भर्खरै :

सूनपा–५ कटुञ्जेमा मजदुर भेला

सूनपा–५ कटुञ्जेमा मजदुर भेला

भक्तपुर, ७ भदौ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा सूनपा कटुञ्जेमा मजदुर कार्यकर्ता भेला शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका पार्टी अध्यक्ष सूर्यभक्त त्वातीले मजदुर सङ्घले विभिन्न ठाउँमा बैठक तथा भेला कार्यक्रम गर्दा सङ्गठन बलियो हुन्छ र पदाधिकारीहरूलाई कार्य क्षेत्र तोकी जिम्मेवारी बाँडफाँड गर्दा सङ्गठनका गतिविधिहरू सञ्चालन गर्न सजिलो हुन्छ भन्नुभयो ।
उहाँले मजदुरहरूको हक अधिकारको निम्ति लड्नुपर्ने र आइपरेका समस्या समाधानमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकारले जनताको समस्या नबुझेको, सञ्चालन भइरहेका उद्योगहरू समेत बन्द गर्दा धेरै मजदुर बेरोजगार भएका छन् भन्नुभयो । “महिनामा लाखौँ दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाइरहेको छ, देश परनिर्भरतर्फ धकेलेको छ । यसकारण, जनताले दुःख पाएका हुन्,” उहाँले भन्नुभयो ।
उहाँले देशमा विभिन्न पेसाकर्मीहरूलाई काम गर्ने वातावरण नहुँदा प्रत्येक दिन सरकारविरुद्ध धर्ना, जुलुस, प्रदर्शनजस्ता कार्यक्रमहरू भएका छन् भन्दै जनताको ढाड सेक्ने गरी विद्युत्लगायत सम्पूर्णमा कर वृद्धि गर्दा जनताले दुःख भोग्नुपरेको उल्लेख गर्नुभयो ।
रास्वपाको सरकारमा पनि केही सुधार नभएको, खाना पकाउने ग्यास लिन पनि हप्तौँ लाइन बस्दा पनि ग्यास नपाउने अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेमकिपा सूनपाका पार्टी सचिव महेन्द्र बखुन्छेले कटुञ्जेको भौगोलिक अवस्था र अहिले भएको जनसङ्ख्याबारे जानकारी दिँदै पहिला ५२ प्रतिशत नेवार भएको ठाउँमा हाल विभिन्न जातजाति र भाषाका जनता बसोबास गरिरहेको हुँदा सबैसँग मिलेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
उहाँले कार्यकर्ताहरूले अध्ययनतर्फ जोड दिनुपर्ने र सैद्धान्तिक रूपले परिपक्व बन्नुपर्छ भन्नुभयो ।
पुँजीवादी व्यवस्थामा आफैँ खाउँ, आफैँ लगाउँ र आफैँ मात्र कमाउँ भन्ने भावनाको विकास हुने हुँदा बहुसङ्ख्यक कामदार जनताको हित नहुने चर्चा गर्दै उहाँले समाजवादी व्यवस्थामा समाज र बहुसङ्ख्यक जनताको हित हुने भएकोले सम्पूर्ण कार्यकर्ताहरू समाजवादी व्यवस्थाको प्रचार अभियानमा लाग्नुपर्छ भन्नुभयो ।
नेक्रामजदुर सङ्घका अध्यक्ष विष्णुराम दुमरुको अध्यक्षतामा भएको उक्त भेलामा सङ्घका सचिव रमेश दुमरु, श्याम विसङ्के, रामकृष्ण बखुन्छे, विक्रम ढुकुछुलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *