भर्खरै :

वायु प्रदूषण घटाउन सबैले पहल गरौं !

– सुविज्ञा थापा, भक्तपुर
हिजो आज काठमाडौं उपत्यकाका सबैजसो अस्पताल जाँदा नाक, कान तथा घाटी रोग– ईएनटी विभाग अगाडि बिरामीको लामो लाइन देख्छौं । ईएनटी विशेषज्ञ डाक्टरहरूका अनुुुसार काठमाडौं उपत्यकाको प्रदूषित हावाका कारण बिरामीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको हो । सास फेर्दा हावामा भएको धुलोधुँवाका कण पनि घाँटी र फोक्सोमा पुग्छन् र त्यसले असर गरेको छ । ठूला कण स्वासनलीमा अड्कन्छन् र सुक्ष्म कण भने सीधै फोक्सोमा पुग्छन् । धूलो धुँवाका कण फोक्सोमा पुगेपछि त्यसले फोक्सोलाई मात्र असर पुग्ने नभई रक्त सञ्चार प्रणालीद्वारा फोक्सोबाट मुटु, मिर्गौला, रक्तनली र छालालगायत अङ्गमा पनि नराम्रो असर पु¥याउँछ । दूषित वातावरणमा लामो समयसम्म काम गर्नेलाई फोक्सोको क्यान्सरसमेत हुन सक्दछ ।
वातावरण अध्येताहरूको एक टोलीले हालै राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरहरूको हावा परीक्षण गरी हावामा मानव स्वास्थ्यले पचाउन सक्नेभन्दा निकै बढी धूलोका कण रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
हावामा पाँच माइक्रोन भन्दा मसिनो धूलो ४० पीपीएम (पार्ट पर मिलियन) हुनुलाई पचाउन सकिने र त्यसभन्दा जति बढ्दै जान्छ, त्यति हावाको गुणस्तर खस्केको मानिन्छ । अझ विश्व स्वास्थ्य सङ्गठनले २५ पीपीएमसम्मको हावा मात्र श्वासप्रश्वासका लागि योग्य भनेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानको हावा परीक्षण गर्दा ८८ देखि २६० पीपीएमसम्म मापन गरिएको छ । हिउँद् याम त्यसैपनि सुख्खा याम भएकोले धूलो उड्नु प्राकृतिक नै हो । तर हामी सबैले आ–आफ्नो क्षेत्रमा थोरै मात्र पहल गर्ने हो भने हावाको गुणस्तर बढाउनमा योगदान गर्न सक्छौं । यसका लागि घरघरबाट निस्केको धूलो सडकमा वा अन्यत्र जथाभावी नफाली खाल्डोमा वा डस्टविनमा जम्मा गरौं । सवारी साधनको चक्कामा लागेको हिलो सडकमा निस्कनु अगावै पानीले सफा गरौं । इँटा भट्टा प्रदूषणको प्रमुख कारण बनिरहेकोले इँटाभट्टाको कच्ची बाटो र वरपरको सडकमा कम्तीमा दिनको दुईपटक पानीले भिजाउने बन्दोबस्त गरौं । दुई तीन वटा इँटा भट्टा मिलेर गर्दा खर्च घटाउन सहायक होला । जथाभावी प्लास्टिक तथा नकुहिने वस्तु बाल्ने नगरौं ।
पुरानो घर भत्काउँदा सकेसम्म पानी हालेर बढी धूलो नउड्ने अवस्था बनाऔं । सवारी साधन आवश्यक भन्दा बढी गतिमा नचलाऔं ! वायु प्रदूषण घटाउन सबैले योगदान गरौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *