क्रान्तिकारी महिलाहरूमाझ ‘कालो दिन’ को विरोध तथा भत्र्सना
- भाद्र ६, २०८३
भक्तपुर, ६ भदौ । २६ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नगरपालिका–७ नं. वडा कार्यालयको आयोजनामा शुक्रबार विद्यार्थी सम्मान तथा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवा उमेरले मात्र नभई विचारले हुने बताउनुभयो । उहाँले युवामा परिवर्तनकारी तथा क्रान्तिकारी विचार हुनुपर्ने धारणा राख्दै प्रतिगामी सोचको विरोध गर्नुपर्ने विचार राख्नुभयो ।
राजतन्त्र पुनःस्थापनाको मागलाई प्रतिगामी सोचको संज्ञा दिँदै उहाँले विगतमा जनतालाई धोका दिने राजनीतिक प्रवृत्तिको आलोचना गर्नुभयो । जनताको हित र देशको स्वाधीनताका पक्षमा दृढतापूर्वक उभिन सक्ने व्यक्ति नै वास्तविक अर्थमा युवा हुने उहाँको भनाइ थियो ।
प्रमुख प्रजापतिले गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) का गतिविधिप्रति जनता सचेत हुनुपर्ने बताउनुभयो । देश निर्माणका लागि विदेशी सहयोगमा मात्र निर्भर नभई नेपाली आफैँले आफ्नो देश निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले नगर क्षेत्रका सम्पदाहरूको मर्मत तथा जीर्णोद्धार स्थानीय जनतासँगको सहकार्यमा गर्दै आएको उल्लेख गर्दै उहाँले यसबाट सम्पदा संरक्षणमा स्थानीय जनताको अपनत्व बढेको बताउनुभयो ।
उहाँले विगतमा लामो समय सरकारमा रहेका राजनीतिक दलहरूले सार्वजनिक सरकारी कलकारखाना तथा उद्योगहरू कौडीको मूल्यमा बिक्री गरी बन्द गराएको आरोप लगाउँदै त्यसको समीक्षा जनताले गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।
देशका उद्योग, कलकारखाना र उत्पादनका क्षेत्रलाई पुनर्जीवित गरी युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले लाखौँ युवा विदेशमा राखेर देशको विकास सम्भव नहुने बताउनुभयो । उहाँले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकारले रोजगारमूलक तथा सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर आफैँमा एउटा विश्वविद्यालयसरह रहेको उल्लेख गर्दै उहाँले भक्तपुरका हरेक विषयवस्तु तथा सम्पदा अध्ययन र विद्यावारिधिका लागि महत्वपूर्ण विषय बन्न सक्ने बताउनुभयो । युवाले विदेशमा अवसर खोज्नुको सट्टा स्वदेशमै प्राप्त ज्ञान, सीप र क्षमताको उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर युवा टीमका सचिव रामेश्वर मचामसी, सहिद स्मृति पुस्तकालयका अध्यक्ष नारायणप्रसाद मचामसी, अध्यक्ष दीपक खिचाजू र बिनु वनमालाले शिक्षा, मेरिना लवजूले आयुर्वेदिक चिकित्सा, सुशीला ताहामताले कानुन, किरण किसीले अन्तर्राष्ट्रिय सम्बन्ध, किशोर गोसाईंले अर्थशास्त्र, बलराम गोसाईंले जनप्रशासन र सविन ख्याजूले कृषि विषयमा आफ्नो अनुभव र विचार राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विषयमा स्नातकदेखि विद्यावारिधि पूरा गरेका ३५ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यार्थी सम्मानसँगै युवाको वर्तमान अवस्था, देश विकासमा युवाको भूमिका र स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने आवश्यकताबारे प्रवचन तथा छलफल गरिएको थियो । कार्यक्रमले युवालाई देश निर्माणमा सक्रिय सहभागी गराउने र आफ्नो ज्ञान तथा सीप स्वदेशमै उपयोग गर्न प्रेरित गरेको आयोजकले जनाएको छ ।
Leave a Reply