भर्खरै :

नेक्राकिसङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सफलताको शुभकामना

– विवेक
नेपाल क्रान्तिकारी किसान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन यही माघ २८ र २९ गते सप्तरीको राजविराजमा हुँदैछ । राजविराज नेपालको पहिलो व्यवस्थित नगर हो भने सप्तरी किसान आन्दोलनको इतिहास बोकेको जिल्ला हो । २०२५ सालमा स्थापना भएको नेपाल क्रान्तिकारी किसान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन तराईमा हुनु खुसीको कुरा हो । नेक्राकिसङ्घले औपचारिकताभन्दा किसानहरूको हक हितलाई प्राथमिकतामा राख्दै आयो र राख्दै जानेछ । नेक्राकिसङ्घले किसानहरूको किसान समस्याकोबारे आवाज उठाउनुका साथै नेपालको प्रजातान्त्रिक इतिहासमा महत्वपूर्ण योगदान गरेको छ । तराईका किसानहरूको समस्याबारे संसद र सडकमा निरन्तर आवाज उठाउँदै आएको नेक्राकिसङ्घले यो बेला आफ्नो सम्मेलन स्थल तराईलाई चयन गर्नु आफैमा महत्वपूर्ण हो ।
सप्तरी जिल्ला २००९ सालदेखि २०१३ सालसम्म किसान आन्दोलन अगाडि बढेको जिल्ला हो । त्यतिबेला स्थानीय सामन्तहरूको विरोधमा ‘जाली तमसुक रद्द गर, सेरीलोगी, मगनी, सलामी समाप्त गर’ भन्नेजस्ता ठूल्ठूला आन्दोलनहरू भएका थिए । त्यस आन्दोलनमा भाग लिएका किसान अगुवाहरू कति जीवितै छन्, कतिको निधन भइसकेका होलान् त्यसको लेखाजोखा भएको पाइंदैन । आफ्नो हक अधिकारको निम्ति लड्ने ती क्रान्तिकारी वीर किसान नेताहरूको योगदानलाई सबैले सम्मान गर्नैपर्छ । तराईमा किसान आन्दोलनको भावना क्रमशः कमजोर हुँदै गएको देखिन्छ । किसान आन्दोलनको ठाउँ जातीय, क्षेत्रीयजस्ता साम्प्रदायिक विषयहरूले लिन थालेका छन् । साम्राज्यवादी र विस्तारवादीहरूले तराईमा वर्ग सङ्घर्षको भावनालाई कमजोर पार्न योजनाबद्ध तरिकाले यी विषयहरू उठाएका हुन् । मधेसी दलहरूले मात्रै होइन नेका, एमाले र माओवादीजस्ता शासक पार्टीहरूले समेत निर्वाचन जित्न त्यही साम्प्रदायिक विषयलाई जोड दिंदैछन् ।

किसान आन्दोलनको ठाउँ जातीय, क्षेत्रीयजस्ता साम्प्रदायिक विषयहरूले लिन थालेका छन् । साम्राज्यवादी र विस्तारवादीहरूले तराईमा वर्ग सङ्घर्षको भावनालाई कमजोर पार्न योजनाबद्ध तरिकाले यी विषयहरू उठाएका हुन् ।

वर्ग सङ्घर्षको माध्यमबाट कामदार वर्गले शासन सत्ता कब्जा गर्नु मार्क्सवादको शिक्षा हो । वर्ग सङ्घर्षविना सामन्त र पूँजीवादी शासनसत्ताको अन्त्य सम्भव छैन । निर्वाचनको माध्यमबाट स्थापना भइ हालेछ भने पनि त्यसलाई दीर्घकालसम्म टिकाइ राख्न सकिंदैन । विश्व कम्युनिष्ट आन्दोलनको इतिहास यसरी नै अगाडि बढिरहेको छ । पूँजीवादी निर्वाचनहरूमा क्रान्तिकारीहरूलाई निराशामात्रै हात लाग्छ । निर्वाचन क्रान्तिकारी आन्दोलनलाई कमजोर पार्न शासकहरूले उपयोग गर्छन् । २०१५ सालको आम निर्वाचनमा कम्युनिष्ट पार्टीका उम्मेदवारहरू पराजय भएपछि किसान आन्दोलनका अगुवाहरूमा धैरै निराशा छाएको तत्कालीन किसान आन्दोलनका अगुवाहरू बताउँछन् । तर शान्तिपूर्ण समयमा प्रतिक्रियावादीहरूलाई सजिलै निर्वाचन जित्न नदिन कम्युनिष्ट पार्टीहरूले निर्वाचनलाई जनता सचेत पार्ने अभियानको रुपमा निर्वाचनमा भाग लिने गर्छन् ।
नेपाल मजदुर किसान पार्टीले किसानहरूको बाहुल्यता भएको देशमा समाजवादी क्रान्तिलाई अगाडि बढाउन किसान आन्दोलनलाई अगाडि बढाउन जोड दिंदै आएको हो । तराईमा एमाले र माओवादीजस्ता आफूलाई ठूला कम्युनिष्ट पार्टी दाबी गर्ने दलहरूले किसान आन्दोलनलाई जोड दिएको भए आजको जस्तो क्षेत्रीयता र जातीयताजस्ता प्रश्नहरू उठ्ने थिएन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहितले २०६२।०६३ को आन्दोलनपछि एमाले र माओवादीका नेताहरूसँगको भेटमा पटक–पटक तराईमा किसान आन्दोलन उठाउन जोड दिनुभएको थियो । तर एमाले र माओवादीका नेताहरूले त्यस विषयमा ध्यान दिएनन् । परिणाम अहिले नेपालमा साम्प्रदायिकताको बीउ नराम्ररी झाँगिदैछ । पञ्चायतको अन्त्यपछि पुराना सामन्तहरू बहुदलबादी बन्ने अहिले सङ्घीयताको नाउँमा तिनै सामन्तहरू पुनः स्थापित हुन साम्प्रदायिकतालाई आधार बनाउँदै छन् ।
अहिले तराई अशान्त छ । मधेसी दलहरूको आन्दोलनमा स्थानीय गरिब जनताको कुनै माग छैन । शिक्षा, स्वास्थ्य र रोजगार त्यहाँका जनताको माग हो । ती कुनै पनि विषय आन्दोलनले समेतेको छैन । तराईको अर्को समस्या जमिनको समस्या हो । त्यहाँका किसानहरूले पुस्तौंसम्म जग्गा कमाए पनि तिनीहरूले मोहियानी हक पाएका छैनन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला कमैया मुक्ति घोषणा गरियो । त्यो गरिब किसानहरूको हितमा नभई स्थानीय सामन्तहरूको पक्षमा थियो । तत्कालीन भूमिसम्बन्धी कानुनअनुसार एक वर्ष मुख्य बाली लगाउने किसानले मोहियानी हक पाउँथ्यो । कमैयाहरूलाई वर्षांै काम गरेको जग्गाबाट निस्काशन गरिए । नेपाल क्रान्तिकारी किसान सङ्घले कमैया पनि जोताहा भएकोले तिनीहरूलाई पनि मोहियानी हक दिनुपर्छ भनेर आवाज उठायो । तर शासक दलहरूले हजारौं कर्मैयाहरूलाई मोहियानी हकबाट वञ्चित गरे । कमैया, हरूवा, चरुवा मुक्त त गरियो तर त्यो गरिबहरूलाई मोही हकबाट वञ्चित गर्ने षड्यन्त्र थियो । अहिले त्यो प्रष्ट भइसकेको छ ।
प्रजातन्त्र स्थापना भएको लामो समय भए पनि किसानहरूको समस्या ज्यूँका त्यूँ छन् । ती किसान समस्या क्षेत्र विशेषको समस्या होइन । गरिबी, शोषण हिमाल, पहाड र तराईमा बस्ने सबै किसानहरूको साझा समस्या हो । किसान समस्या कुनै जात विशेषको समस्या नभई वर्गीय समस्या हो । वर्गीय समस्या वर्गीयरुपमै समाधान गर्नुपर्छ भन्नेमा नेक्राकिसङ्घले जोड दिंदै आएको हो ।
नेपाल क्रान्तिकारी किसान सङ्घको राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न कार्यकर्ताहरू जिल्ला जिल्लामा गएर प्रचार गर्दैछन् । किसान सङ्घको गतिविधि जनताबीच पुर्‍याउने यो एक अवसर पनि हो । किसान सङ्घको इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक छ ।
मोहियानी हक सुरक्षाको आन्दोलन, भर्पाइ आन्दोलन, बाली काट्ने आन्दोलनजस्ता आन्दोलनहरू किसान सङ्घको स्थापना कालदेखि गर्दै आयो । किसान आन्दोलनकै परिणाम धेरैजसो किसानहरूको मोहीयानी हक बचेको छ । जग्गाकै कारण अहिले कतिपय किसानहरू करोडपति बनेका छन् । तिनका सन्तानहरूलाई किसान आन्दोलनको इतिहास बुझाउन नसक्दा आजका नयाँ पुस्ताले आफ्नै ‘कर्म’को फल जस्तो गर्दैछन् । अहिले किसानका छोराछारीहरू कति डाक्टर र इन्जिनियर बने । यो स्थिति आउनुमा किसान आन्दोलनको योगदान महत्वपूर्ण छ ।

किसान आन्दोलनको इतिहास बुझाउन नसक्दा आजका नयाँ पुस्ताले आफ्नै ‘कर्म’को फल जस्तो गर्दैछन् । अहिले किसानका छोराछारीहरू कति डाक्टर र इन्जिनियर बने । यो स्थिति आउनुमा किसान आन्दोलनको योगदान महत्वपूर्ण छ ।

आधा जनसङ्ख्या भएको तराइको समस्या समाधान नभएसम्म देशका आधा समस्या समाधान हुँदैन । सिंचाइको बन्दोवस्त नहुनु, नयाँ नयाँ बीउ विजनको व्यवस्था नहुनु, रसायनिक मलको अभावका साथै जमिन जोत्नेको सिद्धान्तको आधारमा भूमि सुधार नहुनु नै त्यहाँको प्रमुख समस्या हो । त्यसको निरन्तर आवाज उठाउने संगठन नेमकिपा हो ।
पञ्चयतकालदेखि अहिलेसम्मका हरेक सरकारहरूमा मधेसी नेताहरू मन्त्री बने तर ती नेताहरूले तराईका जनताको आर्थिक, सांस्कृतिक स्तर उठाउने कोसिस गरेनन् । तराईका अधिकांश जिल्लाहरूका गाउँ बस्तीहरूमा चर्पीको व्यवस्था समेत छैन ।
साम्राज्यवादीहरूले अहिले नेपालको आर्थिक, सांस्कृतिक र राजनीतिमाथि प्रत्यक्ष हस्तक्षेप गरिरहेका छन् । गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत तिनीहरू आफ्नो उद्देश्य पूरा गर्न खोज्दैछन् । अहिलेको स्थितिलाई निरन्तरता दिने हो भने नेपालको अस्तित्वमाथि नै सङ्कट आइपर्ने अवस्था नआउला भन्न सकिन्न ।
अहिले स्थिति जटिल छ । यो स्थितिमा देशभरको किसानहरूको समस्या बुझेर नयाँ पुस्तामा नेमकिपाको झण्डालाई उच्चो राख्ने दायित्व छ । यो दायित्व पूरा गर्न सक्षम युवाहरू तयार हुँदैछन् । दोश्रो राष्ट्रिय सम्मेलनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोश जाँगरलाई मिलाएर अगाडि बढाउन सक्ने सक्षम नेतृत्व चयन गर्ने आशा गरौं । नेक्राकिसङ्घ दोस्रो राष्ट्रिय सम्मेलनको सफलताको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *