क्रान्तिकारी महिलाहरूमाझ ‘कालो दिन’ को विरोध तथा भत्र्सना
- भाद्र ६, २०८३
भक्तपुर, ६ भदौ । भक्तपुर नगरपालिका वडा नं. १० को छोरी–बुहारी समूहको आयोजनामा २०४५ साल भदौ ९ गते भएको भक्तपुर काण्डको स्मरणमा भत्र्सना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले भक्तपुर काण्डले कुनै पनि षड्यन्त्रविरुद्ध अझ सशक्त रूपमा लड्नुपर्ने पाठ सिकाएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले नगरवासीलाई शिक्षित बनाउन विभिन्न कलेज तथा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
ख्वप अस्पतालले जनतालाई निःस्वार्थ रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्पष्ट पार्दै उहाँले पार्टीको निरन्तर मेहनत, सङ्घर्ष र जनताको सेवाप्रतिको समर्पणकै कारण आज भक्तपुर विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो ।
नेमकिपाले तल्लो वर्गका जनतालाई माथि उठाउने उद्देश्यले काम गर्दै आएको उल्लेख गर्दै उहाँले आज भक्तपुर सुन्दर, शिक्षित र सभ्य नगरका रूपमा देश–विदेशमा परिचित हुनुमा नेमकिपाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
महिला समूहले समाजलाई सही दिशा निर्देश गर्न महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ थियो ।
भक्तपुर काण्डको स्मरण गर्नुको उद्देश्यबारे प्रकाश पार्दै उहाँले उक्त घटनामा महिलाहरूको भूमिका स्मरणीय रहेको बताउनुभयो ।
भक्तपुर काण्डसँगै पञ्चायती व्यवस्थाको अन्त्यतर्फको आन्दोलनले गति लिएको उल्लेख गर्दै उहाँले नेमकिपाका जनप्रतिनिधिहरूले जनताको हितमा काम गर्दै आएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डङ्गोलले राजनीतिक रूपमा सङ्घर्ष गर्न सके मात्र आफ्नो पहिचान जोगाउन सकिने बताउनुभयो ।
नेमकिपालाई समाप्त पार्ने उद्देश्यले षड्यन्त्रपूर्वक भक्तपुर काण्ड रचिएको उहाँले बताउनुभयो ।
नेमकिपाले जनताको पक्षमा गरेको काम देख्न नसक्नेहरूले पार्टीप्रति कुदृष्टि राखेको उहाँको भनाइ थियो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशनमैयाँ सुवालले भक्तपुर काण्डमा धेरै निर्दोषले सजाय पाएको बताउँदै उक्त घटनाबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाले महिलाहरूलाई शिक्षित बनाउन महिला साक्षरता कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै उहाँले भक्तपुर काण्ड नेमकिपालाई समाप्त पार्ने उद्देश्यले षड्यन्त्रपूर्वक रचिएको बताउनुभयो ।
नेमकिपा वडा नं. १० समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालले २०४५ सालको भक्तपुर काण्डबारे नयाँ पुस्तालाई निरन्तर जानकारी गराइराख्नुपर्ने बताउनुभयो । त्यस्ता षड्यन्त्र पुनः दोहोरिन सक्ने भएकोले सचेत रहनुपर्ने उहाँको भनाइ थियो ।
पूर्वनगरप्रमुख चैत्यराज शाक्यले भक्तपुर काण्डको स्मरण गर्दै महिलाहरूको राजनीतिक चेतनाका लागि तालिम तथा प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । छोरी–बुहारीबिच परिचयात्मक सम्बन्ध विस्तार गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो ।
छोरी–बुहारी समूहका प्रतिनिधि तारा शाक्यले स्वागत मन्तव्य राख्दै भक्तपुर काण्डका क्रममा महिलाहरूले धेरै दुःख र पीडा सहनु परेको बताउनुभयो । कार्यक्रममा समूहका सदस्य आभा प्रजापतिले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमका सभापति एवं वडा १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रममार्फत सबैलाई सङ्गठित र सचेत रहन आग्रह गर्नुभयो ।
Leave a Reply