भर्खरै :

नयाँ पुस्तालाई सही बाटोमा हिँडाउन आफूहरूले पनि असल काम गर्न जोड

नयाँ पुस्तालाई सही बाटोमा हिँडाउन आफूहरूले पनि असल काम गर्न जोड

भक्तपुर, ६ भदौ । दिदीबहिनी समूह भ.न.पा.४ को आयोजनामा शनिबार च्वङा गणेश स्थान, सल्लाघारीमा एक प्रशिक्षण कार्यक्रम भयो ।
नेमकिपाका सचिव प्रेम सुवालले स्वस्थ निरोगी जीवन बाँच्न खानपिनमा सुधार गर्नुपर्ने र विषादीयुक्त तरकारी र खाद्य सामग्री सेवनमा सतर्कता अपनाउनुपर्ने आवश्यकताबारे चर्चा गर्नुभयो । आमाबुबाले धूमपान, मद्यपान र लागूपदार्थ सेवन गरे पुस्तौँसम्मका सन्तानहरूमा नकारात्मक मानसिक वा शारीरिक असर पर्ने अध्ययनले देखाउँछ भन्दै उहाँले पढ्न नसके पनि राम्रो काम गर्ने, बोली वचन राम्रो भएमा संस्कार भएको मानिन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले देश र जनताको सेवाबाहेक अरु कुनै स्वार्थ राखेको छैन । २०१९ सालमा पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नगरपालिकामा निर्वाचित हुँदादेखि अहिलेसम्म निःस्वार्थरूपमा जनताको काम गर्दै आइरहेको छ ।”
पार्टी सङ्गठनमा लागेका कार्यकर्ताका छोराछोरीहरूको विवाह नहुने, बुहारी नपाइने भन्ने समाज अहिले पनि रहेको बताउँदै उहाँले मुख्य कुरो समाज परिवर्तनका लागि लाग्ने हो भन्नुभयो ।
नयाँ पुस्तालाई सही बाटोमा हिँडाउन आफूहरूले पनि असल काम गर्न जोड दिँदै सचिव सुवालले भदौ २३ र २४ का दोषीहरूलाई सजाय दिनुपर्ने भनाइ राख्दै जेनजी सरकार पनि विदेशीकै इसारामा चलिरहेको हुनाले अहिले पनि देशको स्थिति अन्यौलमा नै रहेको चर्चा गर्नुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले भदौ ९ कालो दिनको संस्मरण गर्दै दिदी बहिनीहरूको एकताले नै राज्यको षड्यन्त्रमा जेल परेका अग्रजहरूलाई रिहाइ गर्न ठुलो बल पुगेको बताउनुभयो । उहाँले पाँचवर्ष कानुन अध्ययन गरिसकेपछि अन्तर्राष्ट्रिय अदालतमा समेत बहस गर्न सकिने जानकारी गराउँदै विदेश पढ्न जाने विद्यार्थीहरूलाई सम्झाइबुझाइ गर्न घर–घरमा जाने काम गर्दै आइरहेको बताउनुभयो ।
अनलाइन जागीरमा ठगीका मुद्दाहरू धेरै बढिरहेको हुनाले सचेत हुन आग्रह गर्दै उहाँले पैसाको लागि किशोरीहरूले आफ्नो पाठेघरमा भएको अण्डकोषसमेत बेच्ने गरेको, साइबर अपराध र चेक बाउन्सका मुद्दाहरूमा धेरै महिलाहरू फसिरहेको हुनाले कानुनी ज्ञान राख्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
स्थानीय हरिसुन्दर सुवालले शिक्षा, स्वास्थ्य, सरसफाइमा भक्तपुरमा भएको परिवर्तनमा अग्रज पुस्ताले गरेको योगदान अविस्मरण्ीय रहेको चर्चा गर्दै आपसी मेलमिलाप, मित्रता र एकताले नै आदर्श समाज स्थापनाका आधार भएको पुष्टि गर्नुभयो ।
दिदीबहिनी समूह भ.न.पा. ४ अध्यक्ष कृष्णलक्ष्मी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामलक्ष्मी दुवालले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *