भारतको कक्रोच राजनीति कुनै मजाक होइन !
- श्रावण ६, २०८३
रातहरू अत्यासलाग्दा हुन्छन् । भ्यागुताको ट्वारट्वार र घडीको एकनासे टिकटिकले चकमन्न रातमा नजानिँदो खलबल ल्याइरहन्छ । अनिँदो रातमा देखिएका सपना र बिहानको पर्खाइमा गनिएका गन्तिहरू साँच्चै अत्यासलाग्दा हुन्छन् । तर, त्यही रातलाई घोटेर कोरिएका निख्खर काला अक्षरहरू भने बेजोडका बन्दा रहेछन् । बस्, त्यसमा भाव रहनुप¥यो । भावले भरिएका र रातले कोरिएका अक्षरहरूले धेरैका दिनहरू खलबलाई दिन सक्दा रहेछन् । वैचारिक पर्वतका शृङ्खला बोकेका कवि हरिबहादुर श्रेष्ठका ‘ए, मेरा रातहरू’ यसैको एउटा सुन्दर उदाहरण हो ।
एकाध कवितालाई छोडेर समयक्रमका दृष्टिले ७० देखि ८० को दशकमा लेखिएका कविताहरू यस पुस्तकमा सङ्ग्रहित छन् । विश्वमा व्याप्त विकृति विसङ्गतिमाथि व्यङ्ग्य गर्दै कविले आफ्ना भावनाहरू पोखेका छन् । वर्गविहीन सुन्दर मानव समाज निर्माणको लामो यात्रामा रहेका कवि श्रेष्ठका प्रत्येक कविताले सतर्कता, स्थिरता र आशावादी चिन्तन बोकेका छन् । जनतालाई राजनैतिक चेतनाबाट सुसूचित गर्नु र अन्यायको विरोधमा आवाज उठाउन जागरुक बनाउनु यस कृतिको काव्यधर्म बनेको छ । समस्याहरू आइरहन्छन् तर समाधानको प्रयास गर्दै जानुपर्छ, सङ्घर्षभित्रबाट सुन्दर भविष्यको निर्माण गर्नुपर्छ, व्यक्तिगत देखिने पीडामै पनि समाजको पीडा देख्नुपर्छ । ‘ए, मेरा रातहरू’ भित्रका कविताले यस्तै भावभङ्गीमा ओढेका छन् । कृतिको शीर्ष कविता ए, मेरा रातहरूमा कविले आफ्ना बेचैनी र छटपटिहरू मात्र पोखेका छैनन् बरु अबका दिनहरूमा यस्ता बेचैनीहरू अरुले भोग्न नपरून् भन्ने आशा कोरेका छन् । आफ्नी प्रिय जीवनसखीसँगको वियोग अनि त्यसै वियोगमाथि चिढाइरहने रातलाई काव्य बिम्ब बनाएर कविले रात चिरेर उदाउने बिहानको तीव्र आशा गरेका छन् । क्रान्तिकारी कविभित्रका कोमल पदचापहरू मर्मस्पर्शी लय बनेर यस कवितामा बगेका छन् र त्यही लय अन्तमा झङ्कार बनेर तरङ्गिएको छ, जसले कविभित्रको सौन्दर्य चेत मुखरित गराउँछ :
तिमी मेरा आँखामा, चालै नदिई आउँछौ
मेरा हातबाट तिमीले, मेरा कलम थुत्छौ
बिस्तारै मलाई तिमी ओछ्यानमा पु¥याउँछौ ।
ए रात,
मेरो निद्रालाई कहाँ लुकायौ ?
मेरै मायालाई कहाँ लुकायौ ?
कुन पहाडको पछाडि लुकायौ,
कुन जङ्गलको पर्दामा लुकायौ
वा कुनै हिमालको कापमा लुकायौ ?
ए, रात
मैले मेरी मायालुलाई
छाँगा र छहरामा देखेँ
बग्दै गएको खोला–नालामा
छमछम गर्दै बगेको सुनेँ,
सायद तिनी मलाई खोज्दै थिइन् । (पृ.८७,८८)
रातसित गरेको अन्तरसंवादको शैलीमा लेखिएको यस कवितामा १० खण्ड रहेका छन् । हरेक खण्डले कविलाई जुझारु, निर्भिक तथा आशावादी बन्न हौस्याएको भान हुन्छ । पहिलो खण्ड र दोस्रो खण्डमा रातले आफूलाई चिढाएको र रातप्रति आफू रुष्ट बन्दै आफ्नी प्रिय सखीलाई लुकाएकोमा दुःख पोखेका छन् भने खण्ड तीनदेखि रातले कविलाई आशाको दियो बाल्दै आफ्नै वरपर हरेक वस्तुमा प्रियालाई देख्न सङ्केत गरेको उल्लेख गरेका छन् । यस्तैमा कवि लेख्छन् :
ए, रात
हरेक रात मेरो तकिया
कसले भिजायो ?
रातले कोठाको कुनामा
लुक्दै भन्यो –
तिम्रो मनभित्रको आँखासँग सोध,
“तिम्रो माया तिम्रो विपनामा खोज,
आशा, उत्साह र प्रयत्नमा खोज ।” (पृ.८८)
रातलाई असहजताको प्रतीक मान्ने कविले रातपछिको बिहानलाई आशाको किरण मानेका छन्, जहाँ सिङ्गो मानव जातिको हितमा उभिने समाजको कल्पना गरेका छन् । पुँजीवादी समाज व्यवस्थाले निम्त्याएका कहालीलाग्दा पीडाहरूबाट बन्ने सुन्दर समाजको आशामा कवि लेख्छन् ः
ए रात, मेरा दुःखका कारण
भोलि समाजका कालाहरू बाँकी रहनेछैन
चुसेको सम्पत्ति अनि उत्पादनका साधन
झगडा गर्ने बीउ रहनेछैन
डाह, प्रतिस्पर्धा, स्वार्थ रहनेछैन
सबै कामलाई कर्तव्य सम्झने
दाजुभाइ अनि दिदी–बहिनी हुनेछन् । (पृ.९१)
समाजवादी मुलुक जहाँ धनी र गरिबको सीमा रहँदैन, उपचारको अभावमा मानिसहरू मर्न बाध्य हुने छैनन् र विछोडको पीडामा आँसु चुहाउने मानिसहरू हुने छैनन् । त्यसै समाजलाई इङ्गित गर्दै कवि लेख्छन् :
ए रात !
तिमी नरहेजस्तै त्यो समाजमा
एक वर्गले अर्को वर्ग र राज्यलाई
दबाउने राज्य हुनेछैन,
खालि सञ्चालक जनताकै हुनेछ
समितिहरू हाकिम होइन
न त यातना दिने प्रहरी र
झ्यालखाना, पुर्पक्षका बन्दी ।
…………………………….
चौबिसै घण्टा प्रकाशमय समाजमा
तिमी पनि त रहनेछैनौ, रात !
हो रात, तिमी पनि
प्रकाश भएर जन्म लिनेछौ । (पृ.९१,९२)
राजनैतिक जीवन अझ भनुँ क्रान्तिकारी सङ्घर्षमा हिँडेका योद्घाहरूको बाटोमा गुलाबका पत्रहरू बिछ्याइएको हुँदैन । यो कवि श्रेष्ठकै भनाइ हो । त्यस्तो मार्गमा होमिएर यात्रा गर्ने यात्रीहरू कम साहसी हुँदैनन् । यसै सन्दर्भमा ‘साथीहरूलाई पर्खदा पर्खँदै’ शीर्षकमा कविले यात्रामा छुटेका साथीहरूलाई सम्झेका छन् :
पुराना साथीहरूलाई
पर्खदा पर्खँदै
आफ्नो यात्रा थालेँ !
…………………..
मैले रवीन्द्रनाथ ठाकुरलाई
सम्झेँ – मनमनै !
‘साथीहरूलाई बोलाउँदा पनि
कोही आएन भने साथी,
तिमी एक्लै जाऊ
रक्तप्लवित गोडा लिएर साथी
तिमी एक्लै जाऊ !’
………………….
म त आज पनि बिहान
साथीको बाटो हेर्छु –
अब त आउला भनी
मानिसको हृदय पग्लेला भनी । (पृ.१,३)
गरिबवर्गलाई शासकहरू पाप र धर्मको पाठ पढाएर जोतिरहेका हुन्छन् । न्यायको बदला धर्मको भजन गाउँदै सहनशील बनाउन खोज्छन् तर अबका सचेत युवाहरू प्रश्न गर्न सक्ने भए, स्वर्ग र ईश्वरलाई खोज्न जान्ने भए भन्दै कवि लेख्छन् :
छोरी विद्यालयबाट फर्किन्
र सोधिन् आमासँग –
“आमा ! बाढी आयो खोलामा
हाम्रो स्कूल पानीले भरियो
पढाइ बन्द भयो
बाढी किन आउँछ, आमा ?”
“स्वर्गबाट धेरै पानी पर्छ
पहाड र जङ्गलबाट पानी
धेरै धेरै खहरे र खोला
नदी भई बग्छ अनि
बाढी आउँछ, पुल बगाउँछ
………………….
पापीहरूलाई सजाय नदिई
हाम्रो स्कूललाई किन सजाय दियो ईश्वरले
आमा ! भन्नुस् न, आमा !! (पृ.४,६)
राष्ट्रिय हितभन्दा व्यक्तिगत हितको चङ्गुलमा फसेका शासकहरू जसले देशलाई विदेशीका सामु मगन्ते साबित गरिसके, देशका पौरखी युवाहरूलाई स्वदेशमै इलम दिनुको सट्टा वैदेशिक रोजगारीको नाममा मानव तस्करी गरेर अकुत सम्पत्ति कमाउने ती शासकहरूप्रति व्यङ्ग्य गर्दै कवि लेख्छन् ः
मित्रहरूसँग माग्दामाग्दै तिमीले
माग्ने पात्रो र झोलासमेत माग्यौ,
आफ्ना छोरा बेच्यौ, दास बजारमा
स्वास्नीमात्र होइन, छोरीसमेत बेच्यौ
आमा नै बेच्ने तिमीले
अब केको समृद्घिको नाटक गर्छौ ? (पृ.७)
उपत्यका कला, संस्कृति र परम्पराले सजिएको सहर हो, जहाँका बासिन्दाहरू सांस्कृतिक मधुमा रमेर जीवन जिउँछन् । यहाँ कवि श्रेष्ठ ‘ए, नेवार दाजु–भाइ’ शीर्षकमा परम्पराको नाउँ दिएर एकाङ्गी जीवन मात्र नबाँची कला, संस्कृति र परम्पराको परिमार्जन होस् भन्ने चाहना राख्छन् । संस्कृतिको नाउँमा रहेका कत्ति विकृति र अवगुण सच्याउँदै आफूभित्रको जोश र जाँगरलाई सही ठाउँमा लगाउन सचेत गर्छन् र लेख्छन् ः
रचनात्मक काम, कमाइ र पढाइ छोडी
हप्तौँसम्म अबीर र सिन्दुर दली
मात्तिँदै हो–हल्ला र झगडा नगरौँ
भीडको झगडा हाम्रो संस्कृति होइन ।
………………………………………
ए नेवार युवाहरू, ढुङ्गा हानौँ
भ्रष्टाचारी प्रवृत्तिलाई
……………………..
रथ तान्नेमा झगडा होइन† सिंहदरबार घेरौँ
आत्मसमर्पणको विरोधमा लाम कसौँ । (पृ.९,१०)
चुनावमा जनविश्वास जितेका जनप्रतिनिधिहरूलाई बधाई दिँदै लेखिएको ‘ए, मेरा जनप्रतिनिधिहरू’ कवितामा मेलमिलापको भाव राख्दै सहर र गाउँमा भेद नगरी काम गर्न तथा लालच र प्रलोभनको जालोमा फस्नबाट जोगिन सन्देश दिएका छन् भने विभीषणरूपी छद्मभेषीहरूबाट बच्न सतर्क गरेका छन् ः
मेरा गाउँका जनप्रतिनिधिहरू
सानैदेखिका मेरा प्रियहरू
सँगै हुर्केबढेका साथीहरू
बधाई छ, नयाँ भूमिकामा ।
नगरका मेरा प्रतिनिधिहरू
सँगै विद्यालय र कलेजमा
पढ्दाका सहपाठी र मित्रहरू
हो, नयाँ भार तिमीहरूमा छ !
………………………………
नून नखाऔँ अरुको, खाऔँ आफ्नै फल
खाऔँ अन्न पानी आफ्नै देशको
सेवा गरौँ आफ्नै जनताको
तर, ज्यू–हजुरी नगरौँ पराइको
…………………………..
वैरीजस्तै वैरीका दूत भाइलाई
सम्झाऔँ– विभीषण नबनौँ,
बन्चरोको बिँड नबनौँ
हामी एक होऔँ, हाम्रो जङ्गल जोगाऔँ
मेरा प्रिय प्रतिनिधिहरू । (पृ.१२,१३)
विश्व अहिले युद्घको चक्रमा छ । एकले अर्कोमाथि प्रहारको क्रम छ । समाचारहरूले आतङ्कवाद र शान्तिको नाममा खबरहरू दिइरहेका छन् । आतङ्कवादी नाम पाएकाहरू कतिको दोषी छन् अनि शान्तिको धुन बजाउँदै मिसाइल प्रहार गर्ने मुलुकहरू कतिको निर्दोष छन् । यी सबैको लेखाजोखा हुनुपर्छ । साम्राज्यको लालसामा लुटपुटिएकाहरूको नजर हामै्र मुलुकमाथि पनि गडेको छ । कुन दिन आफ्नै देशमाथिको ध्वंसको खबरलाई स्वीकार्नुपर्ने हो तब हामी आफैँ बम बारुद र मिसाइलको आगोमा जलिरहेका हुनेछौँ । कवि श्रेष्ठले विध्वंसका नायक पहिल्याउन सचेत गर्दै आतङ्कवाद र साम्राज्यवाद शीर्षकमा लेखेका छन् :
प्रिय, फ्रान्स, जर्मनी, इटाली
युरोपका अनेक देश र सहरमा
विस्फोट, हिंसा, मृत्युको ताण्डवबारे
प्रश्न ग¥र्यौ – बारम्बार !
……………………
प्रिय, त्यो स्वतन्त्रताको आवाज थियो
तर, कार्यशैलीमात्र आतङ्कवादी थियो
…………………………..
प्रिय, ती म्यानचेस्टरमा विस्फोट गर्ने
आतङ्कवादी नामका युवाहरूले
बयानमा भन्ने छन् –
“हाम्रा देशहरूमा बन्दुक र बमले
सयौँ वर्ष कब्जा गर्ने
र हाम्रा सम्पत्तिहरू लुट्ने,
हाम्रा सेवालाई दास भन्नेहरू
हाम्रा हजुरबुबाहरूको हत्या गर्ने
के आतङ्कवादी थिएनन् ?” (पृ.१४,१५)
आतङ्कवादको नाम दिएर विश्व साम्राज्यको सपना बुनेका नाटो देशका शासकहरूलाई दुर्दिनको सङ्केत गर्दै कवि अन्तमा लेख्छन् :
पेरिस, बोन, रोम,
लन्डन, वासिङटन
अनि नाटो देशका शासकहरूले
समयमै सोचेनन् भने
आफ्ना हिंस्रक दा¥हा
र नङ्ग्राहरू फालेनन् भने
तिनीहरूले आफ्नै कोठामा
काल खोजेको साबित हुनेछ । (पृ.१६)
हाल इजरायल र इरानमा व्याप्त युद्घलाई लिएर ‘इरानमा आतङ्कवादको छाया’ शीर्षकमा युद्घका कारकलाई इङ्गित गर्दै कवि लेख्छन् :
ट्रम्पले साउदी अरबमा
बोले– आतङ्कवादको विरोध गरौँ ।
धर्मको नाउँमा वा सम्प्रदायको नाममा
आतङ्कवाद स्वीकार्य छैन ।
……………………….
ट्रम्प इजरायल गए
मित्रताको तयारी भाषण पढे,
तर, तिनीहरूको शान्ति
र मित्रताको आँखा भने
इरानको नक्सामा थियो । (पृ.१७)
कवि श्रेष्ठको यस पुस्तकमा स्थानीयदेखि अन्तर्राष्ट्रिय विषय वा क्षेत्रसम्मका भावयुक्त कविताहरू रहेका छन् । देश विदेशमा घटेका राजनीतिक घटनाहरूको विश्लेषणसहित कविले आफ्ना भावाव्यक्ति दिएका छन् । प्रत्येक कविताभित्र समयको चेत छ र हरेक कविताले सत्यको जीत हुने आशा बोकेका छन् । समाजलाई सत्मार्गतर्फ डोहो¥याउन उठेका विचारशील कविताहरूले महत्वपूर्ण दस्ताबेजको ओजन बोकेका छन् । जम्मा ३८ वटा कविताले बाँधिएको यस पुस्तक साम्यवादी समाज निर्माणको महायात्रामा लागेका योद्घाहरूका निम्ति बलियो खुराक हो ।
काव्य शैलीका हिसाबले हेर्दा सबै कविताहरू गद्य शैलीमा लेखिएका छन् । शाब्दिक चातुर्यताभन्दा भाव पक्षमा रहेको गम्भीरताका आधारमा कृतिलाई तौलनु जायज हुन्छ । शब्द खेलाएर माधुर्यता ल्याउनमा भन्दा कवि स्पष्ट विचार सम्प्रेषणमा केन्द्रित छन् । त्यसैले, प्रत्येक कविताका गर्भमा इतिहासका खण्डहरू गाभिएका छन् । समय र परिवेशको सन्दर्भ जुराएर कविभावलाई आस्वादन गर्दा स्पष्ट काव्तव झुल्काउने गुण पुस्तकमा रहेको छ ।
आकर्षक र सटिक बिम्ब रहेको शीर्षक छनोट मुहारमा टल्किएको रातो टिलकजस्तै सुन्दर र मोहक छ । पुस्तकको आवरण कलाले कविभित्रको आशावादी चिन्तन र काव्य रसलाई सजिलै झल्काउँछ । काव्यप्रेमीहरूका निम्ति ‘आकाश बाँधिएको छैन’ कृति प्रकाशनपश्चात् लामो पर्खाइपछिको सुन्दर उपहार बनेको छ – ‘ए, मेरा रातहरू !’ सुन्दर विचार र दूरदर्शी कवि श्रेष्ठप्रति सदा प्रेम तथा आगामी काव्योपहारको आसमा निरन्तर प्रतिक्षा ।
Leave a Reply