भर्खरै :

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ–मस्र्याङ्दी

– कुमार चौलागाईं
काठमाडौं, ९ पुस । सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ–मस्र्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे लिग इतिहासमा नयाँ रेकर्ड कायम गर्ने दाबी गरेको छ ।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भन्नुभयो, “उपाधि लगभग सुरक्षित गरिसकेका छौँ । तर, हाम्रो लक्ष्य अब उपाधि मात्र होइन, लिगमा बाँकी रहेका तीन खेल जितेर नयाँ कीर्तिमान बनाउने हो । अहिलेसम्म कसैले त्यसो गर्न सकेका छैनन् । हामी कुनै खेल बराबरी नखेल्ने, नहार्ने र सबै जितेर नयाँ कीर्तिमान बनाउन चाहन्छौँ ।” “हामीले थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिसजस्ता ठूला क्लबलाई पराजित गरिसकेका छौँ, त्यसैले बाँकी खेल पनि जित्नेछौँ”, उहाँले भन्नुभयो ।
“खेलाडीकै कारण यहाँसम्म आएका छौँ । कीर्तिमान बनाउने चाहना छ, खेलाडी, अफिसियल सबै उपाधि जित्ने मात्र हैन, सबै खेल जितेर कीर्तिमान बनाउन चाहन्छन्”, प्रशिक्षक श्रेष्ठले भन्नुभयो ।
मनाङले अब ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । सङ्कटाबाहेक दुवै कलबलाई तुलनात्मकरुपमा कमजोर टोली मानिन्छन् ।
लिगको इतिहासमा बिनापराजित लिग जितेको इतिहास भए पनि लगातार १० वटा खेल जितेको रेकर्ड अहिलेसम्म नभएको फुटबलका पूर्व राष्ट्रिय खेलाडीहरूले बताउनुभयो । “नेपालमा लिग फुटबल सुरु भएको करिब ६४ वर्ष पुग्न लाग्यो । तर, यसबीचमा लगातार १० वटा खेल जित्ने क्लब भने अहिलेसम्म कुनै भेटिएको छैन”, लिग निर्देशक सञ्जीव मिश्रले भन्नुभयो ।
मिश्रले नेपाली फुटबल लिगको इतिहासमा अहिलेसम्म लगातार १० वटा जित कुनै क्लबले जितेको आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “फुटबलको क्षेत्रमा लागेको ३०÷३५ वर्ष भयो तर यसरी लगातार १० वटा जित कुनै पनि क्लबले जितेको मलाई थाहा छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *