भर्खरै :

स्ववियु चुनावबारे ‘ठूला’ तीन बाहेक विद्यार्थी संगठनहरुको अलग बैठक

काठमाण्डौ, २४ माघ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिंदै गर्दा सोमबार बसेको तेह« विद्यार्थी संगठनहरुको बैठकले त्रिविले ‘प्रमुख’ भनिएका तीन शासक दलका विद्यार्थी संगठनहरुलाई काखी च्यापेर मनोमानी निर्णय गरेकोमा विरोध गरेको छ ।
उनीहरुले त्रिविले माघ १५ बाट भर्ना बन्द गर्ने कुरा सूचना जारी हुनुअगावै तीन विद्यार्थी संगठनलाई चुहाएको र त्यही सूचनाको आधारमा माघ १४ गते मध्यरातसम्म चुनावी प्रयोजनका लागि हजारौं विद्यार्थीहरुको एकमुष्ठ भर्ना गरेकोमा विरोध जनाएका छन् ।
तीन शासक दलका विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेविसङ्घ र अखिल क्रान्तिकारी बाहेकका विद्यार्थी संगठनहरुको बैठकले त्रिविको सिनेट बैठकमा शासक दलका विद्यार्थी संगठनहरुलाई मात्र सहभागी बनाउनु अवैधानिक भएको धारणा बनाएको छ ।
बैठकमा सहभागी अधिकांश विद्यार्थी संगठनहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षधर भए तापनि फागुन १४ गतेको निर्वाचनको लागि तय भएको मिश्रित निर्वाचन प्रणालीलाई स्वीकारेर घोषित मितिको चुनावमा जाने वा नजाने विषयमा एक मत भने बन्न सकेन । बैठकमा सहभागी विद्यार्थी नेताहरुले लामो समयपश्चात हुन लागेको स्ववियु चुनाव नजिकिंदै गर्दा त्रिविले एक पटक पनि सर्वदलीय बैठक समेत बस्न आवश्यक नठान्नु भत्र्सना योग्य भएको बताएका थिए । उनीहरुले यथाशक्य चाँडो सर्वपक्षीय बैठकको माग समेत गरेका छन् । ‘त्रिविले हामीलाई उपेक्षा गरेको छ । तीन संगठनलाई मात्र टाउकामा राखेर चुनाव गरौंला भनेर सोचेको छ । कसरी गर्छ हेरौं ।’एक जना विद्यार्थी नेताले भन्नुभयो ।
‘चुनाव हुने अवस्था छैन । नेविसङ्घभित्रको समस्या समाधान भएको छैन । नेविसङ्घलाई चुनाव सार्नुको दोष कसलाई पन्छाऊ र चुनाव सारौं भएको छ ।’, बैठकअघि नेविसङ्घका अध्यक्ष नैनसिं महरलाई भेटेर आएका विप्लव माओवादीका विद्यार्थी नेता पूर्ण सिंहतर्फ संकेत गर्दै एक जना नेताले भन्नुभयो ।
बैठकमा सहभागी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष नीरज लवजूले स्ववियुको मिति घोषणा भइसकेको अवस्थामा अहिले आएर प्रक्रियाको विषयमा विवाद गर्नुको अर्थ चुनाव हुन नदिनु हुने र फागुन १४ गते निर्वाचन हुन नसके स्ववियु संस्थाको अस्तित्व नै समाप्त हुन सक्ने बताउनुभयो ।
उहाँले स्ववियु चुनाव नहुँदा नेपालको विद्यार्थी आन्दोलन कमजोर भएकाले चुनावबाट कोही पनि टाढा जान नहुने र स्ववियुमा मौलाएको विकृतिको चुनावी अभियानमार्फत विरोध गर्दै जानु पर्ने विचार राख्नुभयो ।

‘फागुन १४ गतेको चुनाव केही दिन त के, एकै दिन मात्र सारे पनि चुनाव नहुने वातावरण बन्ने भएकाले नेक्राविसङ्घ फागुन १४ मा नै चुनाव हुनुपर्नेमा दृढ छ ।’

अध्यक्ष लवजूले स्ववियु र नेपालको विद्यार्थी आन्दोलन जोगाउन नेक्राविसङ्घ स्ववियु चुनावमा जोमिन तयारी गरिरहेको बताउनुभयो ।
‘फागुन १४ गतेको चुनाव केही दिन त के, एकै दिन मात्र सारे पनि चुनाव नहुने वातावरण बन्ने भएकाले नेक्राविसङ्घ फागुन १४ मा नै चुनाव हुनुपर्नेमा दृढ छ ।’, उहाँले भन्नुभयो ।
विप्लव माओवादीसमर्थित अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले फागुन १४ गते कुनै पनि हालतमा चुनाव हुन नदिने र सम्भव भए संयुक्त नभए एक्लै भए पनि क्रियात्मक आन्दोलन थालनी गर्ने विचार राख्नुभयो ।
आफ्नो मातृपार्टी नेकपा (माओवादी) को महाधिवेशन, फर्जी भर्ना खारेजी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने मुद्दाका लागि आफू फागुन १४ गतेको निर्वाचनमा भाग नलिने उहाँको भनाई थियो ।

विप्लव माओवादीसमर्थित अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले फागुन १४ गते कुनै पनि हालतमा चुनाव हुन नदिने र सम्भव भए संयुक्त नभए एक्लै भए पनि क्रियात्मक आन्दोलन थालनी गर्ने विचार राख्नुभयो ।

‘यो देशमा तीन वटा विद्यार्थी संगठनहरुबाहेक पनि विद्यार्थी संगठनहरु छन् भनेर प्रमाणित गर्न पनि फागुन १४ भन्दा एक दिन भए पनि अघि–पछि चुनाव सार्नुपर्ने बैठकमा अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले बताउनुभयो ।
नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष रमेश महत्तोले तीन ‘ठूला’ संगठनहरुको इच्छाअनुसार त्रिविले निर्णय गर्ने अभ्यासको आफ्नो संगठन विपक्षमा रहे पनि चुनावको विरोध गर्ने आफ्नो नीति नभएको बताउनुभयो ।
बैठकमा सहभागी मधेसी विद्यार्थी संगठनहरुमध्ये केहीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु नभएसम्म आफू चुनावमा नजाने बताएका थिए भने केहीले पूर्ण समानुपातिकमा आफ्नो मत यथावत भए पनि स्ववियुको रक्षाको लागि चुनावमा जाने धारणा राखेका थिए ।
राप्रपासमर्थित विद्यार्थी संगठन राप्रविसङ्घले आफ्नो पार्टीको महाधिवेशन यही अवधिमा भएकाले र दुई संगठनबीचको एकीकरण भएकाले आन्तरिक व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले १५ देखि २० दिन चुनाव सार्नुपर्ने विचार राख्नुभयो ।
बैठकमा सहभागी अधिकांश विद्यार्थी संगठनहरुले २८ वर्षको उमेर हदबन्दीको स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *