भर्खरै :

वर्गीय लडाइँको साहित्यिक पाटो अर्थात् ‘भञ्ज्याङनिरै’

वर्गीय लडाइँको साहित्यिक पाटो अर्थात् ‘भञ्ज्याङनिरै’

एउटा विशेष सन्दर्भ र विशेष समयमा प्रगतिवादी समालोचक तथा कवि कृष्णचन्द्र सिंह प्रधानद्वारा २००८ सालमा प्रकाशित कवितासङ्ग्रह ‘भन्ञ्ज्याङनेरै’ को प्रतिलिपि पुस्तक पढ्ने अवसर पाएँ । अध्ययनको सीमा तथा पुस्तक छनोटका सन्दर्भमा पाइएको ज्ञानका आधारमा पुस्तक प्राप्तिको क्षणलाई मैले विशेष माने र हृदयस्थ आभार प्रकट गरेँ ।
गतिशील समयभित्रका अनेकौँ आरोह र अवरोहबिच मानव जीवन चलायमान छ । यसमा भूगोल, वर्ण र धर्मको बाधा छैन । मान्छे बाँचेका छन् चाहे मरेतुल्य जीवन होस् या आलिसान जीवन भोगेर होस् । द्वन्द्व यसैमा छ, आरोह अवरोहको इतिहास यसैले कोरेको छ । शक्तिको राज संसारभर चलेकै छ । सीमित सङ्ख्याको आरोहका पछाडि असीमित आकारमा कुण्ठित जीवन भोग्नेको सङ्ख्या उँचो छ । त्यसैले त वैचारिक द्वन्द्व र भिन्न विचारका बिच लेखिने भावाव्यक्तिले विभाजनको रेखा कोर्छ ।
संरचनागत हिसाबले ‘भञ्ज्याङनेरै’ कवितासङ्ग्रह हो तर यो पुस्तक कवितासङ्ग्रहभन्दा बढ्ता काव्य शैलीका विषयमा लेखिएको विद्रोही अभिव्यक्ति पनि हो । नेपाली साहित्यमा गद्य कविताको स्थापित मान्यताका निम्ति बनेको दरिलो आलेख पनि हो ।
छन्दको बन्धनमा बाँधिएर लेखिएको काव्यलाई मात्र काव्यको दर्जा दिइने परिवेशमा विद्रोही चेत बोकेर अघि बढ्ने क्रान्तिकारी गद्य कविका रूपमा कवि प्रधान देखिएका छन् । सामन्तवादी चिन्तनका विपरीत प्रगतिवादी चिन्तन, विश्व साहित्यमा प्रचलित दार्शनिक तथा लेखकहरूका वैचारिक पक्षमाथिको खण्डन र लेखन शैलीका हिसाबले गद्य काव्यको शक्तिलाई केलाउने काम यसमा गरिएको छ । साहित्य के हो ?, साहित्य सिर्जना किन गरिन्छ ?, साहित्यको सार्थकता केमा छ र शैली पक्षका दृष्टिले छायावादी तथा सौन्दर्यवादी साहित्त्न्दा प्रगतिवादी साहित्यको महत्ता पुस्तकको भूमिकामा उद्धृत छ । यसर्थ, यो भौतिकवादी जीवन दर्शनलाई अघि सारेर लेखिएको दृष्टान्तसहितको कृति हो । यस पुस्तकमा लेखक आफैँ प्रकाशक हुन् । पुस्तकको भूमिका कवि आफैँले कोरेका छन् जुन प्रगतिवादी नेपाली साहित्यिक आन्दोलनका निम्ति तार्किक दस्ताबेज गनिएको छ । कृष्णचन्द्र सिंह प्रधान प्रगतिवादी नेपाली साहित्यका एक अगुवा हुन् जसले वर्गीय चेतनालाई अघि सारेर कथित सामन्त तथा शोषकवर्गबाट कुञ्जाइएका गरिब, निमुखावर्गका निम्ति वकालत गर्दै सिद्घान्त र विचारको शब्दवाणद्वारा चेतनाको लडाइँ लडे । गद्य कविताको सन्दर्भमा उनले भूमिकामा लेखेका छन्, “आधुनिक विकास क्षेत्रमा गद्य काव्य एउटा साहित्यिक प्रगति हो ।……….यो पुरानाका लागि विद्रोही, परम्परावादीहरूको निम्ति ध्वंसक र हाउगुजी भइरहेछ । छन्दप्रेमीले कुच्याउन खोज्छ, पद्यभक्तले गमक्र्याउन र भक्तपन्थीले नटेर्न । फेरि पनि यो सबैको कौतुक भई आँखा अगाडि परिरहेछ । यो बढिरहेछ, यसरी नै फैलिरहेछ । यसको प्रति आलोचकहरूको रुष्टता र कोप–दृष्टि मानो त्यसको जयको आशीष हो ।” (पृ.२)
साहित्य र समाज व्यवस्थाका सन्दर्भमा उनी लेख्छन्, “सामन्ती र पुँजीवादी समाज व्यवस्थामा यसैलाई सुहाउँदो साहित्य क्षेत्रमा छायावाद त्यसको अभिव्यक्ति बन्यो । जसै पुँजीवादी समाजमा असङ्गति र वर्गसङ्घर्षले तीव्र रूप धारण ग¥यो र समाजवादको स्थापना भयो । साहित्य –जगतमा पनि यही अनुकूलको प्रगतिवादले ठाउँ लियो । राजनीतिमा समाजवाद र साहित्यमा प्रगतिवाद एउटै अर्थ र उद्देश्य प्राप्तिका दुई भिन्न वस्तु हुन् ।………. साहित्य स्वतन्त्र वस्तु नभई जीवन र समाज अनुगामी भएकोले यसको मूल्याङ्कन वा व्याख्या स्वतन्त्र र निरपेक्ष रूपले हुन सक्तैन ।………… साहित्यको स्वतन्त्र सत्ता छैन । यो यस कारणले हो, किनभने मन वा विचार–तत्व मूल–वस्तु होइन । यो एउटा मस्तिष्कको क्रियात्मक उपज हो, पदार्थ–सत्यको उपज । वस्तु मूल हो । यसैबाट संवेदना, कल्पना र मनको उद्गम हुन्छ । अनि मन (चित्त) गौण हो, यसैबाट उत्पन्न । किनभने वस्तु–सत्ताकै गति रूप प्रतिबिम्ब हो यो । वस्तुको विकसित रूप मस्तिष्क हो जसबाट विचार–क्रिया सम्पन्न र सञ्चालित हुन्छ ।………….जुन समाजको ऊ प्राणी हो, जस्तो परिस्थितिमा ऊ बस्दछ, जहाँको समाज र परिस्थितिले उसलाई प्रभावित पारेको हुन्छ वा जेसँग सम्बन्ध छ त्यसको प्रभाव देखिने रूपले होस् वा नदेखिने रूपले† चाहेर होस् बा नचाहेर अभिव्यक्ति (साहित्य) मा परिहाल्छ । साहित्यकार प्रभावित भइहाल्छ । तर, यसको मतलब यो होइन कि मानिसको चेतनाद्वारा सत्ता (जीवन) निरुपित नहुने हुनाले सामाजिक विचार, सिद्घान्त, मत, संस्थाको प्रभाव भौतिक परिस्थितिमा पर्दैन । सामाजिक सत्ता र जीवन विकासमा यसको हात छैन । वास्तवमा दुवैको यो अन्योन्याश्रय अनुबन्ध नै परिवर्तनशील र प्रभावकारी हुन्छ ।” (पृ.३–५)
साहित्यलाई आदर्शवादी र भौतिकवादी खेमामा राखेर उनी लेख्छन्† प्रगतिवाद भौतिक जीवनको यथार्थ दर्शन हो । अतः परिस्थितिविहीन समाज र जीवनको लागि कला र साहित्य प्रगतिवादी होइन । यो उसको सिद्घान्तमा प्रतिगामी ठहरिन्छ । प्रगतिवादको मतमा समाज सम्पूर्ण वस्तुको केन्द्र भइकन साहित्य परिधि मात्र बन्दछ जसको विस्तार र वृद्धि केन्द्रस्थको इसारामा चलिरहन्छ…………. छायावादी दर्शनमा जीवन निराशाको तहमा दोब्रिरहेको पाइन्छ । उसको समाज प्रगतिगामी नभई स्थिरतावादको विचलित रेखामा मस्किरहेको हुन्छ । निरपेक्षप्रतिको त्यसको आसक्ति, आत्मीयता र सङ्गति यथार्थप्रति जडताको व्यवहार सिद्घ भो जसको उदासिनतामा समाज र जीवनको गति झाङ्गिएर उक्लन सकेन ।………. कुनै पनि ‘वाद’ वा विचार तहिलेसम्म नै बाँचिरहन सक्छ जहिलेसम्म त्यसमा समाजका अग्रगमनशील विचारहरूको ग्रहण–शक्ति वा स्वीकृति हुन्छ ।” (पृ.९)
विश्व साहित्य जगत्मा छुट्टै पहिचान कायम गर्दै आएका कवि टी.एस इलियट तथा मनोविज्ञ सिड्मन्ड फ्रायड आदिका भनाइहरूलाई खण्डन गर्दै उनले लेखेका छन्† टी. एस. इलियट, एजरा पाउन्ड, बोदलेयर, सात्र्रका रचनामा प्रतिबिम्बित सामाजिकता वा जीवन साहित्यकारहरूको जीवनको अर्थ होइन जसले इङगल्यान्ड, फ्रान्सका पतनोन्मुख क्याथोलिक पुँजीवादीहरूको जीवनादर्श मृत्यु, निराशा, पलायन तथा उनीहरूकै इच्छा आकाङ्क्षालाई व्यक्त गरे ।
इलियटको मतमा कविता के हो ?
कविता अनुभूतिहरूको मुक्त अभिव्यक्ति होइन, त्यो त अनुभूतिहरूबाट एक प्रकारको पलायन हो । कविता कविको व्यक्तित्वको अभिव्यक्ति होइन, त्यो त व्यक्तित्वबाट पलायन हो ।
फ्रायडको – “साहित्य अवचेतन मनको रंगस्थली हो अथवा सबै कला यथार्थबाट बच्ने कवच हो” भन्ने पलायनवृत्ति मतकै यिनीहरू अनुयायी हुन् । यस्ता भगुवा साहित्य र साहित्यकारहरूबाट आजको समाज कहिल्यै हुर्कन्न, फक्रन्न† स्वस्थ, सुन्दर र समान बन्न सक्तैन ।………….जुन साहित्य र साहित्यकार जति समाजका अग्रविचार र अग्रवर्गसँग साइनो जोडी स्वयं नै त्यसको एउटा अभिन्न अङ्ग र परिवार बन्दछ त्यो नै जिउँदो, सशक्त र स्थायी हुन्छ, अमर र टकशाली हुन्छ । अग्रविचार वा अग्रवर्ग खास गरी समाजका निम्नवर्ग, दलितवर्ग अर्थात् खेताला परिश्रमजीवी र मजदुरहरूमध्येका नै हुन्छन् । अतः यसको सपक्षी विचार, साहित्य, अर्थ, व्यवहार व्यवस्था एवं सिद्घान्त नै समाजको जिउँदो र सच्चा अगुवा कहलिन्छ, अग्रविचार र अग्रवर्ग कहलिन्छ । (पृ.१२–१३)
वैचारिक दृष्टिले साहित्यकारहरूलाई तीन वर्गमा उभ्याएर उनी लेख्छन्, “साहित्यकारहरूको अगाडि पनि दुई बाटो स्पष्टतया बन्न आयो । एउटा यही प्रगतिशीलवर्ग वा अग्रगामी विचार पक्ष र अर्को यसको विरुद्घ शोषक वा शासकको अनुकूल प्रतिगामी वा प्रतिक्रियावादी पक्ष । तेस्रो पनि बाटो छ – त्यो होे तटस्थता । ………………. जहाँ यो वर्गसङ्घर्षमा भावी परिवर्तनको सुनिश्चित परिणाम जाहे रछ – तटस्थ रहन सकिन्न । यस स्थितिमा यदि कोही व्यक्ति, साहित्यकार तटस्थताको डिङ हाँक्छ भने यो त्यसको कमजोरी हो, त्यसको सामन्तवादी पुँजीवादी अथवा प्रतिक्रियावादी कुलीन नकाब–घुम्टो हो, ढोङ हो ।” (पृ.१५)
गद्य कविताका आलोचकहरूलाई प्रत्युत्तरका रूपमा उनी लेख्छन्, “छन्द पहिले बन्धन हो, अनि नियम । त्यसैले म छन्दलाई एउटा दृढ पद्घति मात्र भन्दछु । कविता कुनै पद्घति होइन । यो एउटा विचार हो । समाज सापेक्ष परिस्थिति सङ्गत, समय अनुरूप बदलिरहने विचार ।…………….कुनै पनि पद्घति वा नियमको सामाजिक राप यस्तै हुन्छ । अतः छन्द वा छन्द–शासित पद्य एउटा पद्घति हो, यसको अस्तित्व र आवश्यकता, महत्व र स्थिरता यही अनुरूप माने राख्दछ । त्यसैले यसको (छन्दको) उपयोगिता र विशालता पुँजीवादको आगमनमै, छायावाद कालमै समाप्त भई यो एउटा अस्वाभाविक र प्रतिक्रियावादी शक्ति भइकन मृतप्रायः भइसक्यो । …………….मेरो रायमा गद्य कविता सर्वथा गद्य भाषा र गद्य कथन होइन अर्थात् केवल कविभाषाको गद्य अभिव्यक्ति व्यापार गद्य कविता होइन । गण, मात्रा र वर्ण–नियमहरूबाट सर्वथा विमुक्त र अतुकान्त भइकन पनि त्यो प्रवाहयुक्त र वाचन–कालको ध्वनि–सौन्दर्य आकारिएको शब्द विन्यासको वैज्ञानिक तालयुक्त तारतम्य हुनुपर्छ ।” (पृ.२५–३२)
अब लागौँ ‘भञ्ज्याङनिरै’ भित्रका कविताहरूतर्फ । यसका जम्मै कविता गद्य शैलीका छन् । जम्मा ४३ वटा कविता समयक्रम र शैली पक्षका दृष्टिले ‘हिजो’ र ‘आज’ गरी दुई खण्डमा वर्गीकरण गरिएका छन् । प्रजातान्त्रिक आन्दोलनपूर्व अर्थात् राणाकालीन शासन व्यवस्थाताका लेखिएका कविताहरू हिजोको खण्डमा रहेका छन् भने २००७ सालमा लेखिएका कविताहरू ‘आज’ को खण्डमा समेटिएका छन् । वर्गीय चेतनाले सिँचिएका सम्पूर्ण कवितामा सामन्ती चिन्तनप्रति कटाक्ष तथा विद्रोही र शासितवर्गमाथि सङ्घर्षका निम्ति आह्वान र अदम्य भाव अभिव्यक्त भएका छन् । शैली तथा अभिव्यञ्जनाका दृष्टिले ‘हिजो’ का खण्डमा लेखिएका कविताहरूमा रूपगत भेद पाइन्छन्, जसलाई सर्जक आफैँले छायावादी साहित्यको नजिक रहेको स्वीकारेका छन् । यस सन्दर्भमा उनी लेख्छन्, “‘भञ्ज्याङनिरै’ मा २००३ का एकाध कवितादेखि लिएर २००७ सम्मका सङ्कलित छन् । यी सङ्कलित गद्यकविताका दुई खण्ड दुई धाराका अनुभव होलान् । भाव र अभिव्यक्ति–विषमताको साथै शैली र रूप भेदको असाम्यता पनि पाइएला । ‘भञ्ज्याङनिरै’ को खण्ड ‘हिजो’ का रचनाहरू खास गरी छायावादको अति वर आउँदछ । यसले यसो हुनु परेको कारण मुख्य राणाशाही व्यवस्था र सामन्ती परिस्थिति हो जसबाट लेखकहरूको, जनताको नागरिक अधिकार पनि खोसिएको थियो । यद्यपि, ‘हिजो’ का कविताहरूको मूल भाव मानवतावादको आदर्श र आद्र्र भूमिमा ओर्लेरै स्थितिको चित्रण र अनिच्छात्मक विचार, आकाङ्क्षाको प्रकाशन गर्न पुगेको छ तर व्यक्तिवादी ऐकान्त्कितामा जसमा लाचारी पनि लुक्न पुगेको छ ।– निराशा र पलायन त होइन ।…………यसको विपरीत ‘आज’ को खण्ड आर्थिक, राजनैतिक परिस्थितिको प्रक्रिया भई वा यथार्थ जीवन क्रियाकलापको अभिव्यक्ति बन्यो । यथार्थता त्यसको जीवन र प्राण भई वर्तमान सङ्कट, समस्या, युद्घ जनआकाङ्क्षा र जागृति त्यसको विषयवस्तु र क्षेत्र हुन आयो ।” (पृ.३३,३४,३५)
यसर्थ, कवि प्रधानले पाठक वर्गलाई छायावादी साहित्य र प्रगतिवादी शैलीको भेद दर्शाइ पाठकीय चिन्तनलाई फैलाउन खोजेका छन् भन्दा अत्तियुक्ति नहोला । कविभित्र आशा र अग्रगमनप्रतिको निश्चिन्तता छ । जहाँ लोभलालच र दमनभन्दा सत्यप्रतिको वकालतसँगै दमन र शोषणमाथिको आक्रोश छ । नेपाली राजनैतिक परिवेशमा २००७ साल पूर्व राणाशासनको जगजगा थियो । जनता राणा शासनको क्रुरतामा बाँच्न बाध्य थिए भने कवि प्रजातन्त्रको प्राप्ति मात्रलाई पनि पूर्णता मान्न तयार छैनन् कारण उनीभित्रको चेतनाले चिताएको वर्गविहीन समाज त्यसमा अटाउन सक्दैनथ्यो । यसै सन्दर्भमा उनले लेखेका छन् :
रजनीको कालो– नीरवतामय घुम्टो च्यातेर
कुखुरा बास्यो,
मानिस भन्दछन् – उज्यालो भो ! उज्यालो भो !
तर, मेरो कोठा, घर भने अझै अँध्यारो छ ,
ए कुखुरा ! अब तैँले नै छुट्याइ दे–
लौ, म के भनूँ–
उज्यालो कि अँध्यारो ? (पृ.१)
‘हिजो’ खण्डमा संरचित प्रायः कविताहरू अन्धकार वा रातको बिम्बमा बिम्बित छन् । कवि आफू भित्रभित्रै गुम्सिएको, अन्योलको छटपटिले पिरोलिएको आभाष हुन्छ । त्यसैले, उनी आफू आफैसित प्रश्नोत्तर गरिरहेका छन् र अनिश्चितताको भाव व्यक्त गरिरहेका छन् । कहिले आफ्नै जन्मप्रति र आफ्नी आमामाथि गुनासो गर्दै लेखेका छन् :
अँध्यारो नास्नलाई मात्र बालिने बत्तीझैँ
आमा !
मलाई यस भूतलमा ल्याउनको लागि
तिमी आएको ?–
यति चाँडै फर्कनुपर्ने आमाले
मलाई यहाँ ल्याएको–
म कहिल्यै–कहिल्यै बिर्सन्नँ ! (पृ.२०)
कहिले आफैँमाथि धिक्कार्दै व्यङ्ग्तवमा आक्रोश पोख्दै लेख्छन् :
आमा, तिमी फर्क !
तिमीले कसलाई लिन गएको हो –
त्यसलाई लिई आऊ !
बरु मजस्ता लाछीलाई यहाँ कहिल्यै नल्याए !
खोलाजस्तो रून्चेलाई बिर्सिकन पनि नजन्माए ! (पृ.२२)
‘हिजो’ खण्डका कविताहरू पढ्दै गर्दा पाठक मन धेरैपटक अल्मलिएको छ । काव्यभित्रको ऐतिहासिक पृष्ठभूमिको अज्ञानताले हो या कविको वैयक्तिक जीवनको पहिचानमा कमीले गर्दा हो धेरैपटक दोहोरिएको ‘आमा’ बिम्बमाथि सही मियो लगाउन कसरत गर्नै प¥यो ।
‘एउटा देवलको फलैँचामा’ कविताले भने चिन्तनमुक्त दृश्यात्मक कविभाव सहजै दिएझैँ लाग्छ । भुइँमान्छेका पीडा, बाध्यतालाई सरल ढङ्गमा देखाउन कवि सफल भएका छन् :
म आफै सोच्न थालेँ –
यिनीहरू किन बसिरहेका होलान् ?
चराचुरङ्गीहरू गुँडमा बास बस्न गइसके ।
मानिसहरू घर–घरमा फर्किसके ।
ताराहरूले शून्यको विगुल बजाउन थाले ।
तर, तिनीहरू त्यहीँ छन् –
…………………………..
तिनीहरू छिनभर टोल्हाए, फेरि एकमुख भई भने –
“भोलि नून थाप्नलाई !” (पृ.३०)
निस्सार जीवनको संज्ञा दिँदै २००४ सालको तत्कालीन जीवनमाथि सुन्दर शब्दमा तीखो छेद हानिएको ‘तिमीजस्ती कोही’ कविताले पनि छुट्टै भावावेग पोखेझैँ लाग्छ :
तिमीजस्ती कोही सुन्दरीलाई पाइकन
मानिस आफूलाई धन्य र सम्पन्न सम्झन्छन्,
तर, प्रिय ! तिमीलाई पाइकन आज म झन्
आफूलाई झुत्रिरहेको, लत्रिरहेको
गरीब देखिरहेछु
जसले कसैलाई केही दिन नसकेर
रोइरहेको बा
कसैसँग केही चीज पाउने आशाले
हात पसारी प्रार्थना गरिरहेको हुन्छ । (पृ.४४)
जीवन हार र जीतको खेल हो भन्ने कुरा स्वीकार्दै हारेर पनि फेरि उठ्न हौस्याउँदै लेखिएको आशावादी कवितामा उनी लेख्छन् :
जीवन सफलताको सोगात मात्रै सम्झेको,
सृष्टिको सौन्दर्य र विकासको मन्त्र मात्रै थानेको
होइन रहेछ ! –
जीवन हारको पनि माला रहेछ;
हारमाथि अझ हार हुँदै जाँदाखेरिको
प्राप्ति स्वीकार रहेछ,
……………….
……………..
प्रिय, हाम्रो भेट हुन्छ !
अनिश्चित मृत्युको सत्यताझैँ,
रात पछि आउने दिनको नित्यताझैँ
भेट हाम्रो हुन्छ
तिमी ढुक्क पर ! (पृ.४४–४६)
खण्ड ‘हिजो’ का कविताहरूमा निराशा, अनिश्चितता, बेचेनी र मानव मूल्यको आर्तनाद छ जुन कवि आफैँले स्वीकारेका छन् तर ‘आज’ खण्डभित्रका कविताहरूमा आक्रोश र उन्मुक्तिको चाहना छ । निस्सारताबाट सार खोज्ने हुटहुटी छ । यसभित्रका कविताहरूमा स्पष्टता र वर्गीय चेतना छ र उन्मुक्तिको निम्ति आह्वान छ । यसर्थ, ‘आज’ भित्रका कविताहरू क्रान्तिचेतले भरिएका छन् :
समाज, परिपाटीको वायुमण्डल
बदल–बदल हे युग–पुरुष,
समाज सेवक,मानव–महेष !
नव आचार–विचार,
विधि–विधान,
चेतना,संस्कृतिमा गुज्जित, स्थित
उन्मुक्त परिस्थिति
वर्गहीन समाज । (पृ.८२)
यसैगरी ‘अनौठो देश दुनियाँ’ शीर्षकमा उनी लेख्छन् :
सिन्को नउठाई कसैले पाउनु दूध–भात रोटी
ढिडो नजुर्नु धेरैलाई मरी–मरी जोतिँदा पनि
एक शोषक, हजार शोषित
हजार नोकर, एक मालिक
एक मृत्यु कालगतिले
भोक, चिन्ता आत्महत्या उपचारबिना रोगले
मरिरहेछन् बाँकी अरू सबका सब अकालले !
जिउँदै अव्यवस्थाले,
अन्न–वस्त्र, दाल–भात कर्मकाण्ड समस्याले (पृ.८४)
साम्राज्यवादी शक्तिका कारण विश्वका निहत्था जनताले भोग्नुपरेको पीडालाई केन्द्रमा राखी टाढा अति टाढा शीर्षकमा कवि लेख्छन् :
टाढा, अति टाढा–
सुदूर पूर्व त्यो कोरिया !
पराधीन कोरिया !
जसले स्वाधीनता सङ्ग्रामको लगायो नारा
अति बुलन्द !
अति प्रचण्ड !
तर, आज बनाइदियो त्यसलाई
युद्घकामी पुँजीवादी फासिस्टहरूले
भयङ्कर जन संहारी रूप !!
………………………….
यस्तै छ गति
मलाया, हिन्दचीन
फिलिपाइन, मोरक्को भियतनाम
……………………………..
यो सल्क्यो
पसारो बनिसक्यो
नागबेलिँदै, किलिङ्गिँदै लहरिँदै
घर, छाप्रो पाटी–पौवा
देश–विदेश
साहित्य–मन्दिर
नगर–नगर हुनहुन्ती
युद्घकामीहरूको निम्ति
भइरहेछ यही आज हाउगुजी ।
……………………
हजारौँ हिटलरका सपुत,
पचासौँ च्याङ दाइ;
रचून् भयङ्कर विषालु
विध्वंसक वम
त्यसको जयमै घोषित भइसक्यो
शतशत पराजयको तुमुल वज् ! (पृ.८५–८९)
तसर्थ, २००८ सालमा प्रकाशित साहित्यिक आलेख, जसले युगलाई कोरेको छ । साहित्यिक वाङ्मयमा चेतना र शिल्पको दरिलो किल्लो गाड्न सफल यस पुस्तकले प्रगतिवादी नेपाली साहित्यको क्षेत्रमा विशेष महत्व राख्दछ । पुस्तकभित्र काव्यशिल्पका साथै सिद्घान्तर वैचारिक बहसको उत्थान भएको छ । कवि चिनेर कविता पढ्ने हो या कविता पढेर कवि चिन्ने हो भन्ने विषयमा अल्मलिने पाठकका निम्ति पनि यो पुस्तक उपयोगी साध्य बन्न सक्छ ।
साहित्य समाजको लागि हो । साहित्यले समाजलाई चिनाउने मात्र नभएर सही गतिमा दोहो¥याउन मद्दत गर्दछ भन्ने भाव कृतिको भूमिका खण्डमा कविले स्पष्ट पारेका छन् ।
तसर्थ, चिन्तनयुक्त अध्ययन र प्रगतिवादी समाजको निर्माणको हेतु बोकेर हिँडेका सर्जक तथा पाठकका निम्ति यो सही गोरेटो साबित हुन्छ ।
कविताहरूलाई खण्ड खण्डमा विभाजन गर्नु र शीर्षक भञ्ज्याङनिरै राख्नुमा विशिष्ट अर्थ लुकेको छ । भञ्ज्याङ जसले पहाडका दुई चुलीका माझको होचो ठाउँलाई जनाउँछ । यहाँ ‘हिजो’ ले विगतलाई सङ्केत गरेको छ भने आगत अर्थात् वर्तमान र भविष्यलाई ‘आज’ खण्डले जनाएको छ जसले अझ बढी उचाइ र चुचुराको आरोहणको सङ्केत गर्दछ । यसर्थ, भविष्यको सुन्दरतम चाहना र अदम्य भाव बोकेर कवि भञ्ज्याङनिर उभिएका छन् र कविताका शब्दहरूमा सुनौलो भविष्यको उदयका निम्ति रजनीको अन्धकार चिरिने सङ्केत गरेका छन् । कवि तथा समालोचक कृष्णचन्द्र सिंह प्रधानप्रति श्रद्घासुमन ।


(कृष्णचन्द्रसिंह प्रधान नेपाली साहित्यका प्राज्ञ, समालोचक हुन् । उनको जन्म नुंछेँगल्ली, काठमाडौँमा वि.सं. १९८२ साल साउन ११ गते नागपञ्चमीका दिन भएको हो । वि.सं. २००८ सालमा भन्ज्याङनिर कवितासङ्ग्रह छपाएर देखापर्ने उनले पछिल्ला दिन आफूलाई निबन्ध र समालोचनामा केन्द्रित गरे । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ, लामो समय साझा प्रकाशनको महाप्रबन्धक रहेका प्रधानका कवि व्यथित र काव्य साधना वि.सं. २०१५ सालमा प्रकाशित कृति थियो । त्यसपछि वि.सं. २०२६ सालमा उनको सालिक निबन्धसङ्ग्रह प्रकाशित भयो भने वि.सं. २०३६ सालमा नेपाली उपन्यास र उपन्यासकार नामक समालोचनात्मक ग्रन्थ प्रकाशित भयो । २०४० सालमा प्रधानको अर्को समीक्षात्मक कृति सिर्जनाको सेरोफेरो प्रकाशित भएको थियो । अनाम सत्य प्रधानको दोस्रो निबन्धसङ्ग्रह हो र यो वि.सं. ०४४ सालमा प्रकाशित भयो । वि.सं. २०४७ सालमा पाइलाः आगतमा टेकेर उनको अर्को निबन्धसङ्ग्रह प्रकाशित भयो । साथै उनका पछिल्ला निबन्धसङ्ग्रह वाग्मतीको हरक (वि.सं. २०५७), नफर्कने ती दिनहरू (वि.सं. २०५९), जीन्दगी टिपोटहरू (वि.सं. २०६३) र समय सुनामी (वि.सं. २०६३) हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *