भर्खरै :

जाचँबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४४

जाचँबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४४

आयुष वि.क.को कागज व्यहोरा :
मिति २०८२ भदौ २३ गते जेन्जी (Gen-Z) पुस्ताले आह्वान गरेको प्रदर्शनमा म बानेश्वर एभरेस्ट होटलनजिक प्रहरीको व्यारिकेटमा पुगेपछि प्रहरीले अगाडि बढ्न दिएन । म ¥यालीको अगाडि व्यारिकेट नजिकै थिए । पछाडितर्फका प्रदर्शनकारीहरूले प्रहरीले प्रहार गरेको अश्रु ग्याँसको सेल टिपी प्रहरीतर्फ नै फाल्न थाले । व्यारिकेट तोडेपछि प्रहरीहरू पानीको फोहोरा अश्रुग्याँस प्रहार गर्दै पछाडि हट्न थालेपछि प्रदर्शनकारीहरू झन उत्तेजित भई ढुङ्गामुढा प्रहार गर्न थाले । करीब दिनको १२ः३५ बजेतिर मेरो कम्मरमुनि पछाडि बायाँतर्फ रबरको गोली लागी म घाइते भएँ र सहभागी कोही साथीहरूले मलाई सिभिल अस्पताल बानेश्वर लगे । सिभिल अस्पताल एरियामा प्रहरीहरूको हस्तक्षेप बढेपछि मेरो परिवारले मलाई सिभिल अस्पतालबाट रिफर गराई त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्ज लगी उपचार गराए । मेरो शरीरबाट हालसम्म तीन वटा रबरको गाली निकाल्न बाँकी छ । हालसम्म अस्पतालको फलोअपमा छु ।
भदौ २४ गतेको विरोध कार्यक्रममा अन्य कुनै व्यक्ति वा समूहको घूसपैठमा तोडफोड आगजनी भएको मेरो अनुमान छ । हाल विभिन्न व्यक्ति र समूहले घाइतेहरूको नाम प्रयोग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट आर्थिक सङ्कलन गरी आफूखुसी गर्ने गरेको सर्वत्र जानकारी भएको छ । सोको नियन्त्रण हुनुपर्दछ ।
कृष्ण सुनारको कागज व्यहोरा :
मिति २०८२ भदौ २३ गते जेन्जी (Gen-Z) पुस्ताले आह्वान गरेको प्रदर्शनमा गोंगबुबाट रामशाहपथ हँुदै लगभग अन्दाजी दिनको १२ः०० बजेतिर सङ्घीय संसद् भवन बानेश्वरको दक्षिण गेट अगाडि सडकमा पुगेको थिएँ । म पुग्दा आन्दोलन भड्किसकेको थियो । अन्दाजी दिनको १–२ बजेको थियो होला के कताबाट फायर भएको गोली मेरो शरीरमा लागी म ढली बेहोस भएँ । चिकित्सकले मेरो शरीरमा थप २ वटा छर्रा रहेको छ, पछि निकाल्नुपर्छ भन्नुभएको छ । सिभिल अस्पतालले नशामा असर परेको कारणले दुखेको हो भनी थप उपचारको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा रिफर गरी दिएको छ । हाल म अस्पतालको फलोअपमा छु । औषधि भने व्यक्तिगत रूपमा खरिद गर्नु परेको छ ।
भदौे २४ गतेको विरोध कार्यक्रममा अन्य कुनै व्यक्ति वा समूहले प्रदर्शन भड्काउने उद्देश्यले घूसपैठ गरी तोडफोड आगजनी कार्य गरेकोजस्तो लाग्छ । भदौ २३ गते प्रदर्शनकारीहरूमाथि गोली चलाउन आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा फिल्ड कमान्डरहरू तथा भदौ २४ गते तोडफोड आगजनीजस्ता विध्वसांत्मक कार्यमा संलग्न व्यक्तिहरूको सम्बन्धमा छानबिन गरी कानुनबमोजिम कारबाहीको लागि अनुरोध गर्दछु ।
मनोजबहादुर बोहराको कागज व्यहोरा :
भदौ २३ गते सुरक्षाकर्मी र आन्दोलनकारीहरूबिचको दूरी १०/१२ मिटर जति थियो होला । म बेहोसीमा रहेको कारण उपचार कसरी भयो थाहा भएन । आन्दोलनमा व्यापक घूसपैठ भएको जस्तो लाग्छ, जेन्जीले सिंहदरबार अदालत जलाउने जस्तो कार्य गर्दैनन् । तिनीहरूलाई पत्ता लगाई कडा कारबाही होस् ।
संजित यादवको कागज व्यहोरा :
भदौ २३ गते म बानेश्वरस्थित संसद् भवन अगाडि आन्दोलनमा सहभागी थिएँ । सो एरियामा सुरक्षाकर्मीको उपस्थिति राम्रै थियो । मलाई गोली र पानीको फोर्सको कारणले चोट लागेको छ । मेरो उपचार गर्ने कार्य ढिला भयो । भदौ २४ गतेको आन्दोलनमा घूसपैठ भएको छ । दोषी पत्ता लगाई कारबाही होस् ।
कृष्ण थापाको कागज व्यहोरा :
म भदौ २३ गते बानेश्वरस्थित संसद् भवनअगाडि र २४ गते धोबीघाट, कालिमाटी एरियामा बालेन साहको आह्वानमा आन्दोलनमा सहभागी भएको थिएँ । आन्दोलन अशान्त थियो । प्रहरीलाई सहयोग गरी बचाउन जाँदा भीडले हुत्याएर प्रहरी बिटमा करेन्ट लागेर हातमा चोट लागेको छ । भ्रष्टाचारीलाई कारबाही होस्, पीडितलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *