भर्खरै :

भक्तपुर काण्डजस्ता घटनाको सूक्ष्म विश्लेषण गर्नुपर्नेमा जोड

भक्तपुर काण्डजस्ता घटनाको सूक्ष्म विश्लेषण गर्नुपर्नेमा जोड

भक्तपुर, ९ भदौ । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगरपालिका वडा नं. १ वडा समितिको आयोजनामा भक्तपुर काण्डबारे प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले इतिहासका यस्ता घटनालाई पुनःस्मरण गराउन तथा नयाँ पुस्तालाई जानकारी दिन यस्ता कार्यक्रमको आयोजना गरिँदै आएको बताउनुभयो ।
उहाँले भक्तपुर काण्डजस्ता घटनाको सूक्ष्म विश्लेषण गर्नुपर्नेमा जोड दिँदै घटनाबारे सही ढङ्गले नबुझिए भविष्यमा ठुलो सङ्कटमा पर्न सकिने बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीले प्रौढ कक्षा सञ्चालन गरी महिलालाई राजनीतिक रूपमा सङ्गठित पारेकै कारण भक्तपुर काण्डको समयमा महिलाहरूले सशक्त भूमिका खेल्न सकेको बताउनुभयो ।
जनताको सेवा नै मुख्य उद्देश्य भएकाले नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले जनताको सेवामा काम गरिरहेको उहाँको भनाइ थियो ।
त्यस समयमा जेलमै बसेर पार्टी कार्यकर्ताहरूले उच्च शिक्षा अध्ययन पूरा गर्नु पनि राम्रो पक्ष भएको उहाँले उल्लेख गर्नुभयो ।
भक्तपुरमा भएका कामलाई सबैले राम्रो मानेर अनुकरण गरिरहेको तथा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अध्ययन गर्न धेरै प्रतिस्पर्धा रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर काण्डको भत्र्सना कार्यक्रम गर्नुको उद्देश्यबारे प्रस्ट पार्दै पार्टीलाई नष्ट गर्न खोज्नुको कारणबारे नयाँ पुस्तालाई बुझाउनुपर्ने बताउनुभयो ।
उहाँले घटना पुरानो भयो भनेर बिर्सँदै जाने होइन, यस्ता घटना दोहोरिन नदिन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर वडा नं. १ का पार्टी इन्चार्ज कृष्णबहादुर दुगुजुले भक्तपुर काण्ड गराएर नेमकिपालाई समाप्त गर्ने प्रयास गरिएको बताउनुभयो । उहाँले पार्टीले पञ्चायतकालदेखि नै प्रतिक्रियावादी सङ्घसंस्थाभित्र प्रवेश गरी जनताको सेवा गर्ने नीति लिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका सुशीला कर्माचार्यले महिलाहरू राजनीतिक रूपमा सचेत र सङ्गठित हुनुको फाइदाबारे चर्चा गर्नुभयो । उहाँले पार्टी अध्यक्ष रोहितकी जीवनसङ्गिनी शोभा बिजुक्छेँले भक्तपुर काण्डको समयमा अपनाएको संयमता र उहाँको व्यवहारिक पक्ष निकै प्रशंसनीय रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति बिकुलक्ष्मी कोजुले पनि कार्यक्रममा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *