भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
नारायणमान बनमाला
भक्तपुर नगरको ऐतिहासिक महत्व बाकेको जीवित रुपमा पुजिने प्रसिद्ध नवदुर्गा भवानीको यस वर्षको जात्रा पुस १ गते नवमीको दिनदेखि काठमाडौंको पशुपति क्षेत्र जय बागेश्वरी स्थानबाट माछामार्ने (ङालाकेगु जात्रा) शुभारम्भ हुने गर्दछ । वर्षको ८ महिनासम्म चल्ने मुकुन्दोसहितको यो जात्रा हरेक वर्ष बालाचरेपछि नवमी र दशमीको दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगणबीच भेटघाट तथा प्रसाद आदानप्रदान गर्ने गरिन्छ । पशुपतिनाथका मूल पुजारीबाट नवदुर्गा भवानीलाई पूजा प्रदान गरी पशुपतिको जल तथा प्रसाद भैरवको बाहुल्यमा चढाउने चलन रहेको पाइन्छ । पशुपतिको मूल चोकमा देवगणको नाचसँगै भित्रका सम्पूर्ण देवताहरूलाई भेटघाट गर्ने र पूर्वपट्टिको गुजेश्वरी देवतालाई नाचको रुपमा भेट गरिने गरी दक्षिणतर्फ रहेको शिवालय चोकमा ‘मू बाहाँ लिकेगु’ जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पूजा ग्रहण गर्ने चलन छ । यसैगरी जय बागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम माछामार्ने जात्राको लागि ख जुयेगु ( बास बस्ने ) र रात्रिको नाच प्रदर्शन गर्ने चलन रहेको पाइन्छ । सोही दिन भोलिपल्ट बिहानदेखि बाराही नाच, सिम दुमको माछामार्ने नाच, महाकाली नाचबाट बेलुका सेतो भैरवले माछामार्ने जात्रा बेलुकासम्ममा सम्पन्न गरी पुनःभक्तपुर फर्किने चलन छ । सोही स्थानमा देवगणहरूले आफ्नो देवताको मुकुन्दो, पोसाकदेखि आवश्यक सामानहरू खर्पन अथवा खमूमा राखेर बोक्दै हिँडेर जानुपर्ने परम्परा छ ।
त्यसलगत्तै पुनःयोमरी पुन्हीको दिनदेखि मध्यपुर नगरपालिका ठिमीमा नवदुर्गाको माछामार्ने जात्रा हुन्छ । २०६६ मा केही त्यहाँका उच्छृङ्खलहरू र देवगणहरूबीच भएको अप्रिय घटनाबाट सो जात्रा सञ्चालन बन्द भएको थियो । उक्त जात्रा सञ्चालन गर्न त्यसबेला पटक–पटक छलफल भए पनि सफल हुनसकेन । सहमति हुन नसक्दा जात्रा ९ वर्षसम्म बन्द भएको थियो । मानव समाजमा आधारित दैनिक जीवनसम्बन्धी दिशाबोध गर्ने परापूर्वकालदेखि चल्दै आइरहेको संस्कृतिलाई निरन्तर रुपमा अगाडि बढाउन मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र सोही नपाका वडा नम्बर ४ का वडाध्यक्ष कुमार श्रेष्ठको सक्रियतामा नवदुर्गा देवगणहरूबीच जात्रासम्बन्धी व्यापक छलफल भयो । छलफलमा आवश्यक जात्रामा शान्ति सुरक्षा, देवगणहरूलाई आर्थिक सहयोग, खाना र जलपानको साथै बास बस्न उपयुक्त स्थान व्यवस्थाका साथ यस वर्ष पुस ७ गते शनिबार योमरी पुन्हीको दिनदेिख पुनःजात्रा सञ्चालन हुने सम्झौता भएको छ । सम्झौतामा स्थानीय समाजसेवी ,देवगण परिवार र मध्यपुर नपाका मेयर, वडाध्यक्ष र वडाका बुद्धिजीवी तथा वडावासीहरूको रोहवरमा मध्यपुर नपामा दीर्घकालीन रुपमा नवदुर्गाको जात्रा सञ्चालन हुने लिखित सम्झौता भएको छ ।
मध्यपुर नपामा नवदुर्गा जात्रा सात दिनसम्म हुन्छ । पहिलो दिन योमरी पुन्हीको दिनमा भनपा वडा नम्बर ९ स्थित गछेँ मन्दिरबाट देवगणहरू सम्हेबजी ग्रहण गर्दै मुकुन्दोदेखि गरगहना र पोसाकहरू खमूमा राखेर बोकी दिउँसो तीन बजे मध्यपुर नपा प्रस्थान गर्छन् । चार बजे दिगुली स्थानमा पुगेर सम्पूर्ण देवगणहरूले आ–आफ्नो पोसाक पहिरन गरी नवदुर्गा नाच जात्रा सुरु हुन्छ । दिगुलीबाट नाच प्रदर्शन गरी बेलुका मध्यपुरको बालकुमारी मन्दिर सत्तल पुगी बास बस्ने गरिन्छ ।
दोस्रो दिन बिहान ७ बजेदेखि मध्यपुरको भुलांख्यो स्थानबाट गणेश कुमारी र सिम दुम चारजना देवगणहरूको टोली बाजासहित निश्चित स्थानमा केही नाच प्रदर्शन गरिन्छ । बेलुका सम्पूर्ण देवगणहरूको लाय्कुमा खः प्याखं (नाच) गरिन्छ । देवगणहरूमा उन्नाइसवटामध्ये खिं बाजा, तं बाजा, कंस बाजा बजाउने, भैरव, महाकाली, बाराही, कुमारी, धोमा पोमी, दातिमा पोमी, झिमा पोमी, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, नकीं, बालकुमारी, दुम, सिम, श्वेत भैरव गनिन्छ ।
तेस्रो दिन चपाचोदेखि चार जना देवगणको नाच प्रदर्शन हुन्छ । नवदुर्गा देवगणको छुट्टै पहिचान रहेको जात्रा मध्यपुर ठिमीमा हुने गरिन्छ । भक्तजनहरूले आफ्नो क्षमताअनुसार घरमा भएको कुनै उत्पादन भएको वस्तु धान, गहुँ, मकै, तरकारी, खुर्सानी, मूला, खेतबाट उत्पादन हुने चिजहरू थाल अथवा कुनै भाँडोमा राखेर चढाउने चलन छ । गणेश, कुमारी, सिम दुम, चारजना देवतालाई चढाएको वस्तु बोकी भाषाको तालमा नाच गरी चढाउने चलन छ । माटोको भँडा उत्पादन गर्ने प्रजापतिहरूले पनि आफ्नो उत्पादन भएको कुनै भाँडाकुँडा देवगणलाई चढाउने चलन छ । यसो गर्दा आपूmले उत्पादन गरेको वस्तुमा बढी उत्पादन हुने र कुनै नोक्सान नहुने जनविश्वास छ । चपाचोमा निश्चित स्थानको परिक्रमा गरी पुनः टोलहरूमा नाच प्रदर्शन सम्पन्न गरी बालकुमारी मन्दिरमा फर्केर सोही दिन बन्द हुन्छ ।
चौथो दिन मध्यपुरको विभिन्न स्थानमा स्थानीय वडावासीहरूले टोलटोलमा देवगणहरूलाई द्यो ब्वयेकेगु कार्यक्रम रहेको छ । त्यस अगाडि बिहान अथवा बेलुका बालकुमारी सत्तलमा निम्ता दिने चलन छ । सोही दिन प्रसाद ग्रहण गरी पुनःदथुटोलमा आएर बेलुका खः प्याखँ नाच प्रदर्शन गरी राति बालकुमारी मन्दिरमा फर्किने चलन छ ।
पाँचांै दिन बिहानै मध्यपुरको बहाखाबजार हँुदै नगदेश क्षेत्रमा चार जना देवगण घुम्ने अथवा विभिन्न टोलटोलमा नाच प्रदर्शन गरी पूजा ग्रहण गरिन्छ । मध्यपुर बोडेमा पनि चार जना देवता बेलुकातिर पुगी बोडेको लाय्कुमा पूजा ग्रहण हुन्छ । नाचमा विभिन्न श्रद्धालु भक्तजनहरूको गुठीमा देवता भित्राउने चलनअनुसार सम्पूर्ण नाच सम्पन्न गरी बालकुमारी मन्दिरमै फर्किने गरिन्छ ।
छैठांै दिन मध्यपुरकै गामचामा पनि चार जना देवताकै नाच प्रदर्शन हुन्छ । बालकुमारी र बजिगान्जा क्षेत्रमा पूजा ग्रहण गरी बेलुका लोकेश्वर मन्दिरनिर महत्वपूर्ण खः जुयेगु (बास बस्ने) गरिन्छ । देवगणको सम्पूर्ण कालरात्रि नाच प्रदर्शन गरेर पूजा ग्रहण गरी मध्यपुरको लाछी चोकबाट मु बाहाँ लिकेगु जात्रा गरिन्छ । साथै मू बाहाँंको बली चढाई कालराति नै नाच सम्पन्न गरिन्छ ।
सातांै दिन माछामार्ने जात्राको रुपमा बाराहीको नाच प्रदर्शन गरिन्छ । त्यसपछि सिम दुमको नाच विभिन्न टोलहरूमा घुमिसकेपछि माछामार्ने पहिलो चरण सुरु हुन्छ । ङालाकेगु जात्रा दुमले सम्पन्न गरेलगत्तै महाकाली नाच प्रदर्शन सुरु गरिन्छ । महाकाली नाच एक महिषासुर बध गर्ने नाचको रुपमा लिइन्छ । गीतको बोल र बाजाको तालमा महाकाली नाच गरिन्छ । सोही नाचसँगै माछामार्ने श्वेत भैरवको आगमन हुन्छ । भाषाको तालमा गा टोकेगु जात्रा कुखुराको भाले बली दिने श्वेत भैरवको नाचसँगै माछामार्ने नाच सुरु गरिन्छ । हर्ष उल्लासका साथ भाषाको तालमा माछा खाने, पेट दुख्ने, लुगा धुने जात्रा सम्पन्न गरी पुनःसम्पूर्ण देवगणहरूको अन्तिम नाच गं दिगु नाच प्रदर्शन गरी पुनःबालकुमारी मन्दिरमा पुगी देवगणहरूले आ–आफ्ना मुकुन्दोहरू सत्तलमा राखेर आफ्नो पोसाकसहित चोकमा आएर आरती बाल्छन् । अन्तमा सम्पूर्ण भक्तजनलाई बिदावारीका साथ बेलुका राति भनपाको मन्दिरमा देवताहरू बोकेर फर्किने चलन छ । नवदुर्गा जात्राको महत्वपूर्ण नवदुर्गा नाच दैनिक जीवनमा आधारित छ । पारिवारिक भूमिका, चेलिबेटीको दुखेसो, सहकारी भावना, पञ्चरङ्गको महत्व, केटाकेटीको भूमिका, सरसफाइको शिक्षा, असत्यमाथिको नास भन्ने दिशाबोध यो नाच माघ सङ्क्रान्तिबाट भनपाको सूर्यमढी टोलदेखि दुई महिनासम्म विभिन्न स्थानमा नाच हुन्छ ।
आशा छ, यस संस्कृतिलाई सम्बन्धित निकाय तथा सम्पूर्ण भक्तजनहरूबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास गर्दछु ।
(लेखक नवदुर्गा देवगण सदस्य हुनुहुन्छ ।)
Leave a Reply