भर्खरै :

‘द काइट रनर’ सानो छलफल

पलिस्था रञ्जितकार
खालीद होसेनीद्वारा सोभियत सङ्घको विघटनपछिको घटनाक्रममा आधारित पुस्तक ‘The Kite Runner’ मा तत्कालीन समय अर्थात् सन् १९७९ मा सोभियत विघटनपछिको तत्कालीन तालिवान आत्यक्रमणलाई कथाको विषयवस्तु बनाएर प्रस्तुत गरिएको छ । सन् २००३ मा प्रकाशित भएको यो पुस्तक अमेरिकी पत्रिका ‘New York Times’ मा दुई वर्षसम्म सबैभन्दा बढी बिक्री हुने पुस्तकको रुपमा स्थापित हुन गयो । समसामयिक जीवनमा धनी र गरिबको दूरी, बालबालिकामा सानै उमेरदेखि उजागृत हुने चेतना, मित्रताको परिभाषा, बाबु र छोराको सम्बन्धलगायतका यावत कुराहरू समाविष्ट भएको पाइन्छ ।
‘द काइट रनर’ ले तत्कालीन समाजमा अफगानिस्तानको धनी र गरिबको भिन्नतालाई अङ्कित गरेको छ । कथाका मुख्य पात्र आमिरबाट कथावस्तु मुखाकृत भएको पाइन्छ । यस अर्थमा आमिरका बाबुले आफ्ना नोकर अलीको पुत्र हसनलाई आफ्नै पुत्र आमिरको समकक्षीको रुपमा राखेर आमिर र हसन दुवैलाई समान माया दर्शाएका हुन्छन् । नोकरको छोरो अरु सबै काममा पूर्ण देखिएकोले हसनलाई अझ बढी महत्व दिन्छन् । नोकरका छोरालाई आफ्ना बाबुले बढी महत्व दिएको भन्ने कुरामा दुःख व्यक्त गरिएको हुन्छ । हसन भने सदैव आफ्ना मालिक आमिर र उनका बुबाप्रति समर्पित हुन्छन् । बर्सेनि अफगानिस्तानका सहरमा हुने चङ्गा उडाउने प्रतियोगितामा मालिक आमिरलाई जिताउन आफू हार्छन् र अन्त्यमा उनको चङ्गा लिन जाँदा आफै गाउँका अन्य केटाहरूको शोषणमा पर्छन् । समय बित्दै जान्छ र आमिरको हसनप्रतिको वितृष्णा चरम सीमामा पुग्छ । त्यसपछि घडी चोरको आरोपमा आमिरले हसनलाई आफ्नो घरबाट निस्कन बाध्य गराउँछन् । तालिवानको आक्रमणबाट आजित भएपछि आमिर र उनका पिता अफगानिस्तान छाडेर अमेरिका जान्छन् । आमिर अमेरिकामा बस्ने क्रममा एउटा कुशल लेखकका रुपमा परिचित हुन पुग्छन् । त्यसपश्चात् एकदिन आफ्नो पिताको मृत्युपश्चात् पुराना साथी रहिम खानको फोनकलमार्फत उनलाई आफ्ना पुराना साथी हसन नोकरका छोरा नभई आफ्नै पिताको नाजायज सन्तान भएको खुलासा हुन्छ । त्यस्तैगरी तालिवानी आक्रमणमा हसनको मृत्यु भएको र हसनको पुत्र सोहरब तालिवानी कब्जामा रहेको खुलासा हुन्छ । आमिर आत्मग्लानी भइसकेका हुन्छन् । आफ्ना पुराना गल्ती सच्याउन र आफ्ना मित्र हसनको ऋण चुकाउन आमिर अफगानिस्तान गएर तालिवानको चङ्गुलबाट सोहरबलाई छुटाएर ल्याउन सफल हुन्छन् र सोहरबलाई धर्मपुत्रको रुपमा पाल्ने निचोड निकाल्छन् ।
‘द काइट रनर’ समाजका पुँजीवादी, धनी र बलवान् भनाउँदाहरूको दम्भ र आत्मबोधको कथा हो । हसनलाई सार्ने उमेरदेखि आफू एउटा नोकरको छोरो भएको आत्मबोध हुन्छ । यस अर्थमा आफू आमिर र उनका बुबाको लागि बफादार हुनुपर्छ भन्ने आदर्शलाई हसनले आत्मसात गरेको पाइन्छ । पुँजीवादी समाज पुँजीवादी आदर्शले भरिएको हुन्छ । अन्ततः यसले धनी जति सबै शिष्ट, सभ्य र बलवान् र गरीब जति सबै बिचौलिया, असभ्य र धनीको दयाको भरमा पालिनुपर्ने जात हुन् भन्ने आदर्श समाजमा स्थापित गर्छ । हसन आमिरका लागि चङ्गा उडाउने प्रतियोगितामा हार्छन्, पिटाइ खान्छन् । यस अर्थमा हसन पुँजीवादी समाजमा पुँजीवादी आदर्शले हीनताबोध भएका गरीबहरूका एक प्रतिनिधि पात्र हुन् ।
पुँजीवादी विचारधाराको अर्को उपज हो, श्रेष्ठता भन्ने कुरा व्यक्तिको रगतमा बग्छ भन्ने आदर्श । आमिर आफू धनी बाबुका पुत्र भएको कुरामा दम्भ गर्छन् । आफूले हसनभन्दा बढी हक लाग्ने भन्ने कुराको मान्यता राख्छन् । तर वास्तविकता छर्लङ्ग भएपछि बल्ल कैयौं वर्षपछि उनलाई आफ्ना साथी हसनको सम्झना हुन्छ । आफ्ना बाबुको साख्खै छोरो हसन हो भन्ने कुराको आत्मबोध भएपछिमात्र आफ्नो पुरानो गल्तीको ग्लानी हुन्छ । समाजको यही विरोधाभासहरूसँग खेल्दै बाल्यकालमा नै आमिर र हसनबीच आफूबारे ग्लानीको अनुभूति भइसकेको र आफ्नो गच्छेअनुसार समाजमा आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुराको आत्मबोध बाल्यकालमा आइसकेको प्रतीत हुन्छ । यस्तो चेतना दिन को जिम्मेवार छ त ? जवाफ सोझै आउँछ ः समाज र सामाजिक परम्परा जसले धनी र गरीबले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुराको ग्लानि गराइरहेको हुन्छ ।
‘द काइट रनर’ ले समाजको संरचना कसरी खडा गराएको हुन्छ भन्ने कुराको स्पष्टीकरण दिएको पाइन्छ । पुँजीवादी व्यवस्थामा मानिसको त्याग, बलिदानलाई भन्दा बढी उसको धन, इज्जत, रवाफ र रगतको नातालाई बढी प्रश्रय दिइन्छ । अफगानिस्तानको तत्कालीन समाजमा पुँजीवादी व्यवस्थापनको चपेटामा परेका ‘हसन’ र ‘अली’ जस्ता पात्रहरू यसका प्रतिनिधिमात्र हुन् । थुप्रै ‘हसन’ र ‘अली’हरू विशुद्ध रुपमा बढ्दो पुँजीवादको चपेटामा परेका छन्, आफ्ना साहुप्रति बफादार भएर अपजस खाएका छन् र यी पात्रहरू आफै विलय भएर गएका छन् । समाजका नाना थरीका सिद्धान्तहरूले मानिसलाई कसरी भिन्नता भित्याउँछ भन्ने कुराको स्पष्टीकरण खालीद हुसेनीको पुस्तक ‘द काइट रनर’ ले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *