भर्खरै :

आलोचनाको कसीमा प्रजातन्त्रवादी र देशभक्त

– निर्जला
प्रजातन्त्रमा राजनैतिक स्वतन्त्रता र वैचारिक स्वतन्त्रता भएको हुँदा केही व्यक्ति घर–घरमा गएर पूर्वसचिव स्तरका व्यक्तिहरू, संवैधानिक अंगका व्यक्तिहरू तथा परिषद्का प्रमुखहरूलाई ‘अहिले गणतन्त्रमा हाम्रो दलको सदस्य बनौं, चन्दा दिएनौ वा हाम्रो तर्फबाट निर्वाचनमा उम्मेदवार बनेनौ भने ‘राजावादी’ आरोप लाग्ने’ धम्की दिंदैछन् । यसप्रकारको धम्कीलाई अंग्रेजी भाषामा ‘ब्ल्याक मेलिड्ड’ शब्द सुहाउँछ । यस्तो अपराधको कारण पञ्चायती व्यवस्था र राजा महेन्द्रबारे मात्र होइन, देशमा २००७ सालभन्दा पहिले देखिको बेलायत र नेपाल सम्बन्धबारे, प्रजा परिषद्, नेपाली कांग्रेसको स्थापना, कम्युनिष्ट पार्टी स्थापना आदिबारे पनि पुनः समीक्षाको खाँचो छ ।
सत्य के हो भने अंग्रेज र भारतले राजा तथा राणाबीच खेलेका थिए, अन्तर्राष्ट्रिय परिस्थिति (पहिलो र दोस्रो विश्वयुद्धमा समाजवादी देशहरूको उदय र उपस्थिति) ले साम्राज्यवादीहरू अस्थायी रुपले पछि हटे र आफ्ना दलालहरूलाई सक्रिय बनाउँदै गए । भारतमा बेलायती साम्राज्यवादले भारत र पाकिस्तानको विभाजनमा भूमिका खेल्यो र नेपाल, सिक्किम, भुटान र तिब्बतमा आफ्नो हैकम भारतलाई सहभागी बनायो । दक्षिण एसियामा भारतलाई अघि सार्‍यो भने भर्खर स्वतन्त्रता प्राप्त गरेका अफ्रिकी देशहरुमा साम्राज्यवादी देशहरूले सशस्त्र (जातीय) भिडन्तहरू गराउँदै गए, त्यसको आगो अहिलेसम्म निभेको छैन । २००७ सालमा र २०६० सालमा भारतकै सहयोगमा नेपालमा सशस्त्र भिडन्तहरू भए, भारतको प्रभाव पनि नेपालमा बढ्दै गयो र बढ्दै छ ।
नेपाली कांग्रेसले राजासँग सन्तुलन कायम राख्न नसकेको वा भारतको इच्छाअनुसार २०१७ साल पुस १ गते राजाले देशको सत्ता आफ्नो हातमा लियो । नेपाली कांग्रेस र अन्य राजनैतिक दलहरूसमेत विभाजित भयो । राजा र भारतको बीचमा प्रत्यक्ष बेमेलका विषयहरू सतहमा देखा परे–
क) नेपालमा २००७ सालदेखि रहेको भारतीय सैन्य मिसन फिर्ता,
ख) नेपाली बजारमा भारतीय मुद्रा प्रचलन बन्द हुनु,
ग) चीन र अन्य देशहरूसँग मैत्री सम्बन्ध हुनु,
घ) कोदारी राजमार्गको निर्माण,
ङ) रुसबाट जनकपुर चुरोट कारखाना, टर्पेन्टाइन कारखाना, पनौती जलविद्युत गृह, बाल अस्पताल आदि स्थापना,
च) चीनबाट छाला तथा जुत्ता कारखाना, भृकुटी कागज कारखाना, चिनी कारखाना, हेटौंडा कपडा कारखाना, ट्रली बस, इँटा कारखानाहरू आदि स्थापना
छ) बेलायत, भारत, रुस, चीन आदि देशहरूको सहयोगमा पूर्व–पश्चिम राजमार्गको निर्माण । बेलायत एक्लैले विराटनगर–धरान–धनकुटा राजमार्ग निर्माण गर्यो । काठमाडौं–पोखरा राजमार्ग, सुर्खेत राजमार्ग, वीरगञ्ज कृषि औजार कारखाना, सुनकोसी जलविद्युत आदि
ज) भूमिसुधार लागू– मोहियानी हक, धानबालीमा किसानलाई तीन भागको दुई भाग, गहुँ बाली तिर्न नपर्ने, साँवाभन्दा बढी ब्याज तिरिसकेको भए ऋण मिनाहा आदि ।
झ) बहुउद्देश्यीय शिक्षा लागू,
ञ) एकेडेमीको स्थापना र त्रिभुवन विश्वविद्यालयको विकास आदि ।
यदि देशी वा विदेशी मित्र राष्ट्रहरूबाट सहयोग लिएर भौतिक विकास वा एक प्रकारले औद्योगिक क्रान्ति भएको अर्थ लगाउने हो भने राणाशासनमा पनि मित्र राष्ट्र बेलायतको सहयोगमा रक्सौलदेखि अमलेखगञ्ज रेलवे, जयनगर–जनकपुर रेलवे, फर्पिङ र सुन्दरीजल जलविद्युत गृह, तार–टेलिफोन, त्रिचन्द्र कलेज, भैंसेलोटन–काठमाडौ रोप वे, काठमाडौं उपत्यकामा खानेपानी (कलधारा) आदिको बन्दोबस्त गरिएको थियो ।
त्यस्तै २००७ पछि छिमेकी मित्र राष्ट्र भारतले नेपालको पहिलो लामो सडक त्रिभुवन राजपथ बनायो, संरा अमेरिकाको मलेरिया उन्मूलन कार्यले तराईका विभिन्न क्षेत्रलाई स्थानीय जनता र नगर विकासमा सहयोग गर्‍यो, शिक्षाशास्त्र अध्ययनलाई प्रवेश गरायो आदि ।
तर महत्वपूर्ण विषय हो – देशवासीलाई त्यसबारे जानकारी छ, छैन र जनताको समर्थन छ–छैन भन्ने हो । आर्थिक गतिविधि र आर्थिक विकासकै तुलना गर्ने हो भने २०४६ सालदेखि २०६० सालसम्मको प्रजातन्त्रको पुनःस्थापनाकालमा के–कस्ता आर्थिक विकास भयो र गणतन्त्रको २०६० देखि २०७२ सम्ममा के कति प्रगति भयो भन्नेबारे तुलनात्मक अध्ययन गर्नु समिचीन हुनेछ ।
जनताको समर्थनबारे गम्भीर छलफल गर्ने हो भने पञ्चायत कालमा राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत, नगर र गाउँ पञ्चायतहरू थिए । ती पञ्चहरूलाई टीके र नटीके भनी अस्वीकार गर्ने हो भने नेका, एमाले र ‘माओवादी’ कै नेता, कार्यकर्ता र समर्थकहरूबारे धेरै प्रकारका कथा बाहिर आइसकेका छन्, तिनीहरुलाई के भन्ने ? पहिले परिवारवादको आरोप नेका र एमालेको बारेमा मात्रै सुनिन्थ्यो भने अहिले ‘जनयुद्धको परिवारिकरण’ भन्दै एमाओवादीको आन्द्राभुँडी खोलेका छन् ।(नेपाल साप्ताहिक– २३ माघ २०७३)

पहिले परिवारवादको आरोप नेका र एमालेको बारेमा मात्रै सुनिन्थ्यो भने अहिले ‘जनयुद्धको परिवारिकरण’ भन्दै एमाओवादीको आन्द्राभुँडी खोलेका छन् ।

निर्वाचनमा जनताको समर्थनबाटै शासक दलहरू पहिलो, दोस्रो र तेस्रो भएकोलाई सत्य मान्ने हो भने पैसा, सामान (लुगा, टर्चलाइट, मोबाइल), भोजभतेर, प्रशासनयन्त्र र डनको प्रयोग, ठेकेदारहरूको प्रयोग आदिलाई के भन्ने ? जति ठूलो दल संसदमा देखियो उति धेरै अनियमितता र धाँधली गरेको प्रस्ट हुन्छ । एक जना प्रधानमन्त्री त निर्वाचनको मतगणनामा हारेर पनि घोषणमा जिताइएको जगजाहेर छ । तर ती नै दलहरू अहिले थ्रेस होल्ड राख्न बल गर्दैछन् । के निर्वाचनमा धाँधली गर्न सजिलो पार्न, सिद्धान्त र निर्वाचन घोषणापत्र खाली कागजको खोस्टा सावित गर्न थ्रेस होल्ड चाहिने हो ? या प्रजातन्त्र र गणतन्त्र भन्दा राजतन्त्र र निर्दलीयता उपयुक्त भनी प्रष्ट्याउन ? बहुदलीय प्रजातन्त्र भनेको दुई दल वा तीन दलको मात्र हो ? राजनैतिक स्वतन्त्रता, राजनैतिक चिन्तन र प्राज्ञिक छलफलको अर्थ थ्रेस होल्ड हो ? सत्य त्यही हो भनी स्वीकार्न तयार छन् भने हिजो देशमा एकजना राजा थिए, आज तीनजना भए । जनता तीनजना निर्वाचित राजाहरूबाट तेब्बर पीडित छन्, किन नभन्ने ? न्यायपालिका, कार्यकारी क्षेत्र, सेना, प्रहरी, सशस्त्र प्रहरी, विश्वविद्यालय, स्वास्थ्य क्षेत्र आदि सबै क्षेत्रमा न्यायाधीशहरु, सचिवहरु, राजदूतहरु, माथिल्ला अफिसरहरु, उपकूलपति, रेक्टर, रजिष्ट्रार, प्राचार्य, प्राध्यापक र कर्मचारीहरु, डाक्टरहरु आदि सबैमा भागबण्डा छ । बैंक, म्यानपावर कम्पनी अर्थात् जीवनका हरेक क्षेत्रमा जेठा राजा, माहिला राजा र कान्छा राजाको भागबण्डा भन्दा के फरक रह्यो ।

एक जना प्रधानमन्त्री त निर्वाचनको मतगणनामा हारेर पनि घोषणमा जिताइएको जगजाहेर छ । तर ती नै दलहरू अहिले थ्रेस होल्ड राख्न बल गर्दैछन् । के निर्वाचनमा धाँधली गर्न सजिलो पार्न, सिद्धान्त र निर्वाचन घोषणापत्र खाली कागजको खोस्टा सावित गर्न थ्रेस होल्ड चाहिने हो ?

देशमा विदेशी हस्तक्षेपको कुरा गर्ने हो भने यसको निम्ति यही तीन दल नै जिम्मेवार छन् । १० गजामा भारतले पक्की भौतिक निर्माण गर्दा गृहमन्त्री र जिल्ला प्रशासन कहाँ लुकेका थिए होलान्, परराष्ट्र र रक्षा मामिलामा भारतसँग सल्लाह गरेरमात्र निर्णय कसले गर्‍यो, नेपालको सीमाभन्दा ५० किमि भित्रसम्म भारतीय नम्बर प्लेटको यातायातका साधन विना शुल्क आवत–जावत गर्न पाउने सम्झौता गर्ने प्रधानमन्त्री गणतन्त्रवादी को हुन् ? यसरी गम्भीर रुपले घोत्लिएको खण्डमा देश र जनताको अहित गर्ने, प्रजातन्त्रविरोधीहरू ती शासक दलहरू नै ठहरिने छन् । संसद हात उठाउने थलो मात्रै बनेको छ र प्रजातन्त्र तीन दलको नेताको मुखमा कैद छ ।
यी प्रधानमन्त्रीहरूसँग राजा महेन्द्रलाई तुलना गर्दा प्रजातन्त्र र गणतन्त्रका प्रधानमन्त्रीहरु को को कति प्रजातन्त्रवादी छन् र देशभक्त को को हुन् भनी खुट्याउन गार्‍हो हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *