कम्युनिस्ट पार्टीको मूल उद्देश्य श्रमजीवीवर्ग या बहुमत जनताको हितमा आमूल परिवर्तन गर्नु हो । देशका सबै कम्युनिस्ट पार्टीहरूले आमूल परिवर्तनको निम्ति वातावरण तयार गर्नुपर्ने हो; जनतालाई सचेत र सङ्गठित गरेर क्रान्तिको निम्ति तयार गर्नुपर्ने हो । तर, ठुला दल भनिने कम्युनिस्ट पार्टीहरु क्रान्ति गर्न होइन सरकारको नेतृत्व गर्न जसरी भए पनि निर्वाचनमा जित्ने दाउ खेल्छन् । परिवर्तनको निम्ति होइन सरकारमा जानको निम्ति गरिएको राजनीति नै कम्युनिस्ट पार्टी भन्ने दलको कमजोरी हो । सरकारको नेतृत्व गर्न या आफू नै प्रधानमन्त्री बन्नको निम्ति पार्टी जुटाउने र फुटाउने खेल प्रजातन्त्रवादी दल नेकामा मात्र होइन कम्युनिस्ट भनिने दल एमाले र पहिलेको माओवादीमा पनि देखिएकै हो । पार्टी स्थापनाकालदेखि ती दलका नेता तथा कार्यकर्ताहरू सत्ताको लुछाचुँडीमा नगइकन देशमा समाजवादी क्रान्तिको निम्ति लागेका भए कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन निकै अघि बढेको हुन्थ्यो र कम्युनिस्ट पार्टीको जग बलियो हुन्थ्यो । जसरी भए पनि पुँजीवादी सरकारको नेतृत्व गरी जनतामाथि रजाइँ गर्ने कम्युनिस्ट पार्टी भन्ने दलको कमजोरी या गलत राजनीतिकै कारण आज ठुला भनिने एमाले र नेकपाको हालत दयनीय अवस्थामा पुगेको हो ।
पटक–पटक शासन गरेर पनि जनताको विश्वास जित्न नसकेपछि, अझ देशविरोधी र जनविरोधी काम गर्न अग्रसर भएपछि जनताले अर्को शक्ति खोज्नु अन्यथा होइन । तर, विकल्पको रूपमा देखिएको अर्को शक्ति विगतको सत्तारुढ दल या सरकारभन्दा फरक छैन या अझ खतरा छ भने देशका कम्युनिस्ट भनिने दल र व्यापक जनता सचेत हुनैपर्छ । विगतको सरकारले देश र जनताको पक्षमा केही गरेन भनेर बनेको नयाँ सरकारले पनि पुरानो सरकारकै नीति र निर्णय लागू गर्छ; अझ देशमा सङ्कट निम्त्याउने, देशको स्वाधीनता र सार्वभौमिकतामाथि दूरगामी असर पु¥याउने या आँच पु¥याउने काम गर्छ भने देशभक्त, प्रगतिशील र परिवर्तनकामी जनताले त्यसको विरोध गर्नुपर्छ ।
कुनै पनि दलको एकता कुनै एउटा मञ्चमा गर्जेर, घाँटी सुकाएर बोल्दैमा हुने होइन । कुनै शक्तिविरुद्ध लड्न अहिल्यै न सहकार्य हुन्छ† न वामपन्थी एकता हुन्छ न त दिमाग तताएर भाषण गर्दैमा अहिले नै एकता हुन्छ । सहकार्य र वामपन्थी एकता केको निम्ति, किन हुने भन्ने सन्दर्भका विषयबारे छलफल नै नगरी आजै कार्य थालनी गरौँ भनेर कसरी पूरा हुन्छ ? लामो समयदेखि भेट नभएका नेताहरू एकदिन, एक समय, एउटै मञ्चमा उभेर, सबैले आ–आफ्ना मनका कुरा फुकेर कसरी सहकार्य र एकता हुन्छ ? वास्तवमा देशका कति नेताहरू आवेगमा, भावनामा बोलेर नेता, कार्यकर्ता तताउने कार्यले नै देशको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन पछि परेको हो ।
‘कुण्ड कुण्ड पानी मुन्द मुन्द बुद्धि’ भनेझैँ चार शीर्ष नेताको चार थरी मत छ । प्रतिक्रियावादी, साम्राज्यवादी र फासीवादीविरुद्ध तत्काल सहकार्य गर्नुपर्ने, आ–आफ्नो कमजोरीबारे आत्ममन्थन र समीक्षा गरेर एकताको दिशामा जाने, कम्युनिस्ट आन्दोलन एकताबद्व गर्नुअघि समीक्षा गर्ने र समाजवादी क्रान्तिको आधार तयार गर्ने कुरा सरसरती हेर्दा कसैले गलत भन्दैन । अहिले कुनै शक्तिविरुद्ध लड्नुभन्दा पनि देशका सबै कम्युनिस्ट पार्टीले सच्चा कम्युनिस्ट भएर राजनीति गर्नु जरुरी छ । सिद्धान्त र विचार नमिलिकन कम्युनिस्ट पार्टीको उद्देश्य पूरा गर्नुभन्दा सत्तामुखी राजनीति गरेर दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न राजनीति गर्छ भने त्यो दलको एकता जनपक्षीय र सान्दर्भिक हुनेछैन । देशमा कति दलबिच एकता भएकै हो† एक भएर निर्वाचन लडेर जितेकै हो; तर त्यो टिकेन । पुष्पकमल दाहालको नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी निर्वाचनको बेला २६ वटा दल मिलेर एकता भएकै हो । दल एकता हुँदा देशकै ठुलो दल बनाएर सरकारको नेतृत्व गर्ने बखान नेताहरूले गरेकै हुन् । तर, निर्वाचनमा नतिजा नसोचेझैँ भयो । कम्युनिस्ट भनिने ती शीर्ष नेताहरूको मन्तव्यको सारमा अझै सत्ताको गन्ध छ । निर्वाचनमा मिलेर लडेको भए धेरै सीट गुम्दैनथ्यो; आफ्नै दलको नेतृत्वमा सरकार चलाउन पाउँथ्यो या बालेन तानासाही चल्ने थिएन भन्ने उनीहरूको भनाइ हो । कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन आमूल परिवर्तनको निम्ति हुनुपर्छ । साँच्चै समाजवादी क्रान्ति गर्ने लक्ष्यअनुरूप कम्युनिस्ट पार्टी अघि बढ्नुपर्छ । हरेक कम्युनिस्ट पार्टीले शत्रु र मित्र चिनेर वर्गीय राजनीति गर्नुपर्छ । हरेक आन्दोलन जनतासित सम्बन्धित हुनुपर्छ । हरेक कम्युनिस्ट र देशभक्त पार्टीले देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पु¥याउने कामको विरोध गर्नुपर्छ । देश जोगाउने र बनाउने अभियानमा पार्टी जुट्नुपर्छ ।
Leave a Reply