भर्खरै :

जीवन : एउटा मिठो भ्रम

जीवन : एउटा मिठो भ्रम

हामी यस्ता विवेकी मान्छे हौँ,
जसलाई सत्यको तीतो औषधिभन्दा
झूटको गुलियो विष नै मन पर्छ,
वास्तविक जीवनको उकुसमुकुसभन्दा
मञ्चको कृत्रिम अभिनय नै मज्जा लाग्छ,
अनि, नदीको गहिराइमा पसेर मोती खोज्नुभन्दा
किनारको सतहमा उभिएर पानी छ्याप्नु नै सजिलो लाग्छ ।

हो, हामी साँच्चै अनौठा छौँ,
हामीलाई सधैँ उल्टो बाटो हिँड्नुमै
सफलताको आभास हुन्छ !
आफ्नै डम्फू बजाउनुमा नै खास हुन्छ
त्यसैले त,
फूल त अरूका बगैँचामा पनि फुल्छन्,
तर हामीलाई आफ्नै गमलाको फूल मात्र सुगन्धित लाग्छ
बालबच्चा त छिमेकीका पनि बाठा र छरिता हुन्छन्,
तर पालुवामै तीनपाते हुने आजकलको जमानामा
आफ्नो छोराछोरी मात्रै बुद्ध र सीता लाग्छन् ।

हामी तिनै भावकु मान्छे हौँ,
जो सडकमा गुडेका सयौँ गाडीहरूमध्ये
आफ्नै गाडीलाई मात्र सबैभन्दा अगाडि देख्छौँ,
जब एउटा गाडीलाई उछिनेर अघि बढ्छौँ
तब हामीलाई लाग्छ,
अर्को गाडी नगुडेर यात्रुहरूको ‘धक्का’ मा छ
तर,
देशकै सबभन्दा तीव्र वेग हाम्रै गाडीको चक्कामा छ ।

हामी अझ यतिसम्म बेखबर छौँ कि,
जब समाचारमा सुन्छौँ कसैको मृत्युको खबर,
जब बाटोमा देख्छौँ कसैको मलामी,
हामी चुरोटको धुवाँ उडाउँदै सोच्छौँ,
“मर्ने त अरूहरू पो हुन्,
म त कुनै अमर लोकको बासिन्दा हुँ,
म त कहिल्यै गल्ती गर्दै गर्दिनँ
म त जीवनमा कहिल्यै मर्दै मर्दिनँ…!”

हामी सधैँ छाया पछ्याइरहने अनौठा यात्री हौँ,
जो हातमा बालुवा मुट्ठी पार्र्छाैँ र सोच्छौँ,
“मैले त नदीको बगर नै कब्जा गरेँ !”
हामी खुट्टामा साङ्लो बाँधेर चोकमा उभिन्छौँ
र खुब कराउँछौँ,
“हेर,मैले यो देशको हृदयमा स्वतन्त्रताको प्राण भरेँ !”

अन्ततः,
हामीले विपना भनेर अँगालेको दृश्य त,
अन्धकारले कोरेको एउटा कालो चित्र पो रहेछ,
हामीले जिन्दगी भनेर जिउँदै आएको त,
मृगतृष्णाको मरुभूमिमा रचिएको
एउटा मीठो, गहिरो र भ्रामक नाटक पो रहेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *