भर्खरै :

त्रिवि प्राध्यापक सङ्घमाथि प्रश्न

त्रि.वि.प्राध्यापक सङ्घको पाँचौ अधिवेशन गत पुस ११ गतेदेखि प्रारम्भ भएको भनिए तापनि सङ्घको कथित नेतृत्वले अधिवेशनको औपचारिक उद्घाटन बाहेकका कुनै कार्यक्रम ब्यवस्थित रुपमा सञ्चालन गर्न सकेको छैन ।
यस कुरोले त्रिविका प्राध्यापकहरूको क्षमता र कार्यदक्षतामा प्रश्न चिह्न उभ्याई दिएको छ । हुनत सङ्घको नेतृत्वको म्याद ४ वर्ष अघि नै समाप्त भएको थियो तर नेतृत्वले समयमा अधिवेशन नगरी आफ्नो कार्यकाल ७ वर्ष लम्ब्याउन कुनै सङ्कोच मानेन । अब आएर अधिवेशनसम्म सम्पन्न गर्न नसक्नुले नेतृत्व पदलोलुप र अनैतिक मात्र नभएर असक्षमसमेत रहेको कुरा प्रमाणित हुन पुगेको छ । देशको उच्च शिक्षा केन्द्र त्रिविका प्राध्यापकहरूले आफ्नो पेशागत सङ्गठन सञ्चालन गर्न नसक्नेसम्मको कमजोरी प्रदर्शन गर्नुले के प्राध्यापकहरूले देश विकास र राष्ट्रनिर्माणमा कुनै किसिमको योगदान पुर्याउने हैसियत राख्छन् त ? भन्ने प्रश्न खडा गरिदिएको छ । हुनत यो कुरा प्राध्यापकहरूको पेशागत सङ्गठन परिचालन सन्दर्भमा मात्र नभएर त्रिवि कै नेतृत्व लिनेहरूको ब्यवहारले समेत उजागर गरिरहेको छ ।
तर, तिनीहरूलाई समेत विश्वविद्यालयको हितमा काम गर्न प्रेरित र प्रभावित गर्नुपर्ने सङ्घ नै प्रयोजनविहीन हुन पुग्नुले आम प्राध्यापकहरू माझ अन्योलको स्थिति सृजना हुन पुगेको छ । यो अवस्थाबाट उन्मुक्ति राष्ट्रिय राजनीतिमा असफल साबित दलीय नेतृत्वको एकोहोरो दलाली गर्नेहरूबाट कसैगरी सम्भव हुनेछैन । यस कार्यका निम्ति प्राज्ञिक आदर्शप्रति समर्पित, दृष्टिकोणयुक्त नेतृत्वको खाँचो छ । त्यसैले प्राध्यापक सङ्घको औचित्य र गरिमालाई पुनस्र्थापित गर्न चाहने हो भने आम प्राध्यापकहरूले गम्भीरतापुर्वक सोचेर निर्णय लिने बेला आएको छ ।
प्राध्यापकहरूले सही निर्णय लिएर आफूहरूलाई प्राज्ञिक क्षेत्रका अभियन्ताको रुपमा प्रस्तुत गर्दछन् वा दलीय नेतृत्वको एजेण्टको रुपमा निरन्तरता दिइराख्ने छन्, यसमै सङ्घसँगै विश्वविद्यालयको भविष्य निर्भर गर्नेछ । यसप्रति यतिबेलाका प्राध्यापक प्रतिनिधि भनाउँदाहरू सबैको गम्भीरता पूर्वक ध्यान जाओस् ।
–प्राध्यापक कृष्ण बेलबासे
(पूर्व क्याम्पस प्रमुख, नेपाल ल क्याम्पस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *