भर्खरै :

आजको विकासको श्रेय क–कसलाई जान्छ ?

आजको विकासको श्रेय क–कसलाई जान्छ ?

भक्तपुरको आजको शिक्षा, कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा स्वास्थ्य क्षेत्रको विकासको श्रेय क–कसलाई दिने हो भन्नेबारे युवा–विद्यार्थी र भक्तपुरप्रति जिज्ञासुहरूका फरक–फरक मत देखिन्छन् ।
भर्खर भक्तपुरको अध्ययन गर्ने जिज्ञासुहरू यसको विकासको श्रेय वर्तमान निर्वाचित जनप्रतिनिधि, संलग्न कर्मचारी र कामदारहरूलाई दिन्छन् ।
अर्काे मत छ – हरेक वस्तु र विचारको स्रोत भौतिक वस्तुको बीउ र विचारको उद्देश्य वा दर्शनमा खोज्नु आवश्यक छ ।
तेस्रो मत हो – प्रचार नै तत् वस्तुको विकासको प्रमुख भागीदार हुने गर्छ ।
ती नै दृष्टिकोणलाई सूक्ष्म रूपले हेर्दा ती सबैमा सच्चाइका अङ्गहरू देखिन्छन् भनी तर्क गर्छन् ।
फोहर भक्तपुर, गरिब भक्तपुर र निरक्षर भक्तपुरलाई बदल्न खोज्ने जिजीविषा स्थानीय तत्कालीन नयाँ पुस्ता र मुठीभरका बुद्धिजीवीहरूमा नभएका भए, सफाइ आन्दोलन, साँढे धपाउने आन्दोलन, कुत कम तिर्ने र भर्पाई लिने हुट्हुटी र भूमिसुधारको ऐनलाई आन्दोलनको रूपमा नलगेका भए, मेक्सिकोमा विकसित गरिएको लेर्मा गहुँको नयाँ बीउ, मल, जल र थ्रेसर मेसिन प्रयोगमा नआएको भए भक्तपुरको कृषिमा ठुलो परिवर्तन र व्यापक जनताको आर्थिक स्तरमा सकारात्मक परिणाम देखिने थिएन ।
बहुमत जोताहा र गरिब किसानहरूको आर्थिक स्तरको वृद्धि र बजार सञ्चालनको अवसरले शिक्षक, स–साना व्यापारी र पात र टपरी गाँस्ने, कालो टोपी बनाउने, पोतेमाला उन्ने वा गाँस्ने, प्युरीको बत्ती बनाउने, धूप र अन्य पूजा सामग्री बनाउनेहरूको जीवनस्तर प्रगति नभएको भए प्राथमिक विद्यालय र कक्षाको कोठा थप्नुपर्ने र शिक्षकहरूको माग बढ्ने थिएन । सुनसान बजार शनै शनै गुलजार भयो । कलम, कापी, पुस्तकदेखि माध्यमिक विद्यालयसम्मको शिक्षण संस्थाहरूको द्रुततर सङ्ख्या बढ्ने थिएन । यसरी बहुमत कामदारवर्गको जीवनस्तर बढ्नुको अर्थ कालान्तरमा देश र व्यापक जनताकै जीवनस्तर बढ्ने हो र मुट्ठीभर माथिल्लो वर्गको आय बढ्नुको अर्थ देश र व्यापक वर्गको आयस्रोत बढ्ने सूत्र निराधार हुन्छ ।
माथि उल्लेख गरिएको दोस्रो मतअनुसार तत्कालीन भक्तपुरका परिवर्तनवादी युवाहरू निश्चय पनि समानतावादी दृष्टिकोणबाट प्रभावित थिए र आफ्नो जनताको निःस्वार्थ रूपले सेवा गर्ने भावनामा ‘समर्पित’ थिए । यसैकारण, त्यसबेलाका युवाहरू अहिले ज्येष्ठ नागरिक र प्रौढ भइसक्दा पनि आफ्नो उच्च विचारको भावनाप्रति समर्पित छन् । त्यसैमा आफ्नो जीवनको लक्ष्य मान्दै आएको देखिन्छ ।
जहाँसम्म अहिलेका जनप्रतिनिधि र कर्मचारीहरूलाई मुख्य श्रेय दिनुपर्ने सोचलाई केलाउने हो भने, भक्तपुरमा २–४ वर्ष काम गरेका कर्मचारीअनुसार ‘अन्य जिल्लाको कर्मचारीहरूको आफ्नो काम र कर्तव्यप्रतिको प्रदर्शन १८ प्रतिशत र २० प्रतिशतमात्रै हो र जनप्रतिनिधिहरूको सक्रियता तुलनात्मक रूपले बढी हो । तर, हरेक टोल–टोलका दाफा, भजन, बाजा, नाचगान समूह, शिक्षण संस्था, सहकारी संस्थाहरू, धर्मप्रति आस्था भएका व्यक्ति–व्यक्ति र समूहहरूको सीप सहयोग नै भक्तपुरको विकासको एउटा प्रमुख पक्ष प्रस्ट छ ।
तेस्रो मत ‘प्रचार’ बारे तयारी सामानको विज्ञापन र त्यसभित्रको तत्वलाई उदाङ्ग्याएर देशभर र सारा जनतासम्म पु¥याउनु निश्चय पनि जनता, जनप्रतिनिधि र सबै पक्षको एकताबारे प्रस्ट गर्ने अवश्य देखियो ।
तर, पञ्चायती सरकारको षड्यन्त्रमूलक ‘भक्तपुर’ काण्डको पक्षमा देशभरका सचेत र न्यायको पक्षमा समर्पित कानुन व्यवसायीहरू, पत्रकारहरू, कूटनैतिक सङ्घर्षका व्यक्तित्वहरू, बुद्धिजीवी एवम् राजनैतिक दलहरूका सङ्घर्षशील व्यक्तित्व र युवाहरूसँगै व्यापक जनताको साथले भक्तपुरका न्यायप्रेमी राजनैतिक पक्ष र सारा जनताको विजयको मोड आजको परिवर्तनको ऊर्जा भयो । यसकारण, माथि न्यायको निम्ति समर्पित सबै व्यक्तित्व र संस्थाहरू ‘चिटिक्क परेका आफ्ना कारहरू कालोपत्रे सडकमा सयर गरेका व्यक्तिहरूभन्दा सडक बनाउने नीति निर्माणकर्ताहरू र खनजोत र प्राविधिक कामदारहरू बढी विकासका श्रेयका अधिकारी हुन् ।
आज भक्तपुर नगरपालिका स्वास्थ्य, शिक्षा क्षेत्र, बाल सेवा, ज्येष्ठ नागरिकको हितको शिशुशाला र आदर निकेतन, मठमन्दिर, कला–संस्कृति एवम् पुराना बाजागाजा, नाच र देशको ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरूमा सहकारी संस्थाहरू, शिक्षण संस्था र दाफा, भजन, गुठी आदि संस्थाहरू मिलेर आफ्नो नगर र जिल्लालाई उदाहरणको प्रस्तुत गर्न सबैसँग हातेमालो गर्दै गरेको प्रस्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *