भर्खरै :

दण्डहिनताले अपराधमा वृद्धि

सरकारले निर्मला पन्तको हत्यारा खोज्दै गर्दा देशमा कम्तीमा दर्जनभन्दा बढी महिला हिंसा, हत्या र बलात्कारका घटना भए । रौतहटमा दुईजना युवतीमाथि तेजाब फालिंदा एक जनाको निधन भयो । कास्कीमा तीन कक्षामा पढ्ने एक जना बालिकाको बलात्कारपछि ढुङ्गाले किचेर हत्या गरियो । नवलपरासीमा पनि तेजाब हमलामा परी एक जना युवती मरणासन्न अवस्थामा छिन् । निर्मला पन्तकै जिल्ला कञ्चनपुरमै उनको बलात्कारपछिको हत्याकाण्डपछि केही बलात्कारका घटना भएका छन् । तर सरकारले भने अझै पनि पन्तको बलात्कार र हत्याको दोषी को हो, यकिन गर्न सकेको छैन ।
कानुनमा एउटा भनाइ छ, जस्टिस डिलेड इज जस्टिस डिनाइड अर्थात् ढिला न्याय दिनु भनेको अन्याय गर्नु हो । निर्मलाको हत्या भएको दुई महिना नाघिसकेको छ । तर अझै पनि निर्मलामाथि न्याय हुन सकेको छैन अर्थात् निर्मलामाथि अन्याय भएको छ । आजसम्म आइपुग्दा निर्मला व्यक्तिबाट उठेर प्रतीक बनिसकेकी छिन् । महिला हिंसा, हत्या र बलात्कारकी उपमा बनेकी छिन् उनी । उनलाई न्याय दिन नसक्नु भनेको सरकारले उनीजस्ता हजारौं नेपाली चेलीमाथिको अन्यायलाई वैधता दिनु हो ।
अपराधशास्त्रमा एउटा सिद्धान्त छ, दण्डहिनताले समाजमा अपराधको सङ्ख्या बढाउने गर्दछ । निर्मलाको हत्यारालाई राज्यले समयमै दण्ड दिन नसक्दा योबीच अरु पनि जघन्य अपराध भए । लगातारको जनदबाबका कारण निर्मला हत्याकाण्ड दबाउन खोजिएर पनि दबिएन । सरकार स्वयं जनदबाबसामु झुकेर यो घटनाको सत्यतथ्य खोज्न बाध्य भयो । यसका वास्तविक दोषी पहिचान गरी कारबाही गर्नुबाहेक सरकारसँग अर्को विकल्प छैन । तर सरकारको भागीदारी त्यत्तिमा मात्र सीमित छैन । सरकारले दोषीलाई समयमै कारबाहीको दायरामा नल्याउँदा भएका अन्य घटनाको समेत राज्यले जिम्मेवारी लिनुपर्दछ ।
दण्डहिनताका विभिन्न स्रोतहरू हुन्छन् । राज्य र राजनीतिक संरक्षण दण्डहिनताको सबभन्दा प्रधान कारण हो । राज्यका सबै अङ्गमा शासक दलबीचको भागवण्डाका कारण आज कुनै पनि क्षेत्र राजनीतिक पूर्वाग्रहबाट मुक्त हुन सकेको छैन । प्रहरी प्रशासनदेखि सरकारका सबै निकायमा कुनै पनि काम फत्ते गर्न शासक दलको सिफारिस लिएर जानुपर्ने विकृति फैलिएको छ । जागिर पाउनदेखि कलेजमा पढ्नसमेत राजनीतिक शक्तिको आड बोकेर हिंड्नुपर्ने हदसम्म फैलिएको विकृतिका कारण आज न्यायको लागि पनि शासक दलको पाउ मोल्नुपर्ने बाध्यता नेपाली जनतालाई आइलागेको छ ।
एक जना निहत्था छात्राको बलात्कारपछि हत्या हुन्छ र हत्यारा पत्ता लाग्दैन । अनि हत्यारा पत्ता लगाइदिन प्रधानमन्त्री भेट्नुपर्ने अवस्था नै देशको सरकारी निकायमा झाङ्गिएको दण्डहिनताको प्रमाण हो । राज्यको निकायभित्र दण्डहिनता झाङ्गिदा अपराधीहरू उत्साहित बनेका छन् र फेरि फेरि पनि अपराधका लागि हौसिएका छन् । राज्यको निकायमा आफ्नो प्रभाव भएपछि जस्तै अपराध गर्दा पनि उम्कन मिल्ने अवस्थाका कारण आज राज्य जनताको सेवक नभई शोषक निकायमा परिणत भएको छ । हिजो राजाको दरबार, अञ्चलाधीश कार्यालयलाई जसरी जनताले शत्रुतापूर्ण वा भयको आँखाले हेर्ने गर्दथे, त्यसरी नै राज्यको चरित्रका कारण हेर्ने अवस्थामा तात्विक रुपमा भिन्नता आएको छैन ।
सरकारले दण्डहिनतालाई कमजोरीको रुपमा लिनुको सट्टा आफ्नो शक्तिको रुपमा लिंदा देशमा असहिष्णु अपराधका घटना बढिरहेका छन् । आफ्नालाई काखा र अरुलाई पाखा लगाउने सत्तासीनको पक्षपाती चिन्तनका कारण आज सिङ्गो समाज अपराधीकरणतर्फ उन्मुख बन्दै छ ।
निर्मला हत्या काण्डका दोषीलाई समयमै कारबाही गरिएको भए समाजमा अरु अपराधी मनोवृत्ति निरुत्साहित हुनेथियो । अपराधीलाई कारबाही गर्न सरकार असमर्थ बन्दा अपराधी मनोवृत्तिले मलजल पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *