भर्खरै :

निजी क्षेत्रलाई सरकारले बोकेर हिँड्ने होइन बरु तिनीहरूलाई ऐन कानुनभित्र स्वतन्त्र रूपले काम गर्न दिनुपर्छ

निजी क्षेत्रलाई सरकारले बोकेर हिँड्ने होइन बरु तिनीहरूलाई ऐन कानुनभित्र स्वतन्त्र रूपले काम गर्न दिनुपर्छ

हिजोका सरकारहरू जसरी आफ्नो बल, बुद्धि र घमण्डले निस्तेज हुँदै गए आजका सरकार पनि हेर्दाहेर्दै पतनोन्मुख स्थितिमा देखिनेछ – यदि वर्तमान देशको अर्थतन्त्रमा व्यापक परिवर्तन ल्याउन सकेन भने ।
देशको अर्थतन्त्र र परिस्थितिको तस्बिर तलका समाचार शीर्षकहरूले बताउँछन् –
‘अन्नदेखि तरकारीसम्म विदेशकै भर’, ‘वर्ष दिनमै ४ खर्बका कृषि तथा पशुजन्य वस्तु आयात’ (नागरिक दैनिक, ११ साउन २०८३) ।
१) यदि वर्तमान सरकारका अर्थमन्त्रीले फेरि ‘विश्व बैङ्क, ‘अन्तर्राष्ट्रिय मुद्राकोष’ र ‘एसियाली विकास बैङ्क’ सँग ऋण लिएर नै ऋण तिरेको खण्डमा देश नेपाल संयुक्त राज्य अमेरिकाको नव–उपनिवेशमा बदलिनेछ । यसकारण, मन्त्रीहरूलाई सरकारले दिने गरेको अङ्ग रक्षकहरूले मन्त्रीहरूको सुरक्षा मात्रै होइन ती मन्त्रीहरूले विदेशीको सल्लाहमा लागेर ऋण लिँदै गएमा देश आर्थिकरूपले नर्कमै डुब्ने भए मन्त्रीहरूलाई विदेशमा भाग्न दिनु हुँदैन । पहिले केही सांसद र मन्त्रीहरूसँग ३–४ वटा देशको पासपोर्ट हुन्थे । यसकारण, बजेटलाई तासको जुवा जस्तै खेल्ने मन्त्रीहरूका सबै पासपोर्टहरू प्रहरी वा सेनाको हातमा हुनु आवश्यक छ, भाग्न दिनु हुँदैन ।
२) भ्रष्टाचारले व्यापार, सरकारी कार्यालयहरू र सामाजिक क्षेत्रमा समेत अर्थतन्त्रलाई घुमाइफिराइ नकारात्मक असर पर्ने काम गर्ने हुँदा भ्रष्टाचारलाई तत्काल नियन्त्रण गर्न नसकेपछि न्यून गर्न आवश्यक छ । सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचारको अर्थ हो देशभित्र गम्भीर खतरा आउँदै छ – तकियामुनि सर्प राखेर सुत्ने व्यक्ति जस्तै । तल हेरौँ –
(क) ‘अख्तियार पुग्यो सशस्त्रमा ११ करोड हिनामिना प्रकरण, भ्रष्टाचार कसुरमा छानबिन’ (नयाँ पत्रिका, ११ साउन २०८३) ।
‘झापा र सुनसरीमा कार्यरत अधिकृतहरू छानबिनमा”, ‘भेप तस्करीमा सघाउने इन्स्पेक्टर कारबाहीमा’ (नयाँ पत्रिका, ११ साउन २०८३) ।
३) ‘पहिरोले सडक पुरेपछि १० दिनदेखि तातोपानी नाकाबन्द’, ‘दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध हुँदा आयात निर्यात ठप्प, ४० भन्दा बढी कन्टेनर अलपत्र’ (नयाँ पत्रिका, ११ साउन २०८३) ।
यसको अर्थ हो, तिब्बतबाट आउने नेपाली सामान बजारमा बजार भाउ बढ्नेछ, नेपाली उपभोक्ता मारमा पर्छन् र त्यही विदेशी महँगो सामानले नेपाली रकम बिदेसिनेछ । यस स्थितिले नेपाल र नेपाली जनताकै अहित गर्छ । यसबारे सरकार चनाखो हुनुपर्ने हो ।
जेठ महिनादेखि नै यस्ता पहिरो आउने ठाउँहरूको जाँचबुझ गरी तत्कालै मर्मत सम्भारमा ध्यान दिनेबारे सरकारहरूलाई जनताको तहबाट लेख, रचना र पत्रहरू लेखेर सजग पार्दै आएको थियो भने संसद्मा पनि बारम्बार यसबारे सरकारको ध्यानाकर्षण गरेको समाचारमा जनताले पढेकै हुन् ।
तर सम्बन्धित मन्त्रालयहरू विभागीय कार्यालयहरूले बेवास्ता गर्दा धेरै धेरै जन–धनको क्षति हुँदै आएको हो । यसबारे सम्बन्धित कार्यालय र हाकिमहरूलाई जिम्मेवार ठह¥याई कानुनी कारबाही चलाएमा मात्र सबै क्षेत्र सतर्क हुने विश्वास गर्न सकिन्छ ।
४) ‘सरकारले निजी क्षेत्रलाई साक्षी होइन, साझेदार बनाउनुपर्छ’
(कान्तिपुर, ११ साउन २०८३) ।
यो भनाइ हो – एक उत्पादनमूलक उद्योगका कार्यकारी निर्देशकको ।
देशको अर्थतन्त्रका जानकार, अध्येता, चिन्तक र परिवेक्षकहरूलाई थाहा भएको विषय हो । पुँजीवादी व्यवस्थामा निजी उद्योगहरूले आ–आफ्नै पुँजी र सोचले देशको आर्थिक विकासमा सहयोग गर्ने हो । नेपालमा हिजो एउटै समुदायको बैङ्क थिएन, आज १० वटाभन्दा बढी होला । नेपालको बजेट बनाउँदा अर्थमन्त्री नै कोही उद्योगपतिहरूकै सल्लाहमा काम गर्दछन् । निजी उद्योगपतिहरूकै सल्लाहमा हिजो सबै सरकारका उद्योगहरू निजीकरण गरिएका हुन् । त्यसको फल नेपाली जनताले भोग्दै छन् । सरकारले निजी क्षेत्रलाई चम्चाले खुवाउने होइन, तिनीहरूलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *