भर्खरै :

एकजना शिक्षकको अनुभव

 न्हुछेरत्न बुद्धाचार्य
“शिक्षाको जरा धेरै नै तीतो हुन्छ तर यसको फल चाहिँ धेरै नै मीठो हुन्छ, ” एरिस्टोटल
प्रजातन्त्रको मिरमिरे उज्यालोसँगै मेरो २००८ साउन १५ गते स्व. पिता त्रिरत्न बुद्धाचार्य र माता रत्नशोभा बुद्धाचार्यको कोखबाट पहिलो पुत्रको रुपमा भक्तपुरको क्वाठण्डौ टोलमा जन्म भएको थियो । घरमा बुबाले नै कडा अनुशासनबाट मैले पढ्न लेख्न सिकेँ ।
शैक्षिक पृष्ठभूमि
सबभन्दा पहिले मेरो पिताजीले २०१४ सालमा ६ वर्षको उमेरमा दत्तात्रिय निकुञ्ज स्कूलमा भर्ना गराउनुभयो । त्यो स्कूल भक्तपुर वडा नं ३ (हाल ९ वडा) गछेंमा अवस्थित थियो । त्यहाँ १ वर्ष जति पढेर म वागीश्वरी मा. वि. सूर्यमढीको दबुलीमा सञ्चालित प्राथमिक विद्यालयपछि ब्रम्हायणीको द्योछेंमा सञ्चालन गरियो । त्यहाँ ५ कक्षासम्म उत्तीर्ण गरी २०१९ मा सरस्वती विद्यागृहमा बुबाले भर्ना गर्नुभयो । विद्यालयमा अध्ययन गर्दादेखि नै जिज्ञासु स्वभाव भएकाले मलाई पहिलेदेखि नै ऐतिहासिक घटना सुन्न र पढ्न मनलाग्थ्यो । ७ कक्षा पढ्दादेखि मेरो हातमा इतिहासको पुस्तक हुन्थ्यो । जहाँ गए पनि इतिहासको पुस्तक अध्ययन गरिराख्ने बानी थियो । फेरि पुरानो गीत सुन्न सधैं लालायित हुन्थँे ।
जब १० कक्षामा पुगेँ म एकपटक बिरामी परेँ । म सरस्वती विद्यागृहबाट एस.एल.सी. परीक्षा दिन पाएन । २०२६ मा शारदा रात्रि मा.वि.बाट प्रात्ेट टेष्ट दिन स्व.शिक्षक कृष्णराम श्रेष्ठबाट सिफारिस भएको थियो । मैले प्रात्ेटबाट टेष्ट पास गरी त्यही वर्ष एस.एल.सी. मा दोस्रो श्रेणीमा उत्तीर्ण गरे । त्यसबेला शारदा मा.विमा प्रधानाध्यापक स्व.सूर्यमान बिजुक्छें हुनुहुन्थ्यो ।
मैले एस.एल.सी. पास गरेपछि २०२९ मा शिक्षाशास्त्र अध्ययन संस्थान कीर्तिपुरबाट १० महिने तालिम प्राप्त गरेँ । त्यसपछि बिहान भक्तपुर कलेजमा पढ्ने र दिउँसो विद्यालयमा पढाउने गर्दथेँ । २०३१ मा भक्तपुर कलेजबाट आई.ए. परीक्षा उत्तीर्ण गरेपछि मैले घरमा नै अध्ययन गरी २०३५ मा त्रि.वि.बाट प्रात्ेट परीक्षा दिएर वी.ए. पास गरँे । अध्ययन अध्यापनलाई निरन्तरता दिँदै २०४१ मा काठमाडौं रामशाहपथमा रहेको शिक्षाशास्त्र अध्ययन संस्थानबाट अङ्ग्रेजी मूल विषय लिएर वी.एड. उत्तीर्ण गरँे ।
शिक्षा नै जीवनको ज्योति हो भन्ने कुरा मनन गरी २०४६ मा त्रि.वि.बाट नेपालभाषा साहित्यमा प्रात्ेट परीक्षा दिएर एम.ए. उत्तीर्ण गरेँ । आफूलाई मन परेको विषयमा अभिरुचि हुनु स्वाभाविक हुन्छ । फेरि मलाई इतिहाससम्बन्धी विषय रुचि भएकोले २०५१ मा इतिहासमा पहिलो वर्षको एम.ए. परीक्षा दिएको थिएँ । यसरी मेरो शैक्षिक विकासको निरन्तरता चली नै रह्यो ।
शिक्षणसेवाको पृष्ठभूमि
मलाई विद्यार्थी अवस्थादेखि नै शिक्षक भएर सेवा गर्न मन परेको थियो । विद्यालयमा सेवा गर्नुभन्दा अघि नै घर र टोलमा विद्यार्थीहरूलाई पढाउन सुरु गरँे । २०२६ मा ब्रह्मचारिणी प्रा.वि.मा शिक्षक भएर सेवा सुरु गरेँ । पछि २०३० मा नयाँ शिक्षा योजना लागू भएपछि तालिम प्राप्त र योग्यता पुगेकोले मैले प्रधानअध्यापकमा नियुक्ति भएर सेवा गर्न थालेँ ।
भक्तपुरको विकास गर्न २०३२ मा भक्तपुर विकास परियोजना लागू भयो । भक्तपुर विकास परियोजनाका अधिकृत कर्मचारीहरू आएर विद्यालयहरूको बीचमा स्वास्थ्यसम्बन्धी नाटक प्रतियोगिताको आयोजना गराइएको थियो । ब्रह्मचारिणी प्राविले नाटक प्रतियोगितामा भाग लिएको थियो । त्यो नाटकको नाम ‘‘फोहर बानी गबलेँ भिंजुइ मखु’’ (फोहर बानी कहिले पनि राम्रो हुँदैन ) हो ।
यो नाटक र त्यसमा समावेश भएको गीत मैले तर्जुमा गरेको थिएँ । त्यो नाटक प्रथम भएर पुरस्कृत भएको थियो । त्यो नाटक जर्मन प्रोजेक्टको अगुवाइमा टोलटोलमा राति देखाइएको थियो । विद्यालयका विद्यार्थीहरूले बेजोड अभिनय गरेका थिए । टोलटोलमा देखाएको यो नाटकलाई सबैले राम्रो ठानेर प्रशंसा गरेका थिए । यो नाटकमा विद्यार्थीहरूले राम्रो अभिनय गरेकाले जर्मनहरूले फिलिम नै खिचेका थिए । त्यो नाटकको फिलिम जर्मनमा पनि लगेर देखाइएका थियो ।
भक्तपुरमा त्यसबेला विद्यालयहरू कुनै मठ, पाटी पौवा, मन्दिरमा सञ्चालन भइरहेका थिए । धेरैजसो प्राथमिक विद्यालयहरूको भवन नभएकोले जर्मन प्रोजेक्टले यसमा ध्यान दिन थाल्यो । ब्रह्मचारिणी प्राविको भवन थिएन । मठमा विद्यालय चलिरहेको थियो । जग्गामात्र थियो । त्यही जग्गामा भक्तपुर विकास परियोजनाले भवन निर्माण गराउन सहयोग ग¥यो । अरु विद्यालयहरूको भवन पनि निर्माण गर्न सहयोग गरिएको थियो । यसरी भक्तपुरमा शिक्षाको भौतिक विकास देखापरेको थियो । २०३२ मा प्राथमिक विद्यालयहरूले स्वास्थ्यसम्बन्धी नाटक पुरस्कृत भएको र नाटक टोलटोलमा प्रदर्शन गरिएको थियो ।
मैले २०२६ देखि २०३६ सम्म १० वर्ष ब्रह्मचारिणी प्राविमा सेवा गरी २०३७ मा बोडे माविमा नि.मा.वि. शिक्षकमा सेवा गरेको थिएँ । दिउँसो बोडे मा.वि.मा अध्यापन गराएर बेलुकी काठमाडौंको विस्तार क्याम्पसमा अध्ययन गरेको थिएँ । यसरी शिक्षण सेवा गरी २०३८ मा सरस्वती विद्यागृह मा.वि.मा सरुवा भई सेवा गरेको थिएँ । मलाई पहिलेदेखि नै अतिरिक्त कार्यकलापमा रुचि भएकोले साहित्य गोष्ठी, हाजिरीजवाफ प्रतियोगिता विद्यार्थीहरूमाझ कार्यक्रम गराउन थालेँ । पछि मलाई अतिरिक्त कार्यकलापका शिक्षकको रुपमा समावेश गरियो । सरस्वती विद्यागृहमा अङ्ग्रेजी भाषाको अध्यापन गराएर अतिरिक्त कार्यकलापअन्तर्गत हाजिरीजवाफ, साहित्य गोष्ठी गराउँदै आइरहेको थिएँ । एक समयमा सरस्वती विद्यागृह हाजिरीजवाफमा नाम चलेको विद्यालय थियो । पछि २०५१ मा शिक्षक सङ्गठनबाट दीर्घसेवा पदक पाएँ । २०६२ मा सरस्वती विद्यागृहमा २४ वर्षसम्म अटुट सेवा गरेको उपलक्ष्यमा स्वर्णपदकबाट विभूषित भएको थिएँ । जिल्ला विकास समितिबाट पनि दीर्घ सेवापदक पाएको थिएँ । यसरी प्राथमिक शिक्षकदेखि माध्यमिक शिक्षकसम्म लगनशील भई सेवा गर्दै आइरहेको थिएँ ।
४५ वर्ष जनज्योति पुस्तकालयमा दैनिक अध्ययन
शिक्षा नै मानव जीवनको ज्योति हो । शिक्षाको ज्योति फैलाउन शिक्षक, विद्यालय, पुस्तकालयको धेरै नै महत्वपूर्ण योगदान हुन्छ । पुस्तकालय, विद्यार्थी, शिक्षक सर्वसाधारणहरूको अध्ययनशाला हो । पुस्तकालयबाट बौद्धिक ज्ञान हासिल गर्न सकिन्छ । म शिक्षकको नाताले जनज्योति पुस्तकालयमा अध्ययन गरेर मेरो शैक्षिक क्षेत्रमा ठूलो परिवर्तन आएको थियो । मैले २०३० सालदेखि जनज्योति पुस्तकालयमा गएर अध्ययन सुरु गरँे ।
पुस्तकालयको सदस्य बनेर पुस्तक र पत्रपत्रिका नियमित अध्ययन गर्ने बानीको विकास भयो । विद्यालयबाट छुटेपछि र बिदाको समयमा दिनदिनै जनज्योति पुस्तकालयमा पुगेर पुस्तक र पत्रपत्रिका अध्ययनबाट अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञान हासिल गर्न सकिन्छ । यही पुस्तकालयबाट गहन अध्ययन गरेर मैले ‘भक्तपुर’ मासिक पत्रिका र मजदुर दैनिक पत्रिकामा लेखहरू प्रकाशित गराउन सहयोग प्राप्त भयो । पुस्तकालयमा गएर अध्ययनसँगसँगै महान व्यक्तिहरूको जीवनीको अध्ययनले उहाँहरूको योगदान र त्याग तपस्याबाट प्रभावित भएँ । शिक्षा सेवामा सेवा गर्ने शिक्षकहरूको सेवालाई कदर गरेर उहाँहरूको योगदानलाई कविताको माध्यमबाट प्रचार गर्ने प्रेरणा यही पुस्तकालयबाट पाएँ । यसरी मैले २०३० देखि हाल २०७५ सम्म ४५ वर्ष अटुट रुपमा पुस्तकालयमा गएर दिनदिनै अध्ययन गर्ने सुअवसर पाएर मैले शिक्षक जीवनमा ठूलो सफलता हासिल गरेँ ।
साहित्य सेवाप्रति
साहित्य जीवनको एक दर्पण हो । मेरो टोलका केही साहित्यसेवीहरूको प्रेरणाले प्राथमिक विद्यालयमा अध्यापन गर्दा नै कविताहरू लेख्न सुरु गरेँ । विद्यालयको प्रार्थना गीत र अरु साहित्य सम्मेलनहरूको लागि गीतहरू रचना गर्न थालँे । म जुनजुन स्कूलमा सेवा गर्थेँ त्यहाँ हरेक स्कूलमा प्रार्थना गर्ने गीत लेखेर विद्यार्थीहरूलाई गाउन लगाउँथँे । अनि विभिन्न साहित्य सम्मेलनहरू विराट नेपालभाषा र तःमुंज्यामा कविताहरू वाचन गर्दै आइरहेको थिएँ । भक्तपुरको बाल साहित्य मण्डलको साहित्य सम्मेलनको गीत प्रतियोगितामा र गीत प्रथम भएको थियो । साहित्य सम्मेलहरूमा गीत प्रस्तुत गराउन पाँच जनाको एक टोली बनाएको थिएँ । म गीत लेख्थेँ दुई जनाले गीत गाउने र अर्को दुई जनाले बाजा बजाउने गर्दथे । गीतहरू विराट नेपालभाषा र तःमुंज्याको साहित्य सम्मेलनमा प्रस्तुत गराउँदै आइरहेको थिएँ ।
मैले शिक्षासेवी र साहित्यसेवीहरूको बधाई कार्यक्रम र बिदाइ, दिवंगत हुँदा पनि कविताको माध्यमबाट उहाँहरूको योगदानलाई पत्रपत्रिकाहरूमा प्रकाशित गराउँदै आइरहेको थिएँ ।
यस्तै प्रसङ्गबस मेरा शिक्षासेवी गुरु गजेन्द्रबहादुर वैद्यको दिवंगत हुँदा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न पहिलोपटक श्रद्धाञ्जली कविता रचेर घरघर र विद्यालयहरूमा पुगेर उहाँको योगदानको प्रचार प्रसार गरेको थिएँ ।
यस्तै अर्का शिक्षासेवी गुरु शारदा भक्त मढिकर्मीको ५० वर्ष सेवा गरेको उपलक्ष्यमा र उहाँको दिवंगत हुँदा र उहाँको सरस्वती विद्यागृहमा प्रतिमा प्रतिस्थापन हुँदा पनि साहित्यिक रचनाबाट प्रचार प्रसार गरेको थिएँ ।
फेरि साहित्यकार रमेश विकल र भक्तपुरका एक नामुद साहित्यकार रामशेखर नकर्मीको निधन हुँदा पनि उहाँहरूको योगदानको कदर गरेर साहित्यिक रचनाबाटै प्रचार प्रसार गरेको थिएँ ।
यसरी मैले शिक्षाजस्तो पवित्र संस्थामा ४२ वर्षसम्म सेवा गरेर २०६८÷४÷१५ मा शिक्षा सेवाबाट अवकास प्राप्त गरेँ ।
अनि यो सानो शैक्षिक उद्गार पनि
यो पवित्र भूमिमा ज्ञानको प्रज्ञा प्रज्ज्वलन गरेर
जनसेवामा नै आफ्नो जीवन अर्पण गरेर
यो धरतीलाई शान्ति सुखमय पारेर
हामी सबल छौँ भनी नयाँ उमङ्ग लिएर अघि बढनेछौँ ।
(लेखक निवृत्त शिक्षक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *