भर्खरै :

ओलीको ओली भेला

–कुमार बस्नेत, जडीबुटी
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको वंशको भेला भएको समाचार अनलाइन सञ्चारमाध्यमहरूमा पढें । नपाउनेले केरा पायो बोक्रासमेत खायो भन्ने उखान जस्तै ओली थरीले आफ्नो थरका प्रधानमन्त्री के बनेका थिए, सरकारी सम्पत्ति सबै आफ्नै पितापुर्खाको पौरख मानेर लुटपाटमा उत्रिए । सुरक्षाको हिसाबले समेत अति संवेदनशील मानिने प्रधानमन्त्री कार्यालयमा यसरी ओली थरको भएपछि सबैलाई भित्र्याउने काम हुनु कति उचित हो ? के त्यो कार्यक्रम काठमाडांैको कुनै पार्टी प्यालेस वा होटलमा हुन सक्दैनथ्यो ? प्रमको सरकारी निवासमै वंश भेला गरेर प्रधानमन्त्री ओलीले जनतालाई के सन्देश दिन खोजेका हुन् ? सरकारी सम्पत्तिको दुरुपयोग गर्न अरु मन्त्री र आफ्ना पार्टी कार्यकर्तालाई सचेत बनाउने जिम्मेवारी भएका प्रधानमन्त्री स्वयं सरकारी सम्पत्तिमा दुरुपयोग गर्नेमा लाग्दा अब अरु मन्त्री र नेकपाका कार्यकर्ताबाट के आशा गर्न सकिएला ?
प्रम सरकारी निवासमा सो भेला भइरहँदा सञ्चारकर्मीलाई समेत ओली थर नभएका कारण पस्न दिइएको थिएन । त्यो शनिबारको भेला ओली वंशको भारदारी सभा थियो ? राणाशासन सकिएको सात दसक बितिसकेको छ । अझ अर्को जहाँनिया शासनको बीजारोपण हुन लागेको हो ?
केपी ओली ओली भएकै कारण प्रधानमन्त्री भएका होइनन् । उनले सेवा गर्ने जनता सबै ओली पनि पक्कै होइनन् । तब किन ओलीलाई ओली वंशप्रतिको यत्रो मोह ? वास्तवमा ओलीभित्र अझै जीवित र पछिल्लो समयमा चलमलाइरहेको ब्राह्मणवादी चिन्तनको अभिव्यक्ति नै शनिबारको वंश भेला हो । दुईतिहाइको नाममा जे गर्दा पनि सदर मान्ने दम्भको अभिव्यक्ति हो शनिबारको भेला । केपी ओली अरु केही कारणले होइन, उनकै आसेपासे र भाइभारदारका कारण ओरालो लाग्ने सर्वसाधारण जनताको भनाइ शनिबारको वंश भेलाले अझ प्रस्ट बनाइदिएको जस्तो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *