नेपालै के कस्तो !
- आश्विन २, २०८३
मोहिनी
आदरणीय गुरुजन,
धेरै दिन भयो मेरी छोरी झर्किन थालेको ।
सबैसँग मिलेर बस्न, फरासिलो हुन सिकाएकी हुँ । अरूले ‘तिम्री सानी छोरी त कति मिलनसार’ भन्दा मख्ख हुन्थेँ । तर, अचानक यो कस्तो बदलाव ? खुलेर बोल्न छोडेकी छे । आमाको मन हो, पोल्ने भइहाल्यो ।
‘कसरी बुझ्ने होला’ भन्ने भयो । उसका साथीहरूसँग सोधी हेरेँ । सबैले एउटै कुरा भने – विज्ञान र गणितका शिक्षकसँग खटपट भएर हो ।
एक मनले भन्यो – “शिक्षकसँग पनि खटपट हुन्छ र ? कस्ता जमाना आए !” हो, समय सधैँ उस्तै कहाँ हुन्छ र ? ‘जमाना फेरिए साइँली’ भन्ने त गीत नै छ । हाम्रोजस्तो जमाना आज रहेन ।
हिजो म पनि शिक्षिका थिएँ । बिहे भएपछि पढाउन छोडेर गृहिणी भएँ । पढाउने मन नभएको होइन, तर काखको बच्चो सानै छ । यो हुर्केपछि फेरि पढाउने पेसामा फर्किने सोचेकी छु ।
कुरा अन्तै मोडियो सर । तपार्इँहरूलाई छोरीको व्यथा बताऊँ भनेर लेख्दै छु ।
किन हो कुन्नि, मेरी छोरीको रुचि समाज विज्ञानमा गयो ।
सानैदेखि हामीकहाँ आउने पत्रपत्रिका हेर्दै आएकी छे । शनिबारको दिन पत्रिका पढेपछि समाजका उचनीचजबारे घण्टौँ सोचिबस्छे । नानाथरी प्रश्न सोध्छे । चेलीबेटी बेचबिखन, बलात्कार र बोक्सी प्रथाका समाचार पढेर आत्तिन्छे । महँगी, बेरोजगारी र सरकारको पारा देखेर क्षुब्ध हुन्छे । त्यसैले हो सायद, संसार बदल्ने हुटहुटी पलाएजस्तो लाग्छ । भन्न त भन्दिन मसित । तर, आमाको मन हो, अन्दाज त हुन्छ ।
हजुरले ‘अप्सनल म्याथ नपढ्नेहरू’ लाई होच्याउनुभएछ सर । मेरी छोरीले ‘अप्सनल म्याथ’ लिइन । त्यसैले, उसलाई ‘कम्पलसरी म्याथ’ को ट्युसन अनिवार्य भन्नुभएछ । ‘कम्पलसरि म्याथ’ मा उति नजान्ने होइन मेरी छोरी ।
एकातिर ‘अप्सनल म्याथ नपढ्नेहरू’ लाई ‘ग्वाँचे–गँवार’ भनियो, अर्कोतिर ‘ट्युसनको व्यापार’ गर्ने मनोदशा प्रकट भयो । त्यही भएर फायर भएकी छे । छोरीलाई त म सम्झाइहाल्छु । तर, हजुरलाई कसले सम्झाउला ? यही चिन्ताले सताएर यो धृष्टता गरेकी ¤ रिसानी माफ होस् ¤
‘संसारमा सबै विषयको आआफ्नै महत्व छ ।’ अरूलाई अर्ती उपदेश बाँड्ने बेला धेरैले यो कुरा दोहो¥याउने गर्छन् । तर, यसलाई उति सिरियस्ली लिँदैनन् । यस्तो गफ दिनु क्लिसे भइसक्यो ।
तर, सरहरूलाई मेरा केही प्रश्न छन् –
गौतम बुद्धले आजको जस्तो विज्ञान र गणित पढ्नुभएन । तर, के समाजबाट दुःख हटाउने उहाँकोे शिक्षाको कुनै अर्थ छैन ? गालिबले आजको जस्तो विज्ञान पढेका थिएनन् । तर, के उनी कच्चा मान्छे थिए ? न्युटनलाई समाज विज्ञानमा रुचि थिएन । तर, के उनको गणित काम लाग्दैन ? अथवा, चाल्र्स डार्विनलाई गणितमा रुचि थिएन । तर, के उनको क्रमविकासको सिद्धान्त अर्थहीन भयो ? मारिया मन्टेसोरी र पाउलो फ्रेरेलाई गणितसँग लिनुदिनु थिएन । तर, के तिनको शिक्षाशास्त्रको कुनै मूल्य छैन ? चार्ली च्याप्लिनलाई ‘साइन ठिटा, कस बिटा’ सँग मतलब थिएन । तर, हिटलरविरुद्ध उनले जस्तो कसैले बोल्न सक्यो ? रवीन्द्रनाथ टेगोर १० कक्षामा ७ पल्ट फेल भए । तर, के त्यसले उनलाई विश्वकवि हुनबाट रोक्यो ?
जुनसुकै क्षेत्रमा जाने विद्यार्थी भए पनि उसलाई ‘अविदितको यात्रा’ मा जान उत्प्रेरित गर्नु असल शिक्षकको परिचय हो । सरहरूबाट यस्तो प्रेरणा निःसृत हुन नसकेको देख्दा दुःख लाग्यो ।
त्यसो त म पनि विज्ञानकी शिक्षिका थिएँ । विज्ञान पढाउने शिक्षकले नाडीमा रातो–पहेँलो डोरो, घाँटीमा मन्दिरको माला, निधारमा धर्के टीका र तालुमा टुप्पी पालेको देख्दा मलाई पनि दिक्क लाग्थ्यो ।
विज्ञान पढाउने धेरैथरी ‘गुरु’/‘गुर्जु’ देखेकी छु ।
पत्नी मिन्स हुँदा धर्म जाने डरले नमिठो खाना पकाउन अघि सर्ने विज्ञानका प्राध्यापकलाई देखेकी छु । शौचालय पस्ने बेला जनै कानमा चढाउने गणितका शिक्षक देखेकी छु । दिउँसो स्कूलमा विज्ञान पढाउने र साँझबिहान चिना लेख्ने† कर्मकाण्ड गराउने शिक्षक पनि देखेकी छु । मेरी एउटी सहकर्मी हुनुहुन्थ्यो । बिहान मन्दिरमा घण्टी बजाउने, दिउँसो विज्ञान पढाउने र साँझ भजन गाउने गर्नुहुन्थ्यो । यस्ता अन्धविश्वासी शिक्षक देखेर मलाई पनि डर लाग्छ ।
विज्ञान त संसारलाई जस्तो छ त्यस्तै हेर्ने चस्मा हो । वैज्ञानिक चेत भएका शिक्षकको मद्दतले विद्यार्थीले आफ्नो त्यो चस्मा चिल्याउँछन् । संसारलाई जस्ताको तस्तै हेर्ने तरिका सिक्छन् । प्रकृतिप्रति जिम्मेवार बन्न सिक्छन् ।
कोही समाजप्रति जिम्मेवार बन्न चाहन्छ भने त्यसमा आपत्ति किन ? आखिर, समाज विज्ञान पनि विज्ञान नै हो । फ्रान्सेली क्रान्तिताका एक गणितज्ञले भनेका थिए – मानव मुक्ति नै समाज विज्ञानको मूल उद्देश्य हो । त्यो मुक्तिको अर्थ थियो – गरिबी, अभाव र असमानताबाट मुक्ति ।
भाषा विज्ञानलाई पनि हामीकहाँ समाज विज्ञानमा राख्ने चलन छ ।
एक दिन छोरीहरू आपसमा कुरा गर्दै थिए । ठूलीले भनी, “लेक्चरर रे, ‘मेरी छोरी अमेरिकामा सेटल भई’ भन्दै लौकाजत्रो नाक बनाउनुहुन्छ । ‘ब्रिलियन्ट विद्यार्थी यहाँ बस्ने नै होइन; तिमीहरूले पनि इङलिस राम्रो बनाउनु है’ भन्नुहुन्छ ।” खाना पकाउँदै थिएँ । छोरीको कुरा धेरै बेर मनमा खेलिरह्यो । सरकारी रासनपानी खाने सबै शिक्षक उहाँजस्तै कन्सल्टेन्सीको एजेन्ट बन्न थालेपछि के होला ? दुःख लाग्यो ।
सबैले विज्ञानको मर्म बुझेका हुन्छन्, वैज्ञानिक चेत तिखारेका हुन्छन् वा विज्ञानसम्मत जीवन पद्धति अपनाएका हुन्छन् भन्ने छैन । मनमनै ‘मै लाऊँ, मै खाऊँ’ भन्ने र बाहिर आधुनिकताको स्वाङ पार्ने पनि धेरै हुन्छन् । समाज विज्ञान होस् वा प्रकृति विज्ञान; कलाकारिता होस् वा साहित्य† तुच्छता र छुद्रता सर्वत्र घुसेको छ । भरसक धेरै पैसा थुपार्ने, जथाभावी हसुर्ने र भोगविलासमा चुर्लुम्म डुब्ने लालस पढेलेखेकैहरूमा बढी पाइन्छ ।
कस्तो शिक्षा दिन खोज्दै छौँ हामी नयाँ पुस्तालाई ? सबै सर–म्यामलाई यो आमाको बिन्ती छ – झर्को नमानी सोचिदिनुहोला ।
समाजबाट अत्तासिएकी छात्राकी
एक पीडित आमा ।
Leave a Reply