भर्खरै :

हेनरी केसिङ्गरः इतिहासमा लेखिएको नाम

-फाङ आइछिङ
हेनरी केसिङ्गर संरा अमेरिकाका विदेश सचिव बने यता चालिस वर्षभन्दा बढी समय बितिसकेको छ । तर अझै पनि उनको विचारले अर्थ राख्दछ । चीन र संरा अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको सन्दर्भमा केसिङ्गरका सल्लाह र योगदानलाई अझै चिनियाँ नेताहरुले सम्मानका साथ लिने गरेका छन् । सन् १९७० को दशकदेखि चीन र संरा अमेरिकाबीचको सम्बन्धका प्रमुख व्यक्तित्व उनै हुन् । गएको मे २७ को दिन उनी ९५ वर्षका भए । सोही अवसर पारेर बेलायती इतिहासकार नायल फर्गुसनले अंग्रेजी भाषामा दुई खण्डमा लेखेको पुस्तक ‘केसिङ्गरः१९२३–१९६८ एक जना आदर्शवादी’ को पहिलो खण्डको चिनियाँ अनुवाद सार्वजनिक भयो । संरा अमेरिकामा अंग्रेजी संस्करण प्रकाशित भएको तीन वर्षपश्चात उक्त पुस्तकको चिनियाँ भाषामा अनुवाद सार्वजनिक भएको हो ।
पुस्तकमा लेखक फर्गुसनले ‘शक्ति केन्द्रबीच हुर्केको दुर्लभ बौद्धिक व्यक्तित्व’ को रुपमा केसिङ्गरको जीवनी लेखेका छन् । फर्गुसनको भनाईमा तात्कालीन संरा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले केसिङ्गरलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुअघिको उनको बौद्धिकताबारे पुग्दो अध्ययन हुन सकेको छैन । जीवनीमा लेखकले त्यसैबारे अध्ययन गर्ने प्रयास गरेका छन् ।
सन् २०१६ मा केसिङ्गरको जीवनीपरक कृति ‘द अर्थर रोस बुक अवार्ड’बाट सम्मानित भयो । संरा अमेरिकी विदेश सम्बन्ध परिषद्ले अन्तर्राष्ट्रिय सम्बन्ध वा विदेश नीतिको व्याख्यामा उल्लेख्य योगदान पु¥याउने गैरआख्यानलाई सो सम्मान दिने गर्दै आएको छ ।
सन् २०१५ मा न्यु योर्क टाइम्समा प्रकाशित उक्त पुस्तकको समीक्षामा भनिएको छ, ‘कसिङ्गरका आधिकारिक जीवनी लेखकलाई आफ्नो विषयको स्वाभाविक आर्कर्षणप्रति आशक्त भएको खोट नलगाउने हो भने पनि जीवनीकारले हेनरी केसिङ्गर संरा अमेरिकाको इतिहासका एक जना महान् अमेरिकी भएको प्रशस्त प्रमाण दिएका छन् । केसिङ्गरको दशकौंसम्म बद्ख्वाई गरियो र ती बद्ख्वाईको खण्डनमा यो आकारको बिस्तारित पुस्तकको प्रकाशन धेरै वर्षअघि नै हुनुपर्ने थियो ।’
फर्गुसनको विचारमा चिनियाँहरुले केसिङ्गरको शुरुको जीवनबारे बुझ्नु महत्वपूर्ण हुन्छ ।
‘आफ्नो कार्यकालमा केसिङ्गरले कति धेरै महत्वपूर्ण निर्णयहरु गरेका थिए भन्ने विषयमा म सदैव सचेत रहन्छु तर चीनमा जति उनको प्रष्ट प्रभाव अरु कतै नपरेको मेरो बुझाई छ ।’
‘उनी एकै जना त्यस्ता व्यक्ति हुन् जो चीन र संरा अमेरिकी सम्बन्धको हरेक मोडमा हाजिर छन्, शुरुका दिनदेखि आजको दिनसम्म निरन्तर ।’
५४ वर्षका फर्गुसन स्टान्फोर्ड विश्वविद्यालयअन्तर्गत हुभर प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता हुन् । उनी हवार्ड विश्वविद्यालयअन्तर्गत युरोप अध्ययन केन्द्रसँग पनि सम्बद्ध छन् । ‘द हाउस रोथस्चाइल्ड’ र ‘द एसेन्ट अफ मनीः अ फाइनान्सियल हिस्ट्री अफ द वल्र्ड’ लगायत अरु निकै सफल पुस्तकहरुको निम्ति उनी अन्तर्राष्ट्रिय रुपमा चर्चित लेखक हुन् ।
अरु लेखकहरुले लेखेका केसिङ्गरका जीवनीको कमी थिएनन् । तथापि फर्गुसनले उनको अर्को एउटा जीवनी लेख्ने चुनौतिको सामना गरे । यसको निम्ति केसिङ्गर आफैले उनलाई पटक पटक आमन्त्रण गरेका थिए ।
पन्ध्र वर्ष अघि पहिलो पटक एक जना जीवनीकारको रुपमा फर्गुसन केसिङ्गरलाई भेट्न गएका थिए । त्यसपछिका दिनहरुमा केसिङ्गरले उनलाई दिएका आफ्ना व्यक्तिगत डायरी, चिठ्ठीपत्र र पूरा नभएका पाण्डुलिपिको अध्ययन उनी चुर्लुम्म डुबे । ती दस्तावेजहरु पाउनु फर्गुसनका लागि अनपेक्षित थियो ।
केही दस्तावेजहरु त सन् १९४० दशकका थिए ।
केसिङ्गर र फर्गुसनबीच सन् २००४ मा लेखनका क्रममा लेखकको स्वतन्त्रतासम्बन्धि कानुनी सम्झौता भयो ।
फर्गुसनका अनुसार आफ्ना पाण्डुलिपिहरु पढ्न दिएपश्चात केसिङ्गरले हप्तौंसम्म लेखकसँग बोल्न पनि मानेका थिएनन् । आफूले आवश्यकताभन्दा बढी कुरा बाहिर ल्याइसकेको महसुस गरेर केसिङ्गर बोल्न मानेका थिएनन् ।
पुस्तक प्रकाशन भइसके पछि केसिङ्गरका केही सहयोगीहरुले पढिसकेर त्यसबारे उनलाई बताइसके पछि मात्र केसिङ्गरले फर्गुसनसँग बोल्न थालेका थिए ।
फर्गुसनको शब्दमा कहिलेकाहीँ केसिङ्गरजस्ता एक्ला मानिसले हामीलाई इतिहासको दिशा किन बदलिन्छ र विश्व किन रुपान्तरण हुन्छ भन्ने कुरा ठीक तरिकाबाट बुझ्न मद्दत गर्दछ ।
केसिङ्गरको जीवनी पनि एउटा मौलिक अमेरिकी कथा हो ।
केसिङ्गरको जन्म पुरातनपन्थी यहुदी परिवारमा भएको थियो । उनको परिवार शरणार्थीको रुपमा जर्मनीबाट संरा अमेरिका पुगेको थियो । दोस्रो विश्वयुद्धमा उनी अमेरिकी सिपाहींको रुपमा जर्मनीमा फर्केका थिए । त्यहाँ उनको भेट फिट्ज क्रामेरसँग भयो । उनैले केसिङ्गरलाई इतिहास र दर्शनको बाटोमा हिडाए ।
दोस्रो विश्वयुद्धपश्चात उनी सन् १९४७ मा हवार्ड विश्वविद्यालयमा पढ्न गए । त्यहाँ उनले राजनीतिशास्त्रको अध्ययन थाले । सन् १९५७ मा उनले विद्यावारिधि सकाए । उनको विद्यावारिधिको शोधको शीर्षक थियोःमेटरनिच, कासलरेग एण्ड द प्रोब्लम्स अफ पिस १८१२–१८२२ । त्यसमा एक दशकअघिको युरोपको कुटनीतिबारे अध्ययन गरिएको थियो ।
फर्गुसनको भनाईमा अमेरिकामा पछिल्ला दुई वा तीन पुस्ताका राजनीतिक नेताहरुमध्ये समकालीक विश्वबारे सबभन्दा राम्रो जानकारी राख्ने नेता हुन् केसिङ्गर र त्यसको लागि केसिङ्गरसँग भएको सबभन्दा बलियो हतियार भनेको इतिहास हो ।
आफ्नो शोधमा केसिङ्गरले ऐतिहासिक परिस्थितिको ज्ञान बिना विदेश मामलाको अध्ययनमा कुनै पनि उल्लेख्य निष्कर्ष निकाल्न नसकिने विचार लेखेका छन् । उनको लागि इतिहास उपयुक्त तुलना गर्ने स्रोत र देशले आपूmले आफैलाई चिन्नसक्ने पारिभाषिक पक्ष हो ।
सन् १९५७ मा केसिङ्गरको पुस्तक ‘न्युक्लियर वेपन्स एण्ड फोरेन पोलिसी’ प्रकाशित भयो । त्यो पुस्तकमा उनले सीमित आणविक युद्धबारे आफ्ना विचार पस्केका छन् ।
त्यो पुस्तकले उनलाई प्राज्ञिक बौद्धिकताबाट अमेरिकीहरुले भन्ने गरेको सार्वजनिक बौद्धिकतातिर तान्यो । सन् १९५८ देखि १९६८ सम्म केसिङ्गर नेल्सन रकफेलरको विदेश नीति सल्लाहकार थिए । रकफेलरले तीन पटक रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने प्रयास गरेका थिए । तर उनी सफल भएनन् ।
त्यसकारण जब रकफेलरका प्रतिद्वन्द्वी निक्सनले सन् १९६८ मा राष्ट्रिय सुरक्षा सल्लाहकार पदका लागि प्रस्ताव गर्दा केसिङ्गर चकित परेका थिए ।
केसिङ्गरको कार्यकालमा भियतनाम नै उनको महत्वपूर्ण बिन्दु बनेको थियो । भियतनाम युद्धमा अमेरिकाले जित्न नसक्ने निष्कर्षमा उनी पुगे । त्यसकारण भियतनाम युद्धको समाधान सैनिक समाधानभन्दा कुटनीतिक समाधानमार्फत् हुनुपर्ने उनको विचार थियो । केसिङ्गरको त्यही विचार संरा अमेरिकाको तात्कालीन नीति बन्यो ।
त्यही बेला उनले जीवनमा पहिलो पटक चीनको बारेमा पनि सोच्न थाले ।
सन् १९६७ को जनवरीमा केसिङ्गर र चेक कुटनीतिज्ञ एन्टोनिन स्नेजदारेकबीच भएको संवादमा एन्टोनिनले संरा अमेरिका कतै सोभियत सङ्घको विरोध गर्न चीनसँग ‘मोर्चा बनाउने’ तिर लागेको छ कि भनी सोधेको रेकर्ड छ ।
शुरुमा त केसिङ्गरको लागि यो कुरा अविश्वसनीय थियो । तथापि फर्गुसनका अनुसार समाजवादी चीनसँग संवादको ढोका खोल्ने विचारको बिजारोपण भने त्यही बेला भएको थियो । सन् १९७१ सम्ममा त्यो अविश्वसनीय कुरा सत्य बन्यो । केसिङ्गरले त्यो साल गोप्य रुपमा बेइजिङको भ्रमण गरे ।
फर्गुसनका अनुसार चीनका तात्कालीन प्रधानमन्त्री चाओ एन लाईसँग केसिङ्गरको भेट संरा अमेरिकी राष्ट्रपति निक्सनले आउने वर्ष बेइजिङको भ्रमण गर्नुपर्ने सहमतिमा टुङ्गियो । आधुनिक इतिहासमा भएका निकै महत्वपूर्ण बैठकहरुमध्ये निक्सन र माओबीचको त्यो बैठक पनि हो ।
निक्सनले सन् १९७२ मा चीनको भ्रमण गरे र त्यहाँबाट संयुक्त वक्तव्य जारी भयो । त्यो वक्तव्यलाई साङ्घाई वक्तव्य भनिन्छ । सो वक्तव्यमा भियतनाम युद्ध अन्त्य गर्ने र ताइवानलाई चीनको भागको रुपमा संरा अमेरिकाले स्वीकार्ने तथा चीनको आर्थिक रुपान्तरणमा सहयोग गर्ने सहमति भएको थियो ।
फर्गुसनका अनुसार सन् १९७१ सम्म चिनियाँ इतिहासको कुनै पृष्ठभूमि पनि नभएका केसिङ्गरले चिनियाँ नेताहरुलाई सही तरिकाबाट बुझ्ने विलक्षण क्षमता प्रदर्शन गरेका थिए ।
‘यसले उनको विदेशी संस्कृति तीब्र रुपमा गहिरोसँग बुझ्ने विश्वसनीय क्षमता देखाएको छ । अनि त्यो घटना अघि केसिङ्गरको विशेष जीवनले मात्र त्यो क्षमता उनीमा हुन सम्भव थियो ।’, ‘दिमाग पढ्न सक्ने व्यक्ति’ को रुपमा केसिङ्गरको व्याख्या गर्दै फर्गुसनले भने ।
फर्गुसन स्वंय पनि चीन–संरा अमेरिकी सम्बन्धका ज्ञाता हुन् ।
जर्मनीका अर्थशास्त्री मोरिट्ज स्कुलारिकसँग मिलर फर्गुसनले ‘चीनामेरिका’ शब्द प्रतिपादन गरेका छन् । यो शब्दले संसारका दुई ठूला अर्थतन्त्रको अन्तरनिर्भरताबारे व्याख्या गर्दछ ।
तर सन् २००८ को वित्तीय संकट र हालै र त्यत्तिबेलाको व्यापारिक द्वन्द्वका कारण ‘चीनामेरिका’ ग्रीस लोककथाको राक्षस ‘चीमेरा’ जस्तै भएको छ ।
तथापि फर्गुसन ‘चीनमेरिका’प्रति अझै सकारात्मक छन् । किनभने फेरि पनि हुन सक्ने अर्को शीतयुद्धका कारण विश्व अर्थतन्त्रले ठूलो घाटा बेहोर्नुपर्नेछ ।
उनी चीन र अमेरिकाबीच सम्बन्ध बीसौं शताब्दीको शुरुतिरको बेलायत र जर्मनीबीचको सम्बन्ध जस्तो भएको बताउँछन् । यस्तो सम्बन्धले निकटको आर्थिक सम्बन्धका साथै भूराजनीतिक खतरालाई दर्शाउँछ र केसिङ्गर सधैं हामीलाई यसबारे ध्यानाकर्षण गर्न चाहन्छन् ।
चाइना डेली मे १८ सन् २०१८
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *