भर्खरै :

एक जना किसानको प्रधानमन्त्रीहरूलाई खुला पत्र

सम्माननीय प्रम प्रचण्डजी,
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र ओलीजी,
अन्य पूर्वप्रधानमन्त्रीज्यूहरू ।
अभिवादन,
तराईका जनताको बारेमा तपार्इंका सरकारहरू गम्भीर थिएनन् र गम्भीर छैनन् । तराईका मधेसवादी नेताहरूकै होहल्लामा तपाईंहरू रुमलिरहनुभयो र रुमलिंदै हुनुहुन्छ । तराईका जनताको समस्या, भावना र परिस्थितिबारे केही बुँदा तपाईंहरूलाई अवगत गराउँदै छु । ती विषयमा तपाईंहरू एक–एक शब्द विश्लेषण गरी निर्णय लिन अनुरोध गर्दछु । हिजो देश तपाईंहरूकै कारण सड्ढटमा परेको हो र अब पछि हुने परिणामका दोषीहरू पनि तपार्इंहरू नै हुनुहुनेछ ।
‘मधेसवादी’ नेताहरूले देश र जनतालाई शोषण गरेका, विभिन्न निहुँ उठाएर चुनाव जित्ने, जनता–जनता भिडाउने, आफू काठमाडौंमा घर बनाएर बस्ने, आर्थिक अनियमितता गर्ने, बिहारी र दिल्लीको सहयोग लिने, जनतालाई झूटो आश्वासन दिने गरेको कुरा तराईका जनता बताउने गर्छन् ।
सांसदहरूबाट निर्वाचन क्षेत्र विशेष, संसद विकास कोष र अन्य विकासको रकम सदुपयोग नभएको जनताको दाबी छ ।
अहिले केही मधेसवादी नेताहरूले संविधानमा विभेदकारी व्यवस्था भएको भनेर जनता भड्काउने, अन्य दलहरूलाई गतिविधि गर्न नदिने हल्ला गर्दैछन् ।
सिके राउत नेपालबाट मधेस टुक्र्याएर छुट्टै देश बनाउने प्रचार गर्छन् । भारतको पटनामा सैनिक तालिम गराइरहेको र निकट भविष्यमै पहाडी भगाउ आन्दोलन गर्ने प्रचार गरिरहेका छन्, जनतालाई आतङ्कित पार्दैछन् ।
मधेस आन्दोलनका कारण कतिपय पहाडिया र मधेसीहरूले राजमार्ग तलको बस्ती बेच्दै राजमार्गको उत्तरमा हेटौंडा, विराटनगर, धरान, उदयपुर, काठमाडौं आदि क्षेत्रमा बसाई सर्ने काम धमाधम भइरहेको छ ।
निकट भविष्यमा संविधान संशोधन भए पनि मोर्चाका नेताहरू र सिके राउतहरूद्वारा सशस्त्र द्वन्द्व हुने प्रचार छ ।
नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले मधेसमा राजनैतिक अभियान नचलाई, आफ्नो संगठन नसम्हालेमा तराईमा ‘स्वतन्त्र मधेस आन्दोलन’ हुने र देश सड्ढटमा पर्ने देखिन्छ ।
मधेसका युवाहरू सिके रावतका समर्थक, भारतमुखी र नेपाल र नेपालीविरोधी बनाउन भारतीय गुप्तचरको पूर्ण रुपमा सक्रियता देखिन्छ ।
अङ्गीकृत नागरिक र हिन्दी भाषा मधेसका वंशज नागरिकहरूको माग नभई अङ्गीकृत नागरिकता पाएकाहरूको माग हो भनी तराईमा पहिलेदेखि बसोबास गरी आएका जनता बताउँछन् ।
मधेसी मोर्चालाई शान्त गर्न सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको छ । त्यो प्रस्ताव संसदमा पारित गरिए पनि देशले निकास पाउनेछैन । यो संशोधनप्रति जनताका केही गुनासा छन् –
पहिलो – बुढापाकाहरू अहिले संशोधन गर्न खोजिएको प्रस्तावले हिन्दी भाषा, अङ्गीकृत नागरिकता, जनसङ्ख्याको आधारमा राष्ट्रिय सभा, ५ नं. प्रदेशको विभाजन गरी पहाड र तराई छुट्याउँदा तराईमा बसोबास गर्ने पुराना बासिन्दा वंशजका आधारमा नागरिकता पाउनेहरू पछाडि पर्ने र हिन्दी भाषा मधेसको भाषा होइन भन्छन् । यो त नयाँ नेताहरूको आफ्नो स्वार्थसिद्ध गर्ने नारामात्रै हो । उनीहरू आफ्नो स्वार्थ पूरा गर्न नेपाल–भारतका शासकसँग बार्गेनिङ गर्दैछन् । हिजोका नेताहरूले पनि यस्तै गतिविधि गरेका थिए । अहिले उनीहरू सबै मन्त्री बने, काठमाडौं बस्दै आएका छन् । हिजो चप्पल लगाउन नसक्ने आज धनाढ्यभित्र पर्छन् । देशले यसरी शान्ति पाउनेछैन ।
दोस्रो – देशलाई विखण्डन गरेर स्वतन्त्र मधेस भनेर नेपाललाई टुक्र्याउने आन्दोलन गर्दैछन् । उनीहरू सशस्त्र युद्धको तयारी गर्दैछन् । ‘पहाडिया भगाउने’, ‘पहाडका दलालहरू भगाउने’, मधेस कब्जा गर्ने अभिव्यक्ति दिंदैछन् । त्यस्ता भन्नेहरू अमेरिका र भारतमा अध्ययन गरेका विद्यार्थीहरू हुन् । यसलाई केही युवाहरूले साथ दिएको देखिन्छ । उनीहरूले रातारात उपेन्द्र यादव नेतृत्वले गरेको मोर्चासँग वार्ता गरिरहेका छन् ।
तेस्रो, नेपालमा पहाडियाहरूले हामीलाई अपमान गरे, हाम्रो कुरा सुनेनन्, हामीमाथि शासन गर्दैछन्, पहाडिया राष्ट्रवादले ग्रस्त नेपाल मधेसका लागि आवश्यक छैन भनेर तिनीहरू नेपालविरोधी, ‘पहाडिया विरोधी’ गतिविधि तीव्र बनाउने तरखरमा छन् ।
भारतको हरेक कुराको उनीहरूले स्वागत गरिरहेका छन् । भारतलाई आफ्नो देश मान्छन् र नेपाललाई आइबसेको अर्काको भूमि ठान्छन् । सेनामा व्यक्ति व्यक्ति नगई समूहगत प्रवेश ५१ प्रतिशत उपस्थिति हुनुपर्छ भन्छन् ।
वन, जंगल, बालुवा, ढुंगा, गिट्टी, पानी भारतलाई बेच्नुपर्छ, देश गरिब, नागरिक गरिब किन स्रोत दोहन नगर्ने, पहाडियाहरू यसलाई छुन नदिएर मधेसीलाई दुःख दिंदैछन् भन्छन्  । तराईका उद्योगहरू बन्द गर्दैछन् भन्ने आरोप छ ।
तराईमा राजश्व बढी उठ्छ, यसलाई मधेसमा खर्च गर्नुपर्छ, पहाडमा किन खर्च गर्ने प्रश्न गर्दैैछन् । नेपाल र नेपालीको हरेक काम कुराको तराईमा विरोध भड्काउन खोज्दै छन् ।
मधेसमा डाँफे छैन, लालीगुँरास फुल्दैन, नेपाली टोपी र पोशाक ‘मधेस’को होइन, खस भाषा हाम्रो होइन, यसलाई हामीले कसरी स्वीकार्न सक्छौं भन्छन् । मयुर र कमल हामीले सधैं देख्छौं, हिन्दी भाषा बुझ्छौं, धोती लगाउँछौं र यही नै हाम्रो राष्ट्रियता हुनुपर्छ भन्छन् ।
मधेसमा गरिब जनताको आर्थिक उन्नति गराउने कुरा उठ्दैन, जमिनदारी प्रथाको अन्त्य गर्ने विषय सुनिंदैन, घरघरमा शौचालय छैनन्, जाँड रक्सी खुवाउने, मानव बेचबिखन, चेलीबेटी बेचबिखन, दाइजो, बोक्सी, मानव बली दिने जस्ता कामहरूलाई प्राथमिकता दिलाउँदैछन् ।
धर्मको व्यापक प्रचार छ तर धर्म प्रचारकहरू भारतका पण्डितहरू छन्, नेपालका धार्मिक स्थलको प्रचार गर्दैनन्, भारतका धार्मिक स्थलको प्रचार व्यापक छ । नेपाली टेलिभिजन देखाउँदैनन्, गाडीमा हिन्दी गीत बज्छ, नाचगान भोजभतेर सबै हिन्दी संस्कार चल्छ । आफ्ना केटाकेटी भारतमा पढाउँछन्, भारतमा पढेका कारण युवाहरूले जागिर पाएनन्, बुहारी भारतीय भएका कारण जागिर दिइएन जनताले कसरी बाँच्ने भनी गलत प्रचार गर्छन् । हामीलाई नेपाल किन चाहिने ? किन आवश्यक छ, भारतबाट पाकिस्तान अलग भयो, पाकिस्तानबाट बंगलादेश जन्म्यो, यसरी नेपालबाट मधेस अलगिंदैमा के फरक पर्छ ? सधैं असन्तुष्ट भई अरुको दास भएर बस्नुभन्दा अलग मधेसी देशको नागरिक भएर बाँच्नु उत्तम हो भनी प्रचार गर्छन् । समयको माग हो, प्रगतिशील काम हो भन्दै जनतालाई कुतर्क पेश गर्दैछन् ।
देशमा पृथकतावादी आन्दोलनको तयारी भइरहेकाले संविधान संशोधनले समस्या समाधान गर्नेछैन । यसले देशलाई झन् कमजोर बनाउनेछ । मधेसी मोर्चा, सशस्त्र समूहहरूसमेत समेटेर समस्या समाधान गर्नु आवश्यक छ । सम्पूर्ण रुपमा शिक्षा निःशुल्क, स्वास्थ्य उपचार निःशुल्क, रोजगारीको बन्दोबस्त, भूमि समस्या समाधानले मात्र देशमा शान्ति हुनेछ र तराईका समस्या समाधान हुनेछ ।
तराईका बजार, राजमार्ग र सडक आदिमा भारतीय नम्बर प्लेटका गाडीहरू थुप्रै चल्छन् । भारतीय नम्बर प्लेटका गाडीहरू सस्तो मूल्यमा पाइन्छन् भनेर लिने गरेको र भारतीय गाडीहरू निर्वाध रुपमा घुम्ने गरेको देखिन्छ । सीमा क्षेत्रमा आपराधिक घटनाहरू भइरहने देखिन्छ । चोरी, डकैती, चेलीबेटी बेचबिखन, लागूपदार्थ ओसारपसार गर्ने काम थुप्रै सुनिन्छन् । मान्छे मार्ने काम सजिलै गर्ने गरेको सुनिन्छ । जिप्रकाहरूमा मान्छे मारेको आरोपमा मुद्दा खेप्नेहरू धेरै देखिन्छन् ।
उखु अहिलेसम्म बारीमै देखिन्छ । चिनी मिलले उखु नकिन्ने, किने पनि समयमा मूल्य नदिने भएका कारण किसानहरू उखु खेती घटाउँदै छन् ।
जमिनदारहरूलाई किसानले कुत समयमै बुझाउन नसक्दा मूल्य प्रतिक्विन्टल २१ सय पर्ने धानको मूल्य २९ सयको हिसाबले दिनुपर्दा किसानहरू मर्कामा परेका छन् । मल, बीउ समयमा नपाउने, सिंचाइ व्यवस्थाको कमी, बजार मूल्यको अभाव, समयमा मूल्य नपाउने, भारतमा सस्तो र नेपालमा महँगो भएका कारण किसानहरू मर्कामा परेका छन् ।
– एक किसान कार्यकर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *