यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
चिन्मय
“कीर्तिपुरको बस हो । रत्नपार्क पुग्न कम्तीमा एक घण्टा त कसो नलाग्ला !”
“किन, भविष्यवक्ता हौ कि क्या हो ?” उसले घोच्यो ।
“तिमी भन्छौ भने भविष्यवक्तै भएँ ल ! दुई वर्ष कीर्तिपुर बसेको केही त प्रमाण हुनुप¥यो ! …कि कसो ?”
“ल हारेँ बाबा, हारें,” हात जोड्दै उसले बिन्ती बिसायो, “सुनाउनुस् नयाँ ताजा । के हुँदै छ काठमाडौंमा ?”
“यहाँ के छैन सबथोक छ । घाम लाए धुवाँधुलो छ । पानी परे बाढी छ । चोकचोकमा फोहोरको थुप्रो छ । मेयर सा’ब देउताजस्तै ठूला छन् । दिनदहाडै केही गर्न सकिन्न भन्छन् । मेयर सा’बले प्रधानमन्त्रीले जस्तै बेलाबेला फेसबुकमा जोक गरेको त गाउँमै भए पनि तिमीलाई थाहा होला नि ! तर यत्ति हो, विदेशीहरू खासगरी भारतीय नेताहरू आउँदा भने केही धुलाइ हुन्छ है काठमाडांैको । अँ, बताऊ गाउँको के छ ?”
“के हुनु यार, उस्तै हो । सबै काग काला भनेको ठीक रैै’ छ । यहाँ बाढीको कुरा गर्छौ ? हाम्रोतिर अहिले करको बाढी आएको छ । जेमा पनि करै कर । जनतामाथि करको बोझ बढाएर महँगा गाडीमा राजसी ठाँटबाँट देखाउँदै छन् । हैन, गाडीमा कर त सुनेको हो । साइकलमा पनि कर लगाउन हुन्छ ? भएन अण्डामा पनि प्रतिगोटा १ रूप्पेका दरले कर लगाइदिएका छन् ।”
“उसै त तेस्रो विश्वका जनता कुपोषणका शिकार छन् भनेर कुइरेहरू कराइरहन्छन् । अण्डा खान प्रोत्साहन गर्नुपर्ने ठाउँमा घाउमाथि पिलो ?”
“त्यो हामी सानो छँदा पढ्ने प्रावि थियो नि, सोमेको घर छेउ ? त्यो त पल्लो गाउँको माविमा मिसाइ दिए नि मोराहरूले ।”
“अँ समाचार पढें । … त्यो प्रावि नभइदिएको भए हामीलाई कति दुःख हुने थियो है ।”
“गाउँका धेरै कलिला केटोकटीहरूले स्कूल जानै छोड्दिए यार । हुन पनि त्यत्रो बाटो हिँडेर कसरी जाऊन् बिचरा ? बाउआमासँग पैसा भए त बोर्डिङमा हाल्दा हुन् नि । किन त्यो महेन्द्रको पालाको सरकारी स्कूलमा पठाउँदा हुन् र ? के हुँदैछ हो यो देशमा । गरिबहरू च्यापिएको च्यापियै । झन् गाउँ–गाउँमा सिंहदरबार भनेर चुनाव जिते । अहिले गाउँ–गाउँमा राजदरबार बनाएका छन् । सोच्दा पनि रिसमात्र उठ्छ । कुरा सुल्टो काम उल्टो ।”
“अस्ति पत्रिकामा भक्तपुर नगरपालिकाको खबर पढ्यौ ? त्यहाँ त धेरै काम सुल्टो भएको रै’ छ नि ।”
“पढेको थिइन । हिजो दिनेशलाई भेट्न गएको थिएँ । उसले पढेको रै’ छ । उसको आफन्त मन्त्री भएका छन् क्या । उसले मन्त्रीलाई ‘देशैभर हाम्रो पार्टीका मेयरहरू छन्, भक्तपुरमा जस्तो किन नगरेको कतै पनि ?’ भनेर सोधेछ ।”
“मन्त्रीले के भनेछन् त ?”
“के भन्नु, ‘के गर्ने ? हामीले गर्न सक्दैनौं । हामीलाई कर्मचारीतन्त्रले कामै गर्न दिन्न’ भनेर निधार खुम्चाएछन् । ‘… पछि कोठामा पत्रिका ल्याएर पढें । हैन एकजना मेयरले चाह्यो भने नगरपालिकाले त्यति धेरै काम गर्न सक्दो रै’ छ नि । दिनेशले भक्तपुरको मेयरको प्रशंसा गर्दै थियो । हुन पनि सुनिल प्रजापति काठमाडांैको मेयर भइदिएको भए कायापलट हुने थियो । हैन त ?”
“हुन्न । मानौं तिमीले भनेजस्तो सुनिल प्रजापति काठमाडांैको मेयर भए रे । यत्ति हुँदैमा काठमाडांैका यी समस्या समाधान हुँदैनन् । भक्तपुर सानो छ, काठमाडौं ठूलो छ । मानौं भक्तपुरभन्दा सानोजस्तो हाम्रै नगरपालिकाको मेयर बनाए पनि उनको केही सीप चल्दैन ।”
“किन…?”
“किनभने भक्तपुरको प्रगति एकजना व्यक्तिले गरेको हैन । सुनिल प्रजापतिको नेतृत्व हो । तर काम त सबै जनताले गरेका हन् । ती जनतालाई सङ्गठित गरी नगरको प्रगतिमा लगाउने पार्टीले गरेको हो । नेमकिपाले गरेको हो । भक्तपुर विकासमा जनसहभागिताको नमुना हो । हाम्रो विश्वविद्यालयको सर हुनुहुन्छ, सुरेश ढकाल । उहाँले लेख्नुभएको छ । कुनै बेला भक्तपुर उपत्यकाकै फोहोर जिल्ला थियो रे । सबैभन्दा पछि परेको सहर थियो रे ।”
“हैन । मैले पढेअनुसार त भक्तपुर त तीनवटै जिल्लामध्ये सबैभन्दा पुरानो र सम्पन्न जिल्ला थियो हैन ?”
“त्यो त मल्लकालको कुरा भयो । मैले नेमकिपाका पहिलो पुस्ताका नेताहरूले काम थाल्दाको कुरा गरेको हुँ । ती नेताहरूले गाउँ–गाउँमा साधारण किसानहरूबीच रात्री कक्षा चलाउँदै, विश्वको प्रगतिको बारेमा बताउँदै उनीहरूलाई सङ्गठित गर्न धेरै मिहिनेत गरेका रै’ छन् । पछि आफैंले हातमा कोदालो र बेल्चा लिएर सङ्गठित जनतालाई सरसफाइमा उतारेछन् । त्यसलाई सरसफाइ आन्दोलन भनिँदो रै’ छ । आज सरसफाइमा भक्तपुरले काठमाडौं र ललितपुरलाई उछिनेको छ ।”
“त्यै त पढाइमा पनि आफ्नै कलेज खोलेर सस्तोमा पढाइरहेको रै” छ । विश्वविद्यालय बनाउने तयारीमा रै’ छ ।”
“हो । कुनै बेला नेमकिपालाई ज्यापुहरूको पार्टी भन्दा रै’ छन् । ‘तिमीहरूको पार्टी अनपढहरूको पार्टी हो” भनेर ठूला भनिने दलका नेता कार्यकर्ताले हेप्दारै’ छन् । आज देशका सबै जिल्लाका विद्यार्थी त्यहाँ पढ्न आएका छन् । सङ्गठनमा कति शक्ति हुँदो रै’ छ, देख्यौ । त्यसैले मैले भनेको हुँ, सुनिल प्रजापति एक्लैले अरु नगरपालिकामा भक्तपुर बाहिर त्यस्तो गर्नसक्दैनन् । समाज एकजना व्यक्तिले फेर्नसक्दैन । सङ्गठित जनताले मात्र आफ्नो अवस्था फेर्न सक्छन् । काठमाडांै होस् वा देशका अरु भाग भक्तपुरजस्तै फेर्नु छ भने पहिले जनता नै जागरुक र सङ्गठित बनाउनुपर्छ । उनीहरूलाई त्यहाँसम्म नेतृत्व गर्ने पार्टी हुनुपर्छ । नेमकिपाका जस्तै त्यागी, निःस्वार्थी र दूरदर्शी नेता कार्यकर्ता पनि हुनुपर्छ ।”
“तिम्रो विचार गहिरो छ । तर हामीले बुझ्न अलि समय लाग्ला । हेर न हामी आफ्नो गाउँघरमा राम्रो शिक्षा नपाएर यहाँ राजधानी धाएकै छौं । भक्तपुरका जनताले जस्तै हामीले आफ्नै जिल्लामा राम्रो शिक्षा पाउने बन्दोबस्तका लागि लडेनौं ।”
“तिमीले सही भन्यौ । हामीले भन्दा पनि हाम्रो पुरानो पुस्ताले गरेन भनौं । गल्ती कसको ? हाम्रा बाआमाहरूको वा हामीलाई नेतृत्व गर्ने पार्टीहरूको ?”
“खै ? गाउँटोलका मानिसहरू सोझै हुन्छन् । पार्टीहरूकै भनम् न । उनीहरूले हामी सिधासादा जनताको अज्ञानताको फाइदा उठाए । “हैन यो नेमकिपाजस्तो पार्टी बनाउन सकिन्न ।”
“बनाउनेभन्दा पनि हामीले नेमकिपाकै सङ्गठन किन नगर्ने ? तर बुझिराख्नु परिवर्तनका लागि केही पुस्ता त लाग्दो रै’ छ, कि कसो ?”
यी प्रश्न मेरो साथीलाई मात्र होइन, हाम्रो कुराकानी सुन्ने सबैलाई ।
Leave a Reply