भर्खरै :

के त्रिविलाई ध्वस्तै पार्न खोजिएको हो ?

– प्रकाश
त्रिभुवन विश्वविद्यालय नेपालको जेठो विश्वविद्यालय हो । जसको नामबाट नामकरण गरिएको भए पनि यस विश्वविद्यालयले देशको इज्जत धानिरहेको सत्य हो । तर २०६२÷०६३ को परिवर्तनपछि विश्वविद्यालयमा गरिएको दलीय भागवण्डा र हुँदै आएका खुलमखुला अनियमितता, पक्षपात र ढिलासुस्ती देख्दा कुनै देशी विदेशी स्वार्थ समूहको इसारामा त्रिविलाई ध्वस्तै पार्न खोजिएको त होइन ? भन्ने प्रश्न उब्जेको छ ।
दलीय भागवण्डामा नियुक्त भएका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार, प्राध्यापक र क्याम्पस प्रमुखहरूलाई विश्वविद्यालय राम्रो बनाउनेभन्दा शासक दलका नेताहरूलाई खुसी पार्ने र कार्यकाल कसरी लम्ब्याउने भन्नेमा मात्र ध्यान छ । त्यसैले त्रिविका कक्षा र परीक्षा समयमै सञ्चालन गर्ने, समयमै परीक्षा फल प्रकाशित गर्ने र शीघ्रभन्दा शीघ्र उत्तीर्णहरूलाई मार्कसिट÷ट्रान्सक्रिप्ट उपलब्ध गराउने भन्नेमा कसैको चिन्ता देखिंदैन । यहाँ परीक्षाको अघिल्लो दिन नै परीक्षाको प्रश्नपत्र सार्वजनिक हुन्छ, परीक्षा स्थगित हुन्छ, हजारौं विद्यार्थीको जीवनसित खेलबाड हुन्छ । तर, जिम्मेवारहरू निर्धक्क पदमा असिन भइरहन्छन् । तिनीहरूमाथि कुनै कानुनी सजाय हुँदैन । दुई महिनाभित्र कापी जाँच्ने जिम्मा लिएका परीक्षक प्राध्यापकले ४ महिनामा काम नसकाउँदा पनि कुनै कारबाही हुँदैन । हप्तादिनमा सकाउनुपर्ने काम महिना दिन लगाएर गर्ने कर्मचारी पुरस्कारको हकदार हुन्छन् । विद्यार्थीले सही नम्बर नै भरेको रेष्ट्रिशन नम्बर र परीक्षा सिम्बोल नम्बर र नाम समेत मार्कसिटमा गलत छापिएर आउँछ । त्यो सच्याउन उल्टो विद्यार्थीले शुल्क बुझाएर परीक्षा विभागका हाकिम, कर्मचारीहरूको ज्यूहजुरी गर्नुपर्छ । त्रिवि केन्द्रीय कार्यालयदेखि आ·िक क्याम्पसहरूसम्ममा उजुरी पेटिकाहरू त होलान् । तर परेका उजुरीसम्बन्धी आवश्यक जाँचबुझ गर्ने र सच्याउने तदारुकता अधिकांश ठाउँमा छैन । देशको सबभन्दा ठूलो स्रोतसाधनसम्पन्न र इतिहास बोेकेको विश्वविद्यालयभित्र बेथितिले गर्दा विद्यार्थी निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयमा जान बाध्य भएका छन् । त्रिविको विद्यार्थी सङ्ख्या क्रमशः घट्दै गएको छ । कतै यो शिक्षाको माफिया र दलालहरू सफल हुँदै गएको सङ्केत त होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *