नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
कुसुम
नेपाल एक स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न देश हो । यो सबै सचेत नागरिकले बुझेका छन् । नेपाललगायत अन्य जुनसुकै स्वतन्त्र देशले आफ्नो अनुकूलतालाई ध्यानमा राखी विश्वको जुनसुकै सार्वभौम देशसँग दुईपक्षीय सम्बन्ध स्थापना गर्ने गर्दछन् । देशको कूटनीतिक सम्बन्धको विषयमा सर्वसाधारण जनताले केही बोलेमा त्यसले खासै महत्व नराख्ला । तर कुनै जिम्मेवार व्यक्ति वा जनताबाट निर्वाचित प्रतिनिधिले दुई देशबीचको सम्बन्धमा खलल पुग्ने गरी कुनै अभिव्यक्ति दियो भने त्यसले छिमेकी देशबीच रहेको भाइचारा सम्बन्धमा तिक्तता ल्याउनुका साथै साम्प्रदायिकता फैलिने सम्भावना त्यत्तिकै रहन्छ ।
नेपाली र भारतीय कामदार जनताबीचको सुमधुर सम्बन्ध इतिहासजत्तिकै पुरानो रहेको घामजत्तिकै छर्ल· छ । तर भारतीय शासक वर्गको नेपाल र नेपाली जनताप्रतिको हेपाहा दृष्टिकोणबारे हरेक सचेत नेपाली नागरिक गम्भीर हुन आवश्यक छ । यदि कसैले देशको सार्वभौमिकता र भूअखण्डतामा आँच पुग्ने गरी अभिव्यक्ति दियो भने त्यो देशद्रोही तथा भारतीय विस्तारवादको दलाल हुनेमा शङ्का छैन ।
२०७५ भदौ ४ गते वीरगञ्जस्थित आशाराम अस्पतालमा गान्धी ग्लोबल फैमली, नेपाल–भारत मानव विकास तथा मैत्री सङ्घ र नेपाल भारत मैत्री जनजागरण अभियानको आयोजनामा भएको निःशुल्क मधुमेह शिविरको उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं. १ का सांसद एवं सङ्घीय समाजवादी फोरम नेपाल, पर्सा जिल्लाका अध्यक्ष प्रदीप यादवले नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्धको चर्चासँगै भेषबहादुर थापाको नेतृत्वमा रहेको नेपाल प्रबुद्ध समूहले नेपाल–भारत सिमामा तारबार लगाउन आवश्यक देखिएको प्रतिवेदन तयार गरी संसदमा पठाएकोमा विरोध जनाउँदै प्रतिवेदन कार्यान्वयनतर्फ अगाडि बढाइए आन्दोलनका गतिविधिहरू अगाडि बढ्ने धम्की दिए । त्यस कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रतिनिधिहरूको पनि सहभागिता थियो ।
एक जना सामान्य नागरिकले आफ्नो खेत–खलिहान सुरक्षित र व्यवस्थित गर्नको लागि चार किल्ला प्रमाणित गराएर आफ्नो जग्गा –जमिन सुरक्षित गर्न मरिहत्ते गर्छ । तर देशको सीमा नियमन गर्ने विषय उठ्नेबित्तिकै सांसदजस्तो जिम्मेवार पदमा बस्नेहरुको टाउको किन दुख्छ !? उनको नियतमाथि सर्वसाधारण जनताले प्रश्न उठाउनु स्वाभाविक हो । नेपालको सिमाना तीनतिर भारतसँग र एकातिर मात्र चीनसँग जोडिएको छ । नेपाल–चीनबीच सिमाना विवाद छैन । तर भारतसँग सिमाना विवाद दिनप्रतिदिन बल्झिंदै गइरहेको कोही कसैबाट लुकेको छैन । नेपाल–भारत खुला सिमानाको कारण आपराधिक गतिविधिहरू दिन दुई गुना, रात चौगुना बढ्दै गइरहेको छ । कालाबजारी, बच्चा अपहरणलगायत आपराधिक गतिविधिहरू बढेसँगै देशको सार्वभौमिकता तथा स्वतन्त्रतामा खलल पुगिरहेको छ । भारतले नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी जग्गा अतिक्रमण गरेको विभिन्न तथ्याङ्कहरूले स्पष्ट पारेको छ । वीरगञ्जको छप्कैयामा पुर्खौंंदेखि खन–जोत गर्दै आएको जग्गा –जमिन भारतले अतिक्रमण गर्दा सांसद यादवले एक शब्द बोल्न नसक्नु उनको दास मानसिकता नभए के हो त ? जसको सीता खान्छ, उसकै गीता गाउँछ भनेजस्तै त होइन ? चुनावमा विस्तारवादी भारतको सहयोग, साथ र समर्थन लिएर चुनाव जितेकोले नै चुपचाप त होइन नभए आफ्नै गाउँ–ठाउँमा भारतीय विस्तारवादले गरेको हस्तक्षेप र उसको गलत नीतिको विरोधमा एक शब्द बोल्न नसक्नुको पछाडि रहस्य के त ?
नेपाल–भारतबीचको खुला सिमाना नियमन गर्नाले नेपाल र भारतबीच रहेको सम्बन्धमा खलल नपुगी सम्बन्ध झन् प्रगाढ हुनेछ । खुला सिमानाको दुरुपयोग गर्दै दुवैतिरका तस्कर तथा अपराधीहरू दिनदहाडै खुलेआम आपराधिक गतिविधिहरूमा संलग्न भएको देखिन्छ । सीमा नियमनले त्यस्ता आपराधिक गतिविधिहरू पूर्णरुपमा बन्द हुनेछ । दुवै देशका सर्वसाधारण जनता त्रासमा बस्नुको सट्टा अमनचयनको सास लिई सुरक्षितसाथ बस्न सक्नेछन् ।
सिमानानजिकै बसेका दुवै देशका सर्वसाधारण जनताले दुःख पाउनुका कारण दुवै देशका शासकको अदुरदर्शिता र अकर्मण्यता नै हो । जिम्मेवार पदमा बस्नेहरूले बोल्न पायो भन्दैमा प्याच्च बोल्ने र बस्न पायो भन्दैमा थ्याच्च बस्ने प्रवृत्ति त्याग्नुपर्छ । देश र जनताको सुरक्षा र भावनामा आँच पुग्ने गरी कुनै गतिविधि भए वा अभिव्यक्ति आए जसरी बारीमा साँढे पसेपछि धपाइन्छ त्यस्तै गरी देश र जनताको हितविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिनेहरूलाई धपाउन जनता बाध्य हुनेछन् ।
Leave a Reply