भर्खरै :

कला संस्कृतिको संरक्षणमा सबैको साझा जिम्मेवारी

कला संस्कृतिको संरक्षणमा सबैको साझा जिम्मेवारी

भक्तपुर, १२ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा युवाहरूको सक्रिय सहभागिताको लागि खुसी व्यक्त गर्नुभयो ।
मुक्ति सङ्गीत प्रशिक्षण केन्द्रद्वारा प्रशिक्षित महाकाली नाच पिदानेगु (दीक्षान्त) कार्यक्रममा प्रमुख प्रजापतिले कला र संस्कृति देशकै सम्पत्ति भएकोले त्यसको संरक्षण गर्नु सबै नागरिकको साझा कर्तव्य र जिम्मेवारी हो भन्नुभयो ।
उहाँले भक्तपुरमा रहेका मूर्त सम्पदाहरूमात्र नभई अमूर्त सम्पदाहरू संरक्षणमा पनि नगरपालिकाले उत्तिकै जोड दिँदै आइरहेको चर्चा गर्दै भन्नुभयो, “हामीसँग थुप्रै अमूर्त सम्पदाहरू छन् । ती सबै देशका सम्पत्ति हुन् । युवा पुस्ताले सिकेपछि अब लोप हुन पाइने छैन । दाफा–भजन, परम्परागत नाच, संस्कृति संरक्षणका लागि उत्साहित गर्न नगरपालिकाले हरेक वर्ष विभिन्न विधाका प्रतियोगिताहरू सञ्चालन गर्दै आएको छ ।
सांस्कृतिक गुरूहरूको सम्मान गर्नु सराहनीय कार्य भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले कार्यक्रममा सम्मानित गणेशराम लाछी संस्कृतिविज्ञ र नेपालभाषाका अभियन्ता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भाषा र संस्कृति संरक्षणमा गणेशराम लाछीको ठुलो योगदान छ । उहाँ एक सफल कलाकार र बहुप्रतिभाशाली व्यक्तित्व पनि हुनुहुन्छ ।”
भोटेकोसीमा भदौ १० गते आएको बाढीले पु¥याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रमुख प्रजापतिले केही भक्तपुरवासीहरू पनि सम्पर्कविहीन भएको र तिनीहरू शीघ्र सम्पर्कमा आउने अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस विपद्को समयमा सबैले पीडित परिवारलाई सहयोग गर्न जरूरी छ ।”
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञ सुदिमा श्रेष्ठले संस्कृति बचाउन मुक्ति सङ्गीत प्रशिक्षण केन्द्रले गर्दै आएको कामको प्रशंसा गर्दै प्रतिष्ठानको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सम्मानित व्यक्तित्व गणेशराम लाछीले भक्तपुरमा ख्वपा प्याखं (मकुन्डो नाच) धेरै भएको बताउँदै महाकाली नाचजस्तो समूहगत नाचहरू प्रशिक्षण दिएर युवा पुस्तालाई अगाडि बढाएकोमा प्रशिक्षण केन्द्रलाई धन्यवाद दिनुभयो ।
उहाँले भक्तपुरमा संस्कृतिकर्मी प्रशिक्षकहरूले निरन्तर मेहनत गरिरहेकै कारण भक्तपुर सांस्कृतिक नगरको रूपमा विश्वमा परिचित हुँदै गएको हो भन्नुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले मूर्त र अमूर्त सम्पदाहरूलाई जीवन्तता दिन सकेन भने समाज मृत सरह हुने धारणा राख्दै आफू पनि महाकाली नाचको कलाकार भएको बताउनुभयो ।
अभौतिक सम्पदाहरूको संरक्षणको लागि राष्ट्रिय सूचीकरणको पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय कार्य समिति सदस्य रोसन भोयद्योलगायतले शुभकामना व्यक्त गर्नुभएको उक्त कार्यक्रम प्रशिक्षण केन्द्रका संस्थापक अध्यक्ष मुक्तिसुन्दर जधारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण तथा गणेशराम लाछीलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *