भर्खरै :

राजनीतिक क्रान्ति नभएसम्म आर्थिक समृद्धि असम्भव

 विगोल
कविता, निबन्ध र अनुवाद साहित्यमा कलम चलाएका साहित्यकार बाबुराम पाण्डेको ‘जीवनका पदचापहरू’ दोस्रो निबन्धसङ्ग्रह हो । शिक्षासेवी एवं अन्वेषक पाण्डेको यो चौथो कृति हो । आँखामा नबिझाउने सरल स्वभावका निबन्धकार पाण्डेका निबन्धहरू काल्पनिक छैनन् । आफ्ना जीवनका भोगाइका अनुभव र अनुभूतिहरूको सँगालो नै उनको निबन्धसङ्ग्रह बनेको छ ‘जीवनका पदचापहरू’ ।
सामाजिक, आर्थिक शोषणको अन्त्य गरेर समानता नपाएसम्म शान्ति स्थापना नहुने विचारका पाण्डे एक समाजवादी चिन्तक हुन् । शान्तिको मन्त्र जप्दै विश्वलाई आतङ्कित पार्ने अमेरिकी साम्राज्यवादी देशका शासकहरूको निर्दयतापूर्ण स्वार्थकै कारण विश्वमा द्वन्द्व चर्किरहेको उनी बताउँछन् । विश्वलाई असुरक्षित बनाउने र विश्व शान्तिको चाहनामाथि कुठाराघात गर्ने साम्राज्यवादी र तिनका पिछलग्गूहरूविरुद्ध विश्वका न्यायप्रेमी जनता एकजुट हुनुपर्ने स्वर उनको ‘शान्तिको सन्दर्भ र सूक्ष्म प्रकाश’ निबन्धमा पाइन्छ । समाजमा असमानताको दूरी बढेपछि वर्गीय द्वन्द्व हुने र शोषणबाट अशान्तिको विजारोषण हुने उनको विचारमा माक्र्सवादी चेत भएको देखिन्छ । शोषण अन्त्यका जञ्जीरहरू चुँडाल्नुपर्ने विद्रोही भावनाका पाण्डे वर्गसङ्घर्ष नै शोषण अन्त्यको विकल्प ठान्छन् ।
यात्रा र संस्मरणमा केन्द्रित ‘जीवनका पदचापहरू’ निबन्धमा चितवनका थारु जातिहरूको रहनसहन, चाडपर्व, जीवनमा जस्तोसुकै कठिन जीवन बिताउनु परे पनि सीमापारिको मोहमा फस्न नहुने र आफ्नै मातृभूमिमा पसिना बगाएर जोहो गर्नुपर्ने देशप्रेम विचार उनको निबन्धमा पाइन्छ ।
‘चेपाङ जातिको सङ्क्षिप्त जीवन पद्धति’ निबन्धमा समाजमा अझै अन्धविश्वास र रुढीवाढी परम्परा बाँकी रहेकोमा चिन्ता व्यक्त गरिएको छ । समयको गतिसँगै नवीनतम संस्कृतिको विकास हुनुपर्ने अग्रगामी सोचको चिन्तन उनमा रहेको छ ।
युरोपबाट भारत हुँदै नेपाल प्रवेश गरेको रिक्साको सन्दर्भ कोट्याउँदै रिक्सा सरल, भरपर्दो, सस्तो र ध्वनिरहित भएको हुँदा चितवनमा रिक्सा व्यवसाय अद्यापि चलिरहेको उल्लेख गरिएको छ । चालक मजदुरहरू रुखोे, अभद्र होइन शिष्ट, सभ्य इमानदार र विश्वासिलो हुनुपर्ने उनको मात्र होइन सबै यात्रुहरूकै इच्छा हुन्छ ।
चितवन र नवलपुरका थारुहरूको भाषा, धर्म, संस्कृति, रहनसहन, रीतिरिवाज, चाडपर्व, विवाह संस्कार, जात्रा, खेतीपाती आदिबारे आफूले थारु समाजमा बिताउँदाका क्षणहरू पनि उनले आफ्नो निबन्धको विषयवस्तु बनाएका छन् ।
विदेशिएका युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिन देशमा उद्योगधन्दा, कलकारखाना खोल्नुपर्ने, कृषि व्यवसायमा आधुनिकीकरण गरी उत्पादन बढाउनुपर्ने, वृद्धाहरूको जीवन सुनिश्चित बनाउन दिवा सेवा केन्द्रको स्थापना गर्नुपर्ने, ज्येष्ठ नागरिकहरूको आदर–सम्मान गर्नुपर्ने, वृद्धाश्रम खोली खानपिन, हेरविचार, स्वास्थ्योपचारको व्यवस्था गर्नुपर्ने खाँचो औल्याउँदै निबन्धमा सरकारको ध्यानाकर्षण गरिएको छ ।
सर्वसाधारण जनताले गाँस, बास र कपासको मूलभूत आवश्यकता नपाएसम्म क्रान्ति हुनुपर्ने विदोही चेत उनमा पलाएको छ । साहित्यकार पाण्डेले ‘ऊर्जाशील ज्येष्ठ व्यक्तित्व जगत्बहादुर श्रेष्ठ’ निबन्धमा क्रान्तिको आवश्यकताबारे यसरी उल्लेख गरिएको छ – राजनीतिक क्रान्ति पूरा नभएसम्म आर्थिक समृद्धि र स्थायित्व सम्भव छैन । नेपाललाई बृटिस भारत सरकारले पनि छुन सकेन तर भारतीय विस्तारवादले सधैं कुनै न कुनै रुपले दुःख दिइरहेको छ । नेपालका शासक वर्गहरू भारतको गुलामी गर्दछन् । देशभित्र र देश बाहिरका विस·तिहरूको विरुद्ध निर्णायक लडाइँ लड्नु जरुरी छ ।
विसं. २०१६ मा गोरखाबाट चितवन जिल्ला पसेका जगतबहादुर श्रेष्ठलाई समानतावादी विचारका कर्मठ, जनसेवी, विकृति विस·तिविरुद्धका योद्धा मानिन्छ ।
निबन्धकार पाण्डेले सोमेश्वर पर्वतस्थित सोमेश्वर गढी भ्रमण गर्दाको यात्रा संस्मरणबारे पनि लेखेका छन् । पुरानो गढी सोमेश्वरमा रहेका सम्पदाको बेवारिसे अवस्था देखेर विरक्तिएका पाण्डे सम्पदा संरक्षण नभएकोमा दुखित छन् । मन्दिरका ढुङ्गा, इँटा यत्रतत्र छरिएका, शिवलि· जमिनमा गढेको, मूर्तिहरू अलपत्र परेको र कति हराएको, चोरिएको स्थिति देखेर उनी चिन्तित छन् । भ्रमणकै क्रममा नेपाली भूमिमा रहेका सीमास्तम्भहरू सारेको, नाचनचुरियादेखि करिब तीन किमि तल रहेको ४५ नम्बरको नेपाल–भारत सीमास्तम्भ दुई किमि वर सारेको स्थानीय देशभक्तबाट थाहा पाएको प्रस·को चर्चा गरिएको छ । सीमा मिच्दा पनि दलीय स्वार्थमा लुट्पुटिरहेका राजनेताहरूको ध्यान नगएकोमा उनी दुखेसो पोख्छन् ।
यस निबन्धसङ्ग्रहमा निबन्धकार पाण्डेले पूर्वाेत्तर भारतको साहित्यिक सद्भाव यात्राको चर्चा गरेका छन् । साहित्यिक भ्रमणमा कवि, कलाकार, गायक, नियात्रा, सिद्धान्तविज्ञ, समालोचक, अनुसन्धाता, संस्कृतिविद्, चित्रकार, प्राध्यापक, सामाजिक अभियन्ताहरूको सहभागिता थियो । साहित्यिक भेला, गोष्ठी र साहित्यिक पुस्तक आदानप्रदानले मित्रता बढ्ने, एकले अर्कालाई चिन्ने, साहित्य पारिमार्जन र परिष्कारमा टेवा पुग्ने कुरामा विवाद छैन । गृह लताशील गुवाहिटीमा भएको साहित्यिक कार्यक्रममा विदुषी महिला तथा साहित्यकार र समाजसेवीहरूको अभिनन्दन र बहुभाषिक कविता वाचन गरिएको उल्लेख छ ।
त्यस्तै निबन्धमा भरतपुरदेखि बेनीपुरसम्मको यात्रा संस्मरण, सुर्खेतको साहित्यिक यात्रा, गोसाईकुण्डको यात्रालाई पनि जीवनका पदचापहरू निबन्धको विषयवस्तु बनाइएको छ ।
स्पष्ट वक्ता र प्रगतिशील विचारका कलानाथ अधिकारीले रचेको ‘जितिया पावनी’ व्रत कथाको पनि निबन्धमा उल्लेख गरिएको छ । एक दिन अधिकारीका श्रीमती कलामोहिनीले लेवरनगरको खेतमा हलो जोतेपछि आँधीबेहरी, असिना परेर बाली क्षति भयो । त्यसको सबै दोष हलो जोत्ने कमामोहिनीमाथि खनियो । गाउँलेहरूमाझ गाउँ निकाल्ने स्वर दन्क्यो । अन्ततः अधिकारीको परिवार चितवन छोडेर जान बाध्य भयो । गाउँलेहरूको विरोध भए पनि रुढिवादी र अन्धविश्वासविरुद्ध उनीहरू विचलित भएनन् । साहित्यकार पाण्डेले नेपालको मध्यकालीन इतिहासलाई आफ्नो अनुसन्धानको विषय बनाएका डा. सूर्यमणि अधिकारीको जीवनका विविध पक्षका भोगाइको चर्चा गरेका छन् ।
साहित्यकार पाण्डेले यस यात्रा र संस्मरणसम्बन्धी निबन्धलाई थोरै निबन्धात्मक स्वरुप ठानेका छन् । लेखिएका अधिकांश निबन्धहरू लेखजस्तै भएकाले निबन्धको स्वरुप र संरचना कता कता हराएको देखिन्छ । यस कृतिलाई एक समीक्षकले जीवन भोगाइ र यात्राका अनुभूतिहरूको सँगालो ठान्नु अन्यथा होइन । लेखन कलालाई निरन्तरता दिइरहे साहित्यिक यात्रा गन्तव्यमा पुग्न समय लाग्नेछैन । भाषा शैली सरल छ । कता कता राक्षसी मुद्राहरूको समस्या देखिएको छ । महँगाइको यो समयमा कृतिको मूल्य रु. २११।– ठिक्कै हो ।
उनका अप्रकाशित कृतिहरू यात्रा संस्मरण, निबन्ध, जीवनी, थारु लोककथा प्रकाशन हुने आशा एक चिन्तकले गर्नु स्वाभाविक हो । साहित्यकार पाण्डे र कृति प्रकाशक त्रिवेणी साहित्य परिषद्लाई साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *