भर्खरै :

प्रधानमन्त्री र मधेस केन्द्रित दलका नेताबीच छलफल

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेकाले त्यसमा आवश्यक सहयोग गर्न मधेस केन्द्रित दलका नेतालाई आग्रह गर्नुभएको छ ।
आज साँझ अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल माओवादी केन्द्र, नेपाली काँग्रेस र मधेसी मोर्चाका नेताबीचको बैठकमा प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको विकल्प नभएको बताउँदै सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको हो । तर प्रधानमन्त्रीको आग्रहलाई मधेस केन्द्रित दलका नेताले भने तत्काल स्वीकार गर्न आफूहरुलाई असजिलो हुने धारणा राख्नुभएको थियो ।
प्रधानमन्त्रीको आह्वानमा बसेको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्रीले सरकार स्थानीय निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको मोर्चाका नेतालाई जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री मधेसमा जनसङ्ख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको सङ्ख्या बढाउन सरकार लागिरहेको जानकारी दिँदै फागुन १० गतेबाट सञ्चालन हुने संसद्बाट संविधान संशोधन विधेयक अघि बढाएर निष्कर्षमा लैजाने बताउँदै राजनीतिक गतिरोधका लागि स्थानीय तहको निर्वाचनमा आउन मोर्चाका नेतालाई आग्रह गर्नुभएको थियो ।
मोर्चाका नेताहरुले मोर्चाको मुख्य चासो सीमाङ्कनको हेरफेरसहित संविधान संशोधन भएको बताउँदै संशोधन प्रस्ताव टुङ्गोमा पुगेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।
आजको बैठकमा संविधान संशोधन प्रस्तावको प्रक्रिया, त्यसमा सरकारले खेल्ने भूमिका, स्थानीय तहको सङ्ख्यामा हेरफेर, स्थानीय निर्वाचनको औचित्य र सरकारले गरेको तयारीलगायतका विषयमा खुलेर सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *