भर्खरै :

फेरि पलाएँ म

भैरव रिसाल
म फेरि झुल्किएँ भनौँ कि पलाएँ भनौँ । जे भन्न मन लाग्छ त्यही भन्नोस् तपार्इँ आफैँ । श्रमिक र मजदुर वर्गको अथवा काम गरेर खानेहरूको आफ्नो आवाज छापिने ‘श्रमिक’ साप्ताहिकमा २०७२ साल असोज १९ गतेदेखि हराएको थिएँ । मेरो हातको लेखनशक्ति पार्किन्सन
(हात काम्ने, कलम नसमाउने, टाउको काम्न खोज्ने रोग) ले झम्ट्यो । दा¥ही काट्ने भाँडो पनि औंलाले नसमात्नेसम्म पो भो त ! अब लेख्ने भन्ने त सवालै भएन । दा¥ही बनाउनका लागि कि हजामकोमा जानुपर्ने भो कि उहाँलाई घरमै बोलाउनुपर्ने भो । श्रमिकका साथीहरूले मैले मुखले भनिदिने र उहाँले टिपोट गर्ने अथवा मैले बोलेको टेपमा भर्ने, पछि उतार्नेजस्ता अति उत्तम विकल्पहरू नदिएका हैनन् । तर मलाई त्यो बानी लागेन, प्रयास गर्ने जाँगर पनि पलाएन, मैले प्रयत्न पनि गरिनँ । परिणाम जनताको नजिक जान सकिनँ । तीन वर्ष ११ दिन गयल परेँ ।
थेरापीले लेख्ने गरायो 
श्रमिकको पहिलो प्रकाशन २०५० साल माघ १२ बाट भएछ । मेरा लेख २०५१ वैशाख १३ (अड्ढ १४) देखि छापिन थालेछ । मैले २२ वर्षभन्दा बढी श्रमिकमार्फत तपाईसँग भेट्ने मौका पाएछु । यो लामो अवधिमा दुई–तीन चोटी विदेश यात्रामा जाँदा बाहेक लगातार लेखेको रहेछु । त्यही पार्किन्सनले मलाई खोसेछ तपाईसँग । थेरापीमार्फत पार्किन्सनसँग जुध्ने र पार्किन्सनलाई पछार्ने आँट आयो । श्रीमती सुशीला, छोरीहरू, छोरो, बुहारीहरू, नाति–नातिनीहरू, ज्वाईहरू, भाइहरू, बुहारीहरू भतिजा–भतिजीहरू अन्य आफन्तहरूका अतिरिक्त सद्भावकहरूसँग पनि हलुका एवं गम्भीर परामर्श भयो । जोरपाटीस्थित हाडजोर्नी अस्पताल गई डा.मन्दीप कार्कीलाई परीक्षण गरेपश्चात् डाक्टरको निर्देशनमा २०७३ चैतदेखि थेरापिष्ट दीक्षान्त कोइरालाबाट थेरापी प्रारम्भ भो । दीक्षान्तलाई अनुकूल नभएपछि निजकै सल्लाह र सहयोगमा आफ्नै भक्तपुरका थेरापिष्ट निर्मल प्रजापतिमार्फत थेरापी गर्दै गर्दा निकै सुधार भो । केही महिना अघिदेखि निर्मलजीलाई हप्तामा तीन दिन मात्र दुःख दिन थालेँ । उहाँको सल्लाहअनुसार केही उपकरण किनी आफू र परिवारका सदस्यमार्फत थेरापी गर्न लागियो । हप्तामा एक दिनमात्र निर्मललाई दुःख दिन्छु ।
त्यही जीउ, त्यही खुट्टा तर …
दिन, उमेर मान्छेका जीवनमा कति ‘भाइटल’ हुँदा रहेछन् । मैले केलाउने प्रयत्न गरेँ । मेरो यही जीउ, यिनै खुट्टाले मुलुकका ७७ वटै जिल्ला पु¥याए । भारत, चीन, ढाका, हङकङ, पूर्व युगोस्लाभिया, तेहरान, जोर्डन, आम्स्टर्डम, संयुक्त राज्य अमेरिकाका २२ वटा जति राज्य र क्यानाडासमेत घुमाए तर अहिले मेरो संसार सानो–यत्ति सानो भएको छ, अनामनगरको घरबाट अनामनगर चोक उहिले भए डेढ मिनेटको बाटो नै आजको मेरो दैनिक विश्व हो । आफ्नो यही जीउ सम्झन्छु – म १२ मिनेटमा एक किलोमिटर बाटो हिंड्थेँ । डडेल्धुराको डोटी छुट्टिने दोबाटो स्याउलेबाट डडेल्धुरा सदरमुकाम खलङ्गा सडकबाट एक घण्टामा पार गरेको छु । त्यो ठाउँको दुरी पाँच किलोमिटर छ । मैले आफ्नो सामान्य हिंडाईको गति तय गर्न घडी हेरेरै हिंडेको थिएँ । जमाना त्यो थियो । जीउ यही हो, खुट्टा यिनै हुन्, तर गति ?
यही जीउले कहाँ कहाँ पु¥यायो
नयाँ पुस्ताका र ८० वर्षमुनि उमेरका सम्पूर्ण मित्रहरूलाई परामर्श – सकेको बेलामा मस्त हिंड्नुहोस्, खुब घुम्नुहोस्, नयाँ–नयाँ ठाउँ जानुहोस् । यही जीउले जुम्ला खलङ्गाबाट पाँच दिनमा हुम्ला सिमकोट र सिमकोटबाट जुम्ला खलङ्गा पाँचौं दिनको घाम छँदै पु¥याएथ्यो । यही जीउले काठमाडौंबाट त्रिशुली, आरूघाट, गोर्खा सदरमुकाम, त्यहाँबाट जौबारी, लिगलिग, बन्दीपुर, टुहुरेपसल, लमजुङको कुञ्छा, च्यानपाटा, सातधारा, ठूलीपोखरी, क्रियापानी, पोखरा, स्याङ्जाको नुवाकोट, पुतलीखेत, आँधीखोलाको तिरैतिर, मालुङ्गा, राम्दीघाट, पाल्पाको चिदीपानी साथी शोभाकान्त नेपालको घर, उहाँकैमा बसी तानसेन, बटौली (बुटवल) को पैदल यात्रा गराएथ्यो । डुम्रेबेंसी सहर, खुदी, ङादी, बाहुनडाँडा, स्याँगे, जगात, तालपोखरी, लिलीभीर, बगरछाप हुँदै मनाङको चामे पु¥यायो दुई दिनमै यही जीउले । गोर्खाको उत्तरी भेगको स्याटभोट र कुताङभोट, उहिया, छेकम्पार, सिर्दिवास, सामागाउँ, साम्दो, लर्किभञ्ज्याङ, मनाङको भीम्ताङ, चामे, इलाम, पाँचथर, ताप्लेजुङ, नूनढाकी, खाँदबारी, चैनपुर, आँखीभुई, अक्कर, धनकुटा, राजारानी, रवि हुँदै इलाम यिनै खुट्टाले यात्रा गराएका थिए ।
कस्तो उच्च संस्कार कर्णालको ?
अहिले कर्णाली अञ्चलको जुम्ला खलङ्गाबाट कालीकोट मान्म र मान्मबाट चिसापानी निस्कँदाको रोमाञ्चक भ्रमणको सम्झना आँखै अगाडि उभिएको छ । जुम्लाबाट बिहानै हिँडेर कालीकोटको सीमामा एउटा घरमा बास बस्यौँ । कालीकोटको कृषि विकास बैड्ढका प्रमुख साथी थिए । उनी रमाइलो कुरा गर्थे ओढ्न सिरक पाइने घरमा बास बस्नु पर्छ भन्थे । नभन्दै सिरक ओढ्न पाइने घरमै बस्यौँ । उत्तम आतिथ्य सत्कार गरे । भोलिपल्ट खुब हिँडेर साँझ मान्म पुग्यौँ । बाटोमा नेपाल मजदुर किसान पार्टी – नेमकिपाका साथी भेट भए । पार्टीप्रति कति आस्था र निष्ठा ! जुम्ला, मुगुका साथीहरूले आ–आफ्ना बगलीबाट पैसा झिकी मलाई बाटो खर्च दिए । कर्णाली अञ्चलको स्थिति कहालीलाग्दो तर म बाटोमा भेटिएको काठमाडौंबाट काम लिएर गएको मान्छेलाई बाटो खर्च दिने संस्कार ! उहाँहरू काठमाडौं आउँदा र भेट्दा म कहिल्यै एक पैसा पनि दिने गर्दिनथेँ । कस्तो कृपणी जस्तो लाग्यो मनमनै । जुम्ला, कालीकोट, सुर्खेत, अछाम, बर्दिया, चिसापानी भ्रमण गर्ने खुट्टा र जीउ यही हो । तर आज खै त्यो जोश, जाँगर र ऊर्जा !
ए हो र ! भन्ने लाग्छ
सल्यानबाट रोल्पा, चौरजहारीबाट जाजरकोट मुकाम, खलङ्गाबाट रूकुमको सदरमुकाम रूकुमकोट एकै दिनमा पुगेको र भोलिपल्टै जाजरकोट खलङ्गा ल्याइपु¥याउने यिनै दुईटा खुट्टा हुन् । यही शरीर हो । रूकुम जिल्ला जताबाट पनि जान पायक नपर्ने, धाएरै जानुपर्ने । मैले नेपालका सबै जिल्ला घुम्ने नभए कम्तिमा एक पल्ट भए पनि टेक्ने सड्ढल्प लिएकोले पनि म मुसिकोट पुगेको हुँ । सामान्यत जाजरकोट–खलङ्गा–मुसिकोट एक दिनको बाटो होइन, दुई दिनको बाटो हो । मैले दुई दिनमा मुसिकोट–जाजरकोट जाते–आते गरेँ । त्यो यात्रा पनि कम लोमहर्षक यात्रा थिएन । गोसाइस्थान यात्रा, मनकामना यात्रा कम रोचक र शिक्षाप्रद रहेन । गोसाइस्थानबाट मार्च गरेको भोलिपल्ट नै उत्रिइयो काठमाडौं । सुर्खेत दैलेख यात्राका रातीमत्ता, गुराँसे हुँदै दाङको घोराहीबाट प्युठान र त्यहाँबाट सौताझरे, रानीमाटे हुँदै अर्घाखाँचीको सन्धिखर्क–चुत्राबेसी, त्यहाँबाट गुल्मीको तम्घास पैदल भ्रमणले नेपाल यति पढायो त्यसको बयानै छैन । धनगढी, डोटीको सिलगढी, डडेलधुरा, बैतडी, दार्चुला नेपालै नेपाल र भारत भएर दार्चुला, बझाङ, सिलगढी यात्रा त्यतिबेला अतिशय कष्ठकर तर अहिले परम अल्हादकारी सम्झँदा पनि आनन्द लाग्छ । यी सबै पैदल भ्रमण हुन्, यिनै खुट्टा र यही जीउले गराएको हो । ती सुखद सम्झना हुँदा ए हो र ! भन्ने लाग्छ ।
धेरै ठाउँ घुमियो, बाँकी पनि धेरै !
झापा शनिश्चरेबाट बिराटनगरसम्मको गोरूगाडा भ्रमण अर्को रोमाञ्चक यात्रा हो । तराईको पैदल भ्रमणमा धनुषा, महोत्तरी, सूरखण्ड यात्रा यिनै खुट्टाले गराए । धरान–धनकुटा पैदल यात्रा त कतिपल्ट गरियो कति ! मुडे–दोरम्बा यात्रा उस्तै बिर्सन नसकिने । दोलखा विगुगुम्बा यात्रा बिर्सनै नसकिने । अर्को यात्रा खोटाङको लामिडाँडा दिक्तेल । त्यहाँबाट रतन्धा हुँदै भोजपुर पानधारे, त्यहाँबाट घोत्लेखानी कटुञ्जे, दलमाउ भोजपुर । भोजपुर मेरो अन्तिम जिल्ला यात्रा हो । सदरमुकाम नटेकेको जिल्ला ओखलढुङ्गा हो । तालमा डोल्पाको से फोक्सुण्डो, मनाङको तिलिचो पनि पुग्न सकिनँ । पाथीभरा उक्लन सकिएन । २०२८ सालमा हुम्ला जाँदा मानसरोवर जाने बुद्धि आएन । त्यसपछि मौका परेन । अहिले थकथक लाग्छ । तर के गर्नु ? खप्तड हेलिकप्टर यात्रामा टुङ्गियो । बाजुरा, डोल्पा र मुस्ताङ पनि हेलिकप्टर यात्रामै चित्त बुझाउनु परेको छ । अहिले मनले चाहना गर्छ । तर जिउले दिंँदैन अनुमति । मनले मात्र यात्रा हुँदैन । यात्राका लागि जिउज्यान नै चाहिन्छ ।
नेपाल र नेपाली पढौँ
म हाम्रो देशका प्रायः नेताहरूको आलोचना गर्दा कडारूपले पेश हुने गर्छु र भन्छु हाम्रा नेताहरूले विश्व पढेका छन् र धेरै बुझेका पनि छन् तर नेपाल र नेपालीलाई पढेका छैनन् । अध्ययन गर्नु त कता हो कता, गर्न खोज्छन् एक थोक परिणाम आउँछ अर्कै थोक ! मेरो तर्क छ यसको कारण हो नेपाल नपढ्नु र नेपाली समाज नपढ्नु । वामदेव गौतमले काठमाडौं ७ नं क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यासी हुन खोज्नु जस्तो । राजा महेन्द्रले सत्र सालसम्म नेपाल पढे, नेपाली समाज पढे र सत्र सालमा कू गरे । क्रमशः नेपाली जनता बिर्सदै गए जनतालाई होइन दरबारलाई धनी बनाउने उल्टो बुद्धि आयो । उल्टो गतिले को पो पुग्छ र ठाउँमा ! उनले छोरो वीरेन्द्रलाई पनि नेपाल पढाउन खोजे । मेरो सबै नयाँ पुस्ता र युवा अझ ७० वर्षसम्मका नेपालीलाई असल सल्लाह छ नेपाल घुम्नोस्, खुब घुम्नोस् । नेपाल पढ्नोस्, नेपाली समाज पढ्नोस् सर्वाङ्गरूपमा । विश्व पनि पढ्न नभुल्नोस् । असी नाघेपछि घुम्न सहज हुँदैन । मेरो विगतले यही भन्छ । यो दसैंमा यही घुम्ने शुभकामना !
२८ असोज २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *