भर्खरै :

असार १९ को भ्रष्टाचारविरोधी आन्दोलन चालू राख्नु जरुरी

असार १९ को भ्रष्टाचारविरोधी आन्दोलन चालू राख्नु जरुरी

भक्तपुर, १९ असार । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा २०२६ असार १९ गतेको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा किसानहरूबिच प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा पार्टी सचिव प्रेम सुवालले भन्नुभयो, “राजनीति देश र जनताको निःस्वार्थ सेवाको लागि हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले यही उद्देश्य पूरा गर्न राजनीति सुरू गर्नुभएको हो । हामी सबै कार्यकर्ताहरूमा यही भावना हुनु जरूरी छ ।”
सरकारमा गएका दल र तिनका नेताहरूले सहिदको प्रतिमामा फूलको माला लगाएर कर्तव्य पूरा नहुने स्पष्ट पार्दै सचिव सुवालले प्रधानमन्त्री र मन्त्री बनेका तथा शासक दलका कार्यकर्ताहरू देश र जनताप्रति समर्पित भएर लाग्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आफ्ना पुख्र्यौली जग्गा जमिन कानुनबमोजिम परिवारबिच भागबन्डा गर्नसमेत किन्नुजस्तै सरकारी दस्तुर तिर्नुपर्ने बन्दोबस्तले निम्न वर्गलाई थप पीडा दिएको छ ।”
“सरकार परिवर्तन भएर पुग्दैन† भ्रष्टाचार रोकिनुपर्छ”, सचिव सुवालले जोड दिनुभयो । उहाँले भन्नुभयो, “भदौ २३ गते निहत्था जनताको हत्या गर्ने र भदौ २४ गते देशभरि आगजनी गर्नेहरूलाई कारबाही हुनु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले विगतको इतिहासबाट सिकेर नयाँ पुस्ता अघि बढ्नुपर्ने र गलत कामको विरोध गर्नु सचेत नागरिकको कर्तव्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीका अग्रजहरूले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नुभएको थियो । गरिब जनताले दुःख गरी सहकारीमा बचत गरेको रकम संस्थाका पदाधिकारीहरूले संस्थाको उद्देश्यविपरीत व्यक्तिगत स्वार्थमा लगानी गरेको, समयमा मल नल्याई जनतालाई धोखा दिएको र सहकारीको रकम भ्रष्टाचार गर्नेहरूलाई भक्तपुरका क्रान्तिकारी जनताले उल्टो टोपीका साथ नगर परिक्रमा गरी सजाय गरेको दिनलाई भ्रष्टाचारीविरोधी दिवसको रूपमा स्मरण गर्दै आएको हो । यसबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्नु जरूरी छ ।”
कानुन अध्ययन समाज नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष राजु कैतीको मोहियानी हक र जग्गा दर्ताबारे जानकारी दिनुभएको थियो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा आर. प्रजापति, पूर्णगोपाल राजचललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *