भर्खरै :

भारतमा हिन्दू अतिवाद र बलिउडका स्टारहरू

नीरज
बलिउड कलाकार नसीरुद्दिन शाह नेपालमा पनि चिनिएकै कलाकार हुन् । दिल्लीस्थित नेशनल स्कूल अफ ड्रामाका विद्यार्थी शाह रङ्गमञ्चबाट बलिउडमा स्थापित कलाकारमध्ये अग्रस्थानमा गनिन्छन् । नेपालकै रङ्गकर्मी सुनिल पोखरेलसँग जोडिएर उनको नाम बेलाबेला नेपालका पत्रपत्रिका आउने गरेको छ । गएको डिसेम्बर १७ ले उनै नसीरुद्दिन शाहले अनलाइन भिडियोमार्फत प्रसारित अन्तर्वार्तामा दिएको अभिव्यक्ति भारतमा व्यापक चर्चाको विषय बनेको छ । डिसेम्बर ३ मा नसीरुद्दिनको जन्म भएको भारतको उत्तर प्रदेशको बुलन्दशर जिल्लामा भएको हुलदङ्गाबारे प्रतिक्रिया जनाउँदै उनले भनेका थिए, “विष चारैतिर फैलिसकेको छ । कानुन हातमा लिनेको लागि यो पूरै दण्डहीनताको अवस्था बनेको छ । धेरै क्षेत्रमा हामी देख्दैछौं–एक जना प्रहरी अफिसरको मृत्युभन्दा एउटा गाईको मृत्युलाई बढी महत्व दिइँदैछ ।”
बुलन्दशरमा के भएको थियो ?
डिसेम्बर ३ को दिन उत्तर प्रदेशको बुलन्दशर जिल्लास्थित माहाज गाउँमा बिहान ११ः०० बजेतिर स्थानीय एउटा खुला चौरमा गाई र बाछाको सिनो भेटियो । गाउँलेहरूले त्यसबारे प्रहरीसमक्ष उजुरी गरे । प्रहरीले आवश्यक छानबिन गर्ने आश्वासन दियो । तर, गाउँलेहरूले सिनो ट्र्याक्टरमा राखेर बुलन्दशर–गढ राजमार्ग नै अवरोध गरेर प्रदर्शन गरे । प्रहरीले जब अवरुद्ध राजमार्ग खोल्ने प्रयास गरे, तब स्थानीय गाउँले र प्रहरीबीच भिडन्त चर्कियो । सोही क्रममा प्रहरी अफिसर सुबोधकुमार सिंहको मृत्यु भयो । उनलाई बाँया आँखाको आँखीभौ छेउमा गोली लागेको थियो । भिडन्तको क्रममा प्रदर्शनकारीले केही गाडीमाथि तोडफोड गर्नुका साथै आगजनी पनि गरेका थिए । सोही दिन सुमित कुमार नामका एक जना विद्यार्थीको पनि मृत्यु भएको थियो ।
त्यो दिन भीडको नेतृत्व हिन्दुअतिवादी बजरङ्ग दलका नेता योगेश राजले गरेका थिए । उनीहरूले यसरी ‘गौमाता’ को वध गर्नुमा स्थानीय अल्पसङ्ख्यक मुसलमानहरूको भूमिका भएको दाबी गरेका थिए । प्रहरीले गाई मारेको अभियोगमा केही मुसलमानहरूलाई गिरफ्तार पनि गरिसकेको छ ।
नसीरुद्दिनले के भने ?
सोही घटनाको सन्दर्भ जोडेर कलाकार नसीरुद्दिन साहले कुनै दिन त्यस्तै हुलदङ्गामा आफ्ना केटाकेटीलाई ‘तिमीहरू कुन धर्म मान्छौ ?’ भनी सोधे उनीहरूले के जवाफ दिने होलान् भनी आफूलाई पीर परेको बताएका थिए । आफूले धार्मिक शिक्षा पाए पनि आफ्ना केटाकेटीलाई कुनै प्रकारको धार्मिक शिक्षा नदिएको उनको भनाइ थियो । मानिस असल र खराब हुनुमा धर्मसँग कुनै प्रकारको सम्बन्ध नभएकोमा आफ्नो विश्वास रहेको भन्दै उनी र उनीकी श्रीमती अर्का कलाकार रत्ना पाठकले केटाकेटीलाई कुनै पनि धार्मिक शिक्षा नदिने निर्णय गरेको भन्दै भविष्यप्रति चिन्ता व्यक्त गरेका थिए ।
तर, नसीरुद्दिन साहको यस्तो अभिव्यक्तिले भारतमा ठूलै तरङ्ग सञ्चार ग¥यो । सोही घटनालाई लिएर उत्तर प्रदेशका केही बुद्धिजीवीले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथको राजीनामा मागेपछि विशेषतः हिन्दुवादीहरू शाहमाथि खनिएका छन् । उत्तर प्रदेशको भारतीय जनता पार्टीका प्रमुख आदित्यनाथले शाहलाई सोही अभिव्यक्तिका कारण ‘पाकिस्तानी एजेन्ट’ को संज्ञा दिएका छन् । त्यस्तै पतञ्जलीका रामदेवले उनको सो भनाइलाई “देशद्रोही अभिव्यक्ति” भएको प्रतिक्रिया जनाएका थिए । उनको भनाइसँग जोडेर उठेको यो विवादका कारण २१ डिसेम्बरको दिन द अजमेर साहित्य महोत्सवमा नसीरुद्दिनले बोल्ने कार्यक्रम नै आयोजकले स्थगित गर्नुपरेको थियो ।
नसीरुद्दिन पहिला होइनन्
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बलिउड कलाकारबारे दिएको आक्रामक टिप्पणी यो नै पहिलो भने होइन । सन् २०१५ को नोभेम्बर महिनामा उनले बलिउडका अर्का स्टार कलाकार शाहरूख खानलाई पाकिस्तानका आतङ्कवादी हाफिज शैय्यदसँग तुलना गरेका थिए । शाहरूख खानले भारतीय समाज निकै असहिष्णु बन्दै गएको भन्दै दिएको अभिव्यक्तिको प्रतिक्रियामा आदित्यनाथले मुम्बई हमलाका मास्टरमाइन्ड मानिएका हाफिजसँग शाहरूखको तुलना गरेका थिए ।
त्यत्तिबेला उनले यदि भारतका धेरै मानिसले शाहरूखका चलचित्र नहेरे उनी ‘सामान्य मुसलमान’ बनेर सडकमा यताउता भौतारिनुपर्ने भनी रिस पोखेका थिए । भाजपाका अर्का नेता कैलाश विजयवर्गीयले पनि खानमाथि चर्को हमला गरेका थिए । उनले शृङ्खलाबद्ध रुपमा लेखेका ट्वीटमा खानलाई ‘राष्ट्रियताविरोधी’ र ‘भारतमा बसे पनि आत्मा पाकिस्तानमा भएको’ भनेका थिए ।
यसप्रकारका हमलामा परेका अर्का बलिउड कलाकार हुन्–आमिर खान । भारतीय जनता पार्टीको मोदी सरकारको आलोचना गरेका कारण सन् २०१६ मा आमिरलाई ई–कमर्श कम्पनी स्न्यापडिलको ब्रान्ड एम्बेसेडरबाट निकालिएको थियो । आमिरको चलचित्र ‘पिके’ मा हिन्दु देवतामाथि अपमान गरेको भन्दै भारतका हिन्दुवादीहरू उनीसँग रिसाएका थिए । अर्को एउटा अन्तर्वार्तामा आफ्नो पत्नी किरण रावले भारतमा बस्न असुरक्षित बन्दै गएको भन्दै दिएको अभिव्यक्तिलाई ‘आमिर भारत छोड्ने तयारीमा’ भन्ने हल्लाबाजी गरी उनको र किरणको चर्को आलोचना गरेका थिए । बलिउडकै कतिपय नाम चलेका कलाकारले समेत उनको खेदो खनेका थिए । आफ्ना मनसाय त्यस्तो नभएको कुरा सबैलाई बुझाउन आमिरलाई हम्मेहम्मे परेको थियो । सन् २०१५ को नोभेम्बरमा आयोजित रामनाथ गोयन्का पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा आमिरले असहिष्णुताका घटनाको जमेर विरोध गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई भाजपा नेता कार्यकर्ताले सरकार र हिन्दु धर्मको विरोधको रुपमा बुझेका थिए वा कम्तीमा त्यसरी प्रचार गरेका थिए । भारतमा बढ्दो असहिष्णुताप्रति विरोध जनाउँदै सरकारले प्रदान गरेका पुरस्कार बहिस्कार गर्ने चलचित्रकर्मी, प्राज्ञ, इतिहासकार र कलाकारको निर्णयलाई उनले पनि समर्थन जनाएका थिए । “म अहिंसात्मक विरोध प्रदर्शनलाई समर्थन गर्छु । विरोध प्रदर्शन अहिंसात्मक भएसम्म जोकोहीलाई पनि त्यस्तो प्रदर्शनप्रति समर्थन गर्ने अधिकार छ ।”
असहिष्णु बन्दै भारत
सन् २०१४ मा भारी बहुमतका साथ भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी ‘संसारकै सबभन्दा ठूलो प्रजातान्त्रिक देश’ का प्रधानमन्त्री बने । भारतमा धार्मिक दङ्गा र विवाद नयाँ कुरा होइन । सन् १९४७ मा भारत र पाकिस्तानको विभाजन नै धर्मको आधारमा भएको थियो । बेलायती उपनिवेशले छोडेको यो विग्रहको बीऊ अझैसम्म पनि नष्ट भइसकेको छैन । भारतका सबैजसो प्रदेशमा कुनै न कुनै आकार र प्रकृतिका धार्मिक द्वन्द्व आज पनि छन् । तर, विशेषतः हिन्दुवादको पृष्ठभूमिबाट आएका मोदी बलियो राजनीतिक शक्तिका साथ प्रधानमन्त्री बनेपछि हिन्दु अतिवादले फेरि सक्रिय हुने मौका पाइरहेको छ । धर्म, विचार, समुदाय आदि परम्परागत आधारमा आज भारतीय समाज क्रमशः अझ असहिष्णु बन्दै गएको मोदी प्रधानमन्त्री बनेयताका धेरै घटनाले पुष्टि गरिरहेको छ । त्यहाँका मुसलमान, दलित, अल्पसङ्ख्यक समुदायदेखि प्रगतिशील वा प्रजातान्त्रिक विचार राख्ने बुद्धिजीवीसम्म यो असहिष्णु राजनीतिको कोपभाजनमा परेका छन् । ‘अर्बन नक्सलाइट’ (सहरिया नक्सलबाडी) देखि केरला बाढीमा भएको पक्षपातसम्मका घटनालाई भिन्न मतमाथि दमन गर्ने मोदी र भाजपा सरकारको नीतिको रुपमा विश्लेषण गरिन्छ । जेएनयुमा भएको दमनदेखि हैदरावाद विश्वविद्यालयमा रोहित वेमुलाको आत्महत्या, पत्रकार गौरी लङ्केशको हत्यासम्मका घटना धार्मिक अतिवाद र असहिष्णुताका शृङ्खला हुन् । हालै भारतको सङ्घीय सरकारले रिसर्च एण्ड एनालाइसिस विङलगायत दस वटा सरकारी निकायलाई भारतभरिका कुनै पनि कम्प्युटर वा विद्युत्तीय सामग्रीमाथि निरीक्षण र नियन्त्रण गर्न सक्ने अधिकार दिएको छ । यसलाई भारत क्रमशः पुलिस स्टेट बन्दै गएको अर्को प्रमाणको रुपमा लिइएको छ ।
धार्मिक असहिष्णुतालाई राज्य स्वयम्ले संरक्षण दिंदा राज्यका सुरक्षा निकाय पङ्गु बनेका छन् । आज भारत हिन्दुवादी सङ्गठनको तखतमा चल्दा सीमान्तकृत गैरहिन्दु समुदाय चेपुवा परेका छन् । राज्य सत्ताकै संरक्षणमा आज असहिष्णुताको राजनीति संस्थागत र मूलप्रवाहीकरण भइरहेको छ ।
नेपालमा प्रभाव
भारतीय राजनीतिको सबैभन्दा तीव्र प्रभाव नेपालमा पर्ने गरेको इतिहासले साबित गरेको विषय हो । छिमेकी देश, खुला सिमाना, आर्थिक निर्भरता, सामाजिक एवं धार्मिक समानता आदि धेरै कारणले भारतको प्रभाव नेपालमा पर्ने गरेको छ । अहिले हिन्दुवादी लहरको अलि बढी प्रभाव भारतका उत्तरी प्रदेशमा बढ्ता देखिएको छ । यस्तो अवस्थामा भारतीय हिन्दुवादी राजनीतिक प्रभाव नेपालसम्म आउन गा¥हो कुरा होइन । नेपालकै राजनीतिमा पछिल्लो चर्चाको विषयमा रहेको हिन्दु राज्यको मुद्दा उठान कुनै न कुनै रुपमा यसबाट प्रभावित रहेको प्रस्ट छ । तर, साँच्चै नेपाली समाजले आज भारतीय अल्पसङ्ख्यक र दलित समुदायले भोगिरहेको जस्तो राज्यप्रायोजित असहिष्णुता भोग्नुपरे अवस्था कस्तो होला ? त्यस्तो अवस्था आउनु अघि नै पूर्वसावधानी नेपाली जनताको सचेततामा भरपर्ने कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *