भर्खरै :

पढ्ने संस्कृति हराउँदैं गएकोमा चिन्ता व्यक्तः साहित्यकार श्यामल

बुटवल, २ भदौ (रासस) ः राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा बरिष्ठ साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले पछिल्लो पुस्तामा पढ्ने संस्कृति हराउँदैं गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
रुपन्देहीका साहित्यकारसँग आज बुटवलमा अन्तक्र्रिया गर्दै उहाँले भन्नुभयो, “पछिल्लो पुस्तामा स्वदेशी तथा विदेशी साहित्यको अध्ययन नहुनाले नै साहित्य, कला संस्कृतिको अनुसन्धान पछाडि परेको हो ।”
साहित्यकार श्यामलले साहित्यमा प्रतिकहरु निर्माण गर्नुपर्ने प्रतिलिपि तयार भइरहेको जानकारी दिदैं समाजबाट टाढा रहेर कहिलै पनि साहित्य सिर्जना गर्न नसक्ने बताउनुभयो ।
“साहित्य एउटा विशिष्ट कला हो, यसमार्फत समृद्धिको दिशा देखाउन सक्नुपर्छ,” उहाँले भन्नुभयो, “नेपाली साहित्यमा नेपालीपन देखिनु जरुरी छ, अझै पनि नेपाली साहित्यमा नेपालीपन देखिन सकेको छैन ।”
साहित्यकार श्यामलले साहित्यमा नेपालीपनको खोजी गर्न सकियो भने बल्ल नेपाली साहित्य बन्ने बताउँदै पछिल्लो समयमा नेपाली साहित्य बनाउने प्रयत्न भइरहेको धारणा व्यक्त गर्नुभयो ।
“जबरजस्ती अक्षर अक्षर जोडेर सृजना गरिएको साहित्य नेपाली साहित्य हुनै सक्दैन,” उहाँले भन्नुभयो, “गोपालप्रसाद रिमाल, भुपी शेरचन, लक्ष्मीप्रसाद देवकोटा आदिको हरेक रचनामा नेपालीपन भेटिने गरेको छ ।”
साहित्यकार श्यामलले साहित्यमा प्रत्यक्ष राजनीति हाबी भएमा साहित्यप्रति रुचि घट्ने उल्लेख गर्दै वर्षौदेखि रहेको ज्ञान, सीप र अनुभवलाई कलात्मक रुपमा पस्किने खालको साहित्य हुनुपर्नेमा जोड दिनुभयो ।
राससका प्रदेश नं ५ अन्र्तगत कार्यालयहरुको निरीक्षणका लागि आउनुभएका अध्यक्ष श्यामलले हतारको साहित्यको रुपमा रहेको पत्रकारिताले साहित्यिक मार्गदर्शनलाई सधै प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा बरिष्ठ साहित्यकार तथा प्राध्यापक ऋषिराम भुसालले रुपन्देहीको साहित्यिक सङ्घसंस्थाको गतिविधि र सामाजिक रुपान्तरणको आन्दोलनमा साहित्यकारको भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
साहित्यकार एव्म कवि गिरी श्रीसले युवा पुस्ताले साहित्यप्रति त्यति रुचि नदिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
साहित्यकार दलबहादुर गुरुङले अरुहरु जेटको पछाडी दौडिरहेका बेला हामी पेटको पछाडी दौडिनुपर्ने बाध्यताले साहित्यमा खरो रुपमा उत्रिन नसकेको बताउनुभयो ।
डा मुरारी पराजुलीले देशका लागि महत्वपूर्ण दिशानिर्देशन गर्ने खालको साहित्य सृजना हुनुपर्ने बताउँदै साहित्यकार एव्म कवि श्यामलको साहित्यिक यात्रा मुलुककै लागि प्रेरणादायी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *