो मनमौजी भाषणका कारण धेरै पटक हाँसोको पात्र बनिसकेका छन् । उनले भाषणमा तत्काल पूरा गर्नै नसकिने सपना र आश्वासनहरु पनि हावादारी तरिकाबाट बोलेका धेरै उदाहरण छन् । यसले उनले फलाक्दै आएको विकास र समृद्धिको नारा आफैमा हाँस्यव्यङ्ग्य बन्दै जानेछ ।
नपाउनेले केरा पायो बोक्रा समेत खायो भन्ने उखानमा जस्तै बहुमतको सरकार र एमाले–माओवादी केन्द्रको असैद्धान्तिक एकतालाई आफ्नो सबभन्दा ठूलो सफलताको रुपमा चर्चा गर्दै प्रधानमन्त्री र उनको पार्टीका नेताहरु ‘दुनियाँमा कहीं नभएको’, ‘संसारमा कहिल्यै नभएको’ जस्ता अतिरञ्जनापूर्ण कुरा गर्दै हिंडेका छन् । संसारका धेर देशहरुमा ओलीको पार्टीले जस्तै बहुमत पाएर समाजवादी कार्यक्रम लागु गरेर पनि साम्राज्यवादले नेताहरुको हत्या गरेका धेरै उदाहरणहरु छन् । चिली, इन्डोनेसिया, भेनेजुयला यस्ता उदाहरणहरु हुन् । अनि नेपालमा आफू मात्र गर्न सकेको जस्तै गरी नेताहरुले तुजुक देखाउनु इतिहासको अल्पज्ञान भयो ।
नेपालको गैंडा पाइन्छ, त्यसकारण नेपाल र नेपाली जनता महान हुनसक्दैन । यदि त्यसो भए कंगारु अस्ट्रेलियामा मात्र पाइन्छ । के अस्ट्रेलियाली जनता अरु देशका जनता महान् भन्ने अर्थ निकाल्न उपयुक्त हुन्छ ।
यस्ता वकम्फुसे गफको सहाराको भरमा देशको आर्थिक समृद्धि र विकास मात्र शब्दमा सीमित होला, यर्थाथमा सम्भव हुनेछैन । आफ्नो देशप्रतिको गौरव यर्थाथपरक हुनुपर्दछ । झुठो र अवस्तुगत गौरव एक छिनको लागि खुशीको लागि हुनसक्छ । तर त्यसले दिगो गौरव कायम हुनसक्दैन ।
Leave a Reply