समाज बदल्नुपर्छ भन्ने भावना जगाउन आवश्यक
- जेष्ठ ३१, २०८३
नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सप्तरी जिल्लाको राजविराजमा २८–२९ माघ २०७३ मा सम्पन्न भएको समाचार चर्चाको विषय बन्यो ।
सप्तरी जिल्ला २००८ सालदेखि २०१२ सालसम्मको तराईको किसान आन्दोलनको एक महत्वपूर्ण क्षेत्र थियो । ६० वर्षपछि त्यही जिल्लामा नेपाल क्रान्तिकारी किसान सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन हुनु नेपालको किसान आन्दोलनको गौरव गाथालाई पुनःस्मरण गर्नु हो । यस अर्थमा नेक्राकिसङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको सफलतामा हामी बधाई दिन्छौं ।
राजविराज नेपालको एक योजना गरिएको सहर हो । तर २००७ सालदेखि अहिलेसम्मका सरकारहरूले राजविराज नगरलाई सुन्दर र व्यवस्थित गर्ने काम गरेनन् । नगरपालिकामा खटिएका कार्यकारी अधिकृत, नगर नियोजकहरू र प्राविधिकहरू के गर्छन् थाहा छैन । खाली हरेक महिनाको ३० गतेको बारे चिन्ता गरेर देश कसरी विकास हुन्छ ? जनताको सरकारले कर्मचारी, जनप्रतिनिधि र सम्पूर्ण नगरवासीहरूको सहयोगमा सहरलाई सुन्दर, सफा र हेर्नलायक बनाउन सकिन्थ्यो, के सिंहदरवारले यसबारे कहिल्यै ध्यान दियो ? निर्लज्जताको पनि एक सीमा हुन्छ ?
हरेक राजनैतिक पार्टी एउटा न एउटा राजनैतिक दर्शन, सिद्धान्त र नीति तथा एक न एक वर्गको आधारमा निर्माण भएको हुन्छ । नेपाल मजदुर किसान पार्टी देशमा एक शोषणरहित, वर्गविहीन, शारीरिक र मानसिक श्रमको भेद नभएको, गाउँ र सहरको भेद नभएको, शोषक र शोषितको भेद मिटेको, राज्यविहीन साम्यवादी समाज जस्तो एक आदर्श समाजको निर्माण गर्न चाहन्छ । नेमकिपा मजदुर र किसान तथा काम गरी खाने बुद्धिजीवीहरूको पक्षमा सङ्घर्षरत छ । यही दर्शन र सिद्धान्तलाई झण्डा बनाएर नेमकिपा सदन र सडकमा सङ्घर्षरत छ । नेमकिपा पूँजीवादी सरकारमा गएर कामदार वर्गको अहितमा काम गर्दैन । किसान, मजदुर र कामदार बुद्धिजीवीहरूको विरोध गर्ने र अहित हुने हरेक विधेयक र नीतिको सम्झौताहीन सङ्घर्ष गर्छ ।
सप्तरी जिल्लामा दोस्रो राष्ट्रिय सम्मेलन गरेर नेक्राकिसङ्घले तराईका लाखौं–लाख किसान जनताको सङ्घर्षको गौरवको झण्डा उठाउनु आफ्नो कर्तव्य सम्झनु अत्यन्त महत्वपूर्ण विषय हो ।
फरक राजनैतिक दलहरूले आ–आफ्नो सिद्धान्त, नीति र फरक वर्गको हितमा राजनैतिक सङ्घर्ष गर्नु प्रजातन्त्रमा स्वाभाविक विषय हो । राजनैतिक विचारको प्रचार गर्नु र अभिव्यक्त गर्नु राजनैतिक र मौलिक अधिकारभित्रकै विषय हो । नेक्राकिसङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई ‘प्रतिकात्मक’ विराध गरेर चर्चामा आउनु र ‘सम्मेलन’ लाई प्रचारमा सहयोग गर्ने फरक मतका राजनैतिक दल र कार्यकर्ताहरूको सद्भावना महत्वपूर्ण छ ।
नेपाल क्रान्तिकारी किसान सङ्घ ‘जमिन जोत्नेको’ नीतिको पक्षमा छ, सामन्तवादी र जमिनदारी शोषणको विरोधमा छ । तराईका किसान जनताले मोहियानी हकसमेत पाएका छैनन्, नेक्राकिसङ्घ तराईका किसान जनताको पक्षमा छ, तिनीहरूका अनेक दैनिक समस्याहरूलाई तत्काल समाधान गर्ने सङ्घर्षको पक्षमा छ ।
Leave a Reply