भर्खरै :

डा.अरुणा उप्रेती भन्नुहुन्छ

मोहीको महिमा
मोहीको महत्वको विषयमा योग रत्नाकर नामक ग्रन्थमा लेखिएको एउटा श्लोकको आशय यस्तो छ,‘यदि कैलाशमा मोही (छाछ, वा मठ्ठा) हुँदो हो त शिवजीको कण्ठ विष रोक्नाको कारणले नीलो हुँदैनथ्यो । वैकुण्ठमा मोही हुँदो हो त विष्णुको शरीर कालो हुँदैनथ्यो होला । देवराज इन्द्र सौन्दर्यविहीन हुँदैनथे होला । गणेशजीको पेट त्यति ठूलो हुँदैनथ्यो होला ।’
यस श्लोकमा व्यक्त विचारबाट के अर्थ लाग्छ भने शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन मोहीले ठूलो भूमिका खेल्छ । कुनै व्यक्ति स्वस्थ छ भने उसको सौन्दर्य त्यसै नै बढ्छ । यसैगरी आयुर्वेदको अर्को एउटा ग्रन्थमा लेखिएको छ, ‘मोहीको नियमित सेवन गर्ने व्यक्ति रोगी हुँदैन । जसरी स्वर्गमा देवताहरूका लागि अमृत छ, त्यसैगरी मनुष्यका लागि मोहीको प्रयोग सुखदायी हुन्छ ।’
दही र मोहीलाई पहाड तथा तराईका गाउँ–घरमा हिजो पनि भोजनको प्रमुख वस्तु मानिन्थ्यो भने पाहुनालाई सत्कार गर्दा दही खुवाउने चलन अझै पनि छँदैछ । दही–मोही स्वादको हिसाबले मात्र नभएर स्वस्थ रहन र विभिन्न किसिमका समस्याहरूलाई समाधान गर्न उपयोगी मानिन्छन् । दहीमा पानी हालेर मलेर नौनी निकालेपछि मोही बन्छ । तराईतिर मोहीलाई ‘छाछ’ भनिन्छ । कतिपय ठाउँमा यसलाई ‘गौरस’ पनि भनिन्छ । आर्युवेदिक विज्ञानका साथै आधुनिक विज्ञानमा पनि दहीको महत्वको बारेमा स्पष्ट व्याख्या गरिएको छ । दूधबाट दही बन्दा एक विशेष प्रकारका कीटाणु पैदा हुन्छन्, जसले हाम्रो स्वास्थ्यका लागि निकै महत्व राख्छन् । बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाहरूको हाडको लागि नभई नहुने क्याल्सियम दहीमा पाइन्छ । क्याल्सियमको महत्व हाडको लागि अति नै हुन्छ । उमेर बढ्दै जाँदा हाडको घनत्व कम हुँदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ । विशेषगरी महिनावारी बन्द भएका महिलाहरूमा यो समस्या बढी हुन्छ । यस समस्याबाट बच्नका लागि क्याल्सियमको अति नै महत्व छ । क्याल्सियमयुक्त भोजनको प्रयोग यस रोगबाट बच्ने एउटा राम्रो उपाय हो । दही र मोहीमा हुने क्याल्सियमले कुपोषित बच्चा तथा बिरामी भएर तङ्ग्रिन सुरू गरेका बालबालिका सबैका लागि विशेष महत्व राख्छ ।
दही दूधभन्दा धेरै सजिलोसँग पच्छ । दूध खान मन नलाग्ने वा कतिपय अवस्थामा दूध नपच्ने वयस्क व्यक्ति र बच्चाहरूका लागि पनि दही एउटा उत्तम भोजन हो । दूधबाट दही बन्दा विशेष प्रकारका लाभदायक कीटाणुहरू उत्पन्न हुन्छन् । ती कीटाणुहरूले पेटमा रहेका हानिकारक कीटाणुलाई नष्ट गर्न मद्दत गर्छन् । कतिपय व्यक्तिहरूलाई एण्टिबायोटिकको प्रयोग गर्दा दिसा–पखाला लाग्ने गर्छ ।
यसबाट बच्न दहीको प्रयोग अत्यन्त लाभदायक हुन्छ । दही पखाला रोक्नुका साथै कब्जियत खुलाउन पनि उपयोगी सिद्ध भएको छ ।
तुलसीको पात
हजुरआमा रुघाखोकी लाग्दा बेसारपानीमा तुलसीका पात उमालेर ख्वाउनुहुन्थ्यो । अहिलेसम्म मलाई पनि यही बानी लागेको छ । रुघाखोकी त्यसरी निको हुन्छ भनेर जान्दाजान्दै पनि अरूलाई औषधिका रूपमा सिफारिश गर्न मलाई लाज लाग्थ्यो । तर, जब विश्व स्वास्थ्य सङ्गठनले नै वनस्पतिको औषधीय गुणबारे बताउन थाल्यो, अनि भने मलाई पनि भएका ज्ञान बाँड्ने आँट पलाएको छ ।
मेरो बिहान तुलसीको दुई पत्ता चपाएर सुरू हुन्छ । घरमा घाँटी दुख्यो, रुघा लाग्यो भने तुलसी नै पहिलो औषधि बन्ने गरेको छ । म यात्रामा निस्कँदा तुलसीको सुकाएको पत्ता बोक्न बिर्सन्न ।
हिजो–आज बजारमा तुलसीको चिया देख्छु । घरको तुलसीको बोट वास्ता नगर्नेहरूले पनि तुलसीको चिया चाहिं किन्दा रहेछन् । यसले तुलसीको व्यापारीकरण भएको देखाउँछ । व्यापारीकरणले प्रयोगसँगै मूल्य पनि बढाउँछ । विस्तारै मानिसले तुलसीको उपादेयता बुझ्न थालेका छन् ।
तुलसीजस्तै करी पत्ता अर्थात् मीठो नीम श्रीलड्ढा र दक्षिण भारतीय खानामा अत्यावश्यक मानिन्छ । साम्बर बनाउँदा करी पत्ताले खानामा स्वादमात्र होइन पौष्टिक तत्व पनि थप्छ । करी पत्ता हाम्रै तराईमा पनि जताततै पाइन्छ, तर स्थानीय समुदायले त्यसको फाइदाबारे खासै थाहा पाएका छैनन् । करी पत्ताको प्रयोगले भिटामिन ए सहजै प्राप्त हुन्छ, साथै यसमा रहेको रेसादार पदार्थले कब्जियत हटाउन मद्दत गर्छ । यसलाई धनियाँसँग पिसेर खानेहरू पनि छन् ।
कोलड्रिङ्क्स होइन, कागती पानी
गर्मीसँगै शरीरलाई मनग्ये पानी चाहिन्छ । ठीक यही बेला अस्वस्थकर अनि महँगो चिसो पेय पदार्थको बिक्री पनि बढ्छ । यस्ता पेयपदार्थले हड्डी कमजोर बनाउँछन् । त्यसो भए गर्मीमा असाध्यै तिर्खा लाग्दा के खाने ? प्रश्न हुनसक्छ । ‘कागतीको सर्वत’ सबैभन्दा प्रभावकारी उत्तर यही हो । सर्वतलाई हामी गर्मी वा जाडो, तातो वा चिसो जेमा पनि मिलाएर खान सक्छौं ।
म कागतीलाई ‘औषधिको डल्लो’ भन्छु र दिनहुँ कमसेकम दुई वटा कागतीलाई चिया, सर्बत, दाल आदिमा मिलाएर खाने गर्छ ।’
कागतीमा भिटामिन सी पाइन्छ । यो भिटामिनले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । कागतीको त्यही शक्तिलाई चिनेर नै हुनुपर्छ, हाम्रा पुर्खाले गर्मी सुरू हुने अक्षय तृतीयामा कागतीको सर्वत र जौको सातु खाने चलन चलाएका थिए । गर्मीमा कागतीसँग सातु खाँदा विभिन्न खाले पेटको बिमारबाट बच्न सकिन्छ । तर अचेल अक्षय तृतीयामा प्याकेटमा पाइने फलफूलको महँगो र हानिकारक रस, चिसो पेयपदार्थ प्रयोग गरिन्छ । यसले संस्कृति नष्टमात्र गर्दैन, स्वास्थ्य पनि बिगार्छ ।
कागतीको महत्व वैद्यहरूले पनि बुझेकै हुनाले भनेका रहेछन्, ‘कागती र अदुवा दिनदिनै खानेको घरमा रोगले प्रवेश पाउँदैन ।’
नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले गरेको एक अध्ययनले कागतीले हैजाको कीटाणु वृद्धि रोक्ने निष्कर्ष निकालेको छ । तर, यस्तो उपयोगी कुराको प्रचार हुन सकेन । कागतीमा रहेको भिटामिन सीले भोजनको लौहतत्व सोस्न मद्दत गर्छ ।
पत्रु खानाले नसर्ने रोग
नेपालमा अहिले ०.४ प्रतिशत व्यक्तिमात्र नसर्ने रोगको खतराबाट मुक्त रहेको स्वास्थ्य मन्त्रालयको अध्ययनले देखाएको छ अर्थात् ९९ प्रतिशत नेपाली कुनै न कुनै नसर्ने रोगको खतरामा छन् । सानो स्याम्पल साइजमा गरिएको सो अध्ययनको तथ्याङ्कले पूरा देशको प्रतिनिधित्व नगर्ला, तर यसले स्थितिको गम्भीरता भने प्रस्ट्याउँछ । चुरोट, सुर्ती, जङ्क फूड, चिनी, तारेका खानासँगै तनाव, शारीरिक निष्क्रियता बढेको बढ्यै छ । यसले गर्दा रगतमा बोसो, रक्तचाप, मधुमेह आदि पनि बढेको बढ्यै छन् । बढी बोसोयुक्त र गुलियो पदार्थ मुटुका लागि शत्रु नै हुन् ।
विडम्बना के छ भने हृदयघात, उच्च रक्तचाप, मधुमेह भएर अस्पताल भर्ना भएका बिरामी कुरुवा र चिकित्साकर्मी नै अस्पतालको क्यान्टिनमा कोकाकोला, पेप्सिकोला आदि पेयसँग चाउचाउ, केक, दुनोट लगायतका पत्रु खाना खाइरहेका देखिन्छन् । यस्तो दृश्य के सरकारी, के निजी सबै अस्पतालमा देखिन्छ । यस्तो पत्रु खानाले रगतमा खराब बोसो बढाउँछ । मुटु रोग विशेषज्ञहरूका अनुसार, जँचाउन आउनेमध्ये ६६ प्रतिशतको रगतमा खराब बोसो बढेको छ । त्यो भनेको खतराको घण्टी हो । जब अस्पतालमै यो अवस्था छ भने पोषणबारे अरू कसले दिने जानकारी ?
अहिलेका युवालाई मुटुको स्वास्थ्य र खानपिनको प्रत्यक्ष सम्बन्ध छ भन्ने सायद थाहै छैन । अहिले मोज गरेर पछि देखाजाएगा भन्ने मानसिकताले गाँजेको छ, अहिलेको युवा पुस्तालाई ।
मुटुको स्वास्थ्य नराम्रो भएपछि यसले मृगौला पनि समस्या पार्छ । शारीरिक अन्य अ· पनि कमजोर हुँदै जान्छन् । उच्च रक्तचाप भएपछि मुटुमा बढी दबाब पर्छ । अहिले रक्तचापको लागि औषधिहरू पनि निस्केका छन् । तिनले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत त गर्छन् तर जीवनशैली र खानपान बदलिएन भने केवल औषधिले समस्या समाधान गर्नसक्दैन भन्ने कुरा बुझ्नु त्यति गाह्रो कुरा त होइन ।
अहिलेका युवाले एकछिनको मोजमस्तीमा आफ्नो स्वास्थ्यलाई र जीवन नै खतरामा पारेका छन् तर युवायुवती अरुका कुरा सुन्दैनन् । ‘म सबै कुरा गर्न सक्छु, म सक्षम हुँ, मलाई कसैको उपदेश आवश्यक छैन’ भन्ने भावना प्रायः युवा पुस्तामा देखिन्छ । विभिन्न विवाह, भोज र पार्टीमा युवक–युवतीले पिएको चिसो पेय र जथाभावी खाएको देखेर युवा पुस्ताको स्वास्थ्य पछि के होला भन्ने विचार भइरहन्छ ।
‘बिहान के खाएर निस्कनुहुन्छ ?’
‘बिहान के खाएर निस्कनुभयो ?’ भनेर सोधिंदा प्रायः मेरो उत्तर हुन्छ, ‘बेलुका बाँकी रहेको भात, रोटी, तरकारी, खिचडी वा चनाको सातु ।’ यो सुनेर धेरैजसोले मुख बिगार्छन् । कतिले मुखै फोरेर भन्छन्, ‘बासी खाना पनि खाएर हिंड्ने हो ?’ तर, बजारको बिस्कुट, चाउचाउ, जेरी, स्वारी ताजा हुने अनि बेलुकाको खाना बिहान तताएर खाँदा बासी हुने कुरा म मान्दिनँ। जापानमा काम गरेका एक जना नेपालीले मलाई सुनाएका थिए, ‘हामी बजारमा एक दिन बासी फलफूल किन्थ्यौं । एक दिन बासी हुँदा फलफूल अखाद्य हुँदैन, तर जापानीहरू ताजै खोज्छन् । त्यसैले, यस्ता फलफूल सस्तोमा बेचिन्छ । यसरी सस्तो फलफूल र खाना किनेर मैले वर्षमा करीब रु.२ लाख बचत गरें ।’
खाना फाल्नु बडप्प होइन
हामी १० जना पाहुना छन् भने १५ जनालाई पुग्ने परिकार पकाउँछौं, अरू पनि आइहाल्छन् कि भनेर । तर, बाँकी पाँच जनालाई पकाएको खाना खेर नै जान्छ । १० जना पाहुना बोलाउँदा ७–८ जनालाई पुग्ने खाना पकाउने हो भने धन, समय, ग्याँस सबैको खर्च जोगिन्छ । आजकल भोजभतेरमा पहिला नै पेयका साथ विभिन्न किसिमका ‘स्न्याक्स’ दिइने हुनाले सबैको पेट भरिसकेको हुन्छ । अनि खाना खाँदा धेरै लिएर आधा फालिन्छ, मानौं धेरै खाना फाल्नु भनेको बडप्पनको प्रतीक हो ।
हामीलाई यसरी खाना फ्याँक्दा ‘अरूले के भन्लान्’ भन्ने चिन्ता पनि हुँदैन । हाम्रा बालबालिका हुन् वा युवा–युवती, उनीहरू बिल्कुलै बेपर्वाहका साथ खाना फालिरहेका हुन्छन् । उनीहरूलाई खाना बनाउँदा लागेको श्रम र पैसाबारे सिकाइएकै हुँदैन । उनीहरूलाई नेपालमा आफूजस्ता धेरै बालबालिका र युवा भोको पेट बस्न बाध्य छन् भनेर बताइएको छैन । मेरी हजुरआमाले मलाई ‘अन्न भनेको भगवान हुन् यिनको अपमान गर्नुहुँदैन’ भनेर सिकाउनुभयो । त्यो सिकाइले मलाई अन्नप्रति आजीवन संवेदनशील बनायो ।
आलसको कमाल
प्रकृतिले दिएको अति राम्रो उपहार हो – आलस । मधेसतिर यसलाई ‘अल्सी’ भनिन्छ । नेपालमा प्रायः यसको महत्व त्यति थाहा छैन । यदि आलसको पोषण तत्व र औषधि गुणबारे छलफल गर्ने हो भने सायद हामीमध्ये कमैलाई विश्वास लाग्छ कि हाम्रो हातमा यस्तो महत्वपूर्ण बिरुवा छ । आलसमा पाइने एउटा महत्वपूर्ण तत्व ओमेगा प्याट्टी एसिड हो, जुन माछामा पाइन्छ र महँगो पैसा तिरेर खाइन्छ । तर सस्तोमा नै त्यो एसिड आलसमा पाइन्छ भन्ने हामीलाई थाहा छैन । आलसको अर्को विशेषता भनेको यसमा भिटामिन बी पर्याप्त मात्रामा हुन्छ । त्यसैगरी सूक्ष्म पौष्टिक तत्व म्याग्नेसियम पनि पर्याप्त हुन्छ । १०० ग्राम आलसमा प्रोटिन १८ प्रतिशत हुन्छ । २७.३ ग्राम रेशादार पदार्थ पाइन्छ । रेशादार पदार्थले कब्जियत हटाउन, मोटोपन घटाउन र उच्च रक्तचाप कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । क्याल्सियम, जिन्क, म्याग्नेसियम आदिले गर्दा यो पोषणयुक्त हुन्छ ।
सिस्नो खाए बुद्धि आउँछ
‘सिस्नो खालास् नि’, ‘सिस्नोले हानेपछि बुद्धि आउला नि’ भन्नेजस्ता शब्द दण्ड दिनका लागि सिस्नोपानी लगाउने र दुख्ने कुरा त हामीले बचपनमा अनुभव गरेकै कुरा हो । तर त्यही सिस्नो खाएर स्वास्थ्य राम्रो हुन्छ भन्ने तथ्यचाहिँ हामीमध्ये कमैलाई थाहा छ । हेपिएर बसेको १०० ग्राम सिस्नोमा झण्डै ३३ ग्राम प्रोटिन र ३७ ग्राम कार्बोहाइडे्ररट पाइन्छ । साथै सिस्नोमा भिटामिन ए, पोटासियम र क्याल्सियम पनि पाइन्छ ।
चरिकोटमा सिस्नोको धुलो बनाएर व्यापार पनि गरिन्छ । त्यहाँबाट ल्याउने कोसेलीमध्ये सिस्नोको धुलो पनि एक हा े। सिस्नोको धुलोलाई सुपमा हालेर, दाल, तरकारी आदिमा हालेर पनि खान सकिन्छ । यसरी खाँदा विभिन्न किसिमका सूक्ष्म पोषक तत्व पर्याप्त पाइन्छन् ।
आलुमा छ कुरा
‘जाँचमा आलु खायो’ भन्यो भने असफल भयो भन्ने अर्थ लाग्छ । ‘केही खान नपाए आलु खाएर बाँच्नुपरेको छ’ भन्दा खाद्य सुरक्षा छैन भन्ने बुझिन्छ । यस्ता शब्दहरूबाट आलुलाई अपहेलना गरेको देखिन्छ, हाम्रो समाजले । तर अर्कोतिर ‘अड्ढल चिप्स’, ‘फ्रन्च फ्राई’ जस्ता पोषणरहित, क्यालोरीमात्र हुने महँगो प्याकेटका खानाचाहिँ धेरैले खान्छन् । अनि तिनीहरूचाहिँ कुपोषणको सिकार बन्छन् । तर आलु एउटा उत्तम खाद्यपदार्थ हो र यसको उपयोगले खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसमा रहेका पोषणहरूले कुपोषण हटाउन मद्दत गर्नसक्छ भन्ने तथ्य प्रायः लुकाइन्छ ।
आलुमा चामलको जस्तै माड हुन्छ । साथै प्रोटिन, विभिन्न प्रकारका खनिज पनि पर्याप्त पाइन्छन् । उसिनेर बोक्रा हटाएको १०० ग्राम आलुमा (३ वटा मध्यम आकारका आलु) कार्बोहाइड्रेट २०.१३ ग्राम, प्रोटिन १.८ ग्राम, क्याल्सियम ५ मि.ग्राम साथै ७७ ग्रामजति पानी पाइन्छ । अन्य सूक्ष्म पोषक जस्तो) फस्फोरस, भिटामिन सी, लौहतत्व पनि पाइन्छ । आलु आफैमा कम चिल्लो हुने हुनाले यसले शरीरको तौल सन्तुलित राख्न पनि मद्दत गर्छ । तर आलुको यो पौष्टिकतालाई कतै पनि विज्ञापन गरिंदैन ।
चकलेट–कुरकुरेले पार्ला फसाद !
सानैदेखि मातापिताले खानेकुरालाई नियन्त्रणमा नराखेको हुनाले अहिले कति जना किशोरकिशोरी मोटोपनको शिकार भएको देखिएको छ । एक जना १५ वर्षका ५ फिट उचाइका किशोर ५४ केजीका थिए । उनका बाजेले माया गरेर उपहार दिने गरेकाले ती किशोरले घरको खाना नखाने र बाहिरको चिसो पेय चकलेट र कुरकुरेमात्र खाने गर्थे । घरमा भात नखाएपछि स्कूल जाँदा ‘भोक लाग्ला खाजा खाउ’ भनेर घरबाट पैसा दिएपछि ती किशोरको खाजा, समोसा, चाउचाउ आदिमात्र हुन्थ्यो । ती किशोरलाई एकदिन छातीको समस्या भएर डाक्टरकहाँ लग्दा डाक्टर त छक्क परेका थिए । ‘यति मोटो तिमी कसरी भयौ ? तिम्रो त तौल तुरुन्त घटाउनुपर्छ । नत्र त तिमीलाई पछि अनेक रोग लाग्छ’ भनेर छातीको समस्याको औषधि दिए । ती किशोरलाई भने डाक्टरसँग एकदम रिस उठ्यो रे ¤’ कारण चाहिँ डाक्टरले उनलाई मोटो भन्यो भनेर । औषधि खाएपछि ती किशोर ठीक त भए तर पत्रु खाना खाइरहेका छन् । किशोरका मातापिताले अब उनको तौल घटाउनु पर्छ भनेर कोक नखाऊ, डाइट कोक खाऊ है भनेको मैले सुनें । ती किशोर त बच्चै थिए, बुद्धि थिएन तर ५० वर्षका आमाबाबुको डाइट कोक खाऊ भनेको बुद्धि देखेर चाहिँ म छक्क परें । डाइट कोक वाहियात कुरा हो भन्ने कुरा तिनलाई कसैले भनेको छैन कि ?
टीभीमा आएका विज्ञापनले प्रभावित भएर किशोर र युवायुवती अहिले अति अस्वस्थकर खाना खान्छन् । पोषणले भरिपूर्ण भएका दाल, भात, रोटी, दहीलाई अवहेलना गर्छन् । अनि बिरामी भएपछि अस्पताल र औषधिको भरमा सम्पूर्ण जीवन बिताउनु पर्दा कति समस्या पर्छ विचार नै गर्दैनन् र अनेक रोग लागेपछि मानसिक तनावमा पर्छन् ।
(विभिन्न मितिमा डा. उप्रेतीले आफ्नो फेसबुक वालमा राख्नुभएको स्टाटस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *