विदेशी शक्ति राष्ट्रको सहयोग र इसारामा बनेको सरकारले देश हितको काम नगर्ने
- श्रावण ९, २०८३
भक्तपुर, ९ साउन । लिशा इङलिस सेकेन्डरी स्कूलले एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीहरूको सम्मान, बधाई तथा बिदाइ कार्यक्रमको उद्घाटन शनिबार भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गर्दै सबै विषयको समान महत्व रहेको बताउनुभयो ।
उहाँले विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसार अध्ययन गरी विशेषज्ञ बन्दै समाजमुखी र राष्ट्र विकासमा योगदान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले उच्च शिक्षा अध्ययनका लागि विदेश जानु नै सफलता नभएको उल्लेख गर्दै विदेश पुगेका धेरै विद्यार्थीले विभिन्न कठिनाइ भोग्नुपरेको उदाहरण प्रस्तुत गर्नुभयो । गलत आश्वासन र झिलिमिली विज्ञापनको पछि नलागी सोचविचार गरेर मात्र आफ्नो शैक्षिक भविष्यको निर्णय लिन विद्यार्थीलाई उहाँले सुझाव दिनुभयो ।
नगर प्रमुख प्रजापतिले अनुशासन र नैतिकतालाई जीवनको आधार बनाउनुपर्नेमा जोड दिँदै अनुशासनविहीन समाज अन्ततः अराजकतातर्फ उन्मुख हुने भएकोले असल चरित्र, नैतिक मूल्य र सामाजिक जिम्मेवारीलाई सधँैं प्राथमिकतामा राख्न विद्यार्थीलाई आग्रह गर्नुभयो । प्रमुख प्रजापतिले संसारलाई बदल्न सक्ने क्षमता भएका युवाहरू हाम्रो देशमै रहेको र सही नेतृत्वले देशलाई अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले लिशा इङलिस सेकेन्डरी स्कूल निरन्तर प्रगतिउन्मुख बन्दै गएको उल्लेख गर्दै उत्कृष्ट जीपीएसहित एसईई उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिनुभयो । उहाँले कक्षा १० उत्तीर्ण गर्नु शैक्षिक यात्राको एउटा चरण मात्र भएको बताउँदै अझै लामो अध्ययन र जीवनयात्रा बाँकी रहेकोले निरन्तर सिकाइलाई जीवनभर कायम राख्न आग्रह गर्नुभयो । उहाँले लिशा स्कूलबाट प्राप्त ज्ञान, सीप र संस्कारलाई जहाँ पुगे पनि प्रतिबिम्बित गर्न विद्यार्थीलाई प्रेरित गर्नुभयो ।
उहाँले नगरपालिकाले लागू गर्न लागेको आइतबार बिदालाई अतिरिक्त क्रियाकलापमार्फत सदुपयोग गर्दै विद्यार्थीलाई अझ प्रतिभाशाली र सक्षम बनाउने दिशामा विद्यालयले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक भोजराज अर्यालले भक्तपुर सुन्दर, स्वच्छ र अनुशासित नगरका रूपमा परिचित रहेको उल्लेख गर्दै यहाँको शैक्षिक विकास पनि प्रशंसनीय रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई आफ्नो अनुशासन कहिल्यै नछोड्न, ठुलो सपना देख्न र त्यसलाई साकार पार्न निरन्तर मेहनत गर्दै आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा इसानका अध्यक्ष प्रेमजन थापाले विद्यार्थी र शिक्षकलाई सकारात्मक सोचका साथ आत्मसम्मान कायम राख्दै जीवनमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले जीवनमा कहिल्यै निराश नहुन सुझाव दिँदै असफलताले सफल बन्ने बाटो सिकाउने भएकोले प्रत्येक चुनौतीलाई सिकाइको अवसरको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगबारे चर्चा गर्दै विद्यार्थी र शिक्षकलाई यसको फाइदा तथा प्रभावकारी र जिम्मेवार प्रयोगका बारेमा बोल्नुभयो । आधुनिक प्रविधिलाई सिकाइ, अनुसन्धान र सिर्जनशील कार्यमा सदुपयोग गर्दै आफ्नो ज्ञान र सीप अभिवृद्धि गर्न उहाँले आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक लिशा प्रजापतिले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीको सफलतामा अभिभावकको मेहनत र शिक्षकहरूको समर्पणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । सफलता केवल अङ्कले मात्र मापन नहुने, असल नागरिक बनेर समाजसेवामा समर्पित हुन उहाँले विद्यार्थीलाई प्रेरित गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समारोहका सभापति बलराम प्रजापतिले धन्यवाद ज्ञापन गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थी आयुषा खोजु र कक्षा १० की विद्यार्थी जिज्ञासा कोजुले अध्ययन गर्दाको अनुभव तथा सिकाइबारे बोल्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षिका कृष्णश्वरी दुवालले गर्नुभएको थियो ।
Leave a Reply