भर्खरै :

पर्ती जग्गा संरक्षण अभियानमा भनपा

संस्कृति–सम्पदा संरक्षण, सफाइ अभियान र कलेज सञ्चालन गरेर बुद्धिजीवीकरण गर्न अघि बढिरहेको भक्तपुर नगरपालिका पर्ती जग्गा संरक्षण अभियानमा जुटेको छ । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षणार्थ पर्खाल निर्माणको लागि शिलान्यास गरेर सो जग्गाको संरक्षण गर्न नपा जुटेको हो । वर्षाको बेला बरोबर डुबानमा पर्ने सो जग्गाको चारैतिर पर्खाल लगाउन पूर्ववडाध्यक्ष लक्ष्मीनारायण राजलवटको अध्यक्षतामा एक उपभोक्ता समिति गठन गरिएको छ । पर्खाल निर्माण कार्यको अनुगमन तथा निरीक्षण गर्न वर्तमान वडाध्यक्ष श्यामकृष्ण खत्रीको संयोजकत्वमा एक अनुगमन समिति पनि गठन गरिएको छ । चारैतिर पर्खाल लगाउन भनपाले ९८ लाख रुपैयाँ छुट्याएको छ ।
पर्ती जग्गा संरक्षण गर्नु स्थानीय निकायको जिम्मेवारी हो । पर्ती जग्गा संरक्षण गर्न प्रदेश र केन्द्र पनि लाग्नुपर्छ । पर्ती जग्गा समयमै संरक्षण नहुँदा अतिक्रमण भएको बग्रेल्ती दृष्टान्तहरू छन् । स्थानीय जनताको चाहना, माग तथा बुद्धिजीवीहरूको सल्लाहअनुसार भनपाले सो जग्गा संरक्षण गर्न पाइला चाल्नु समय सन्दर्भमात्र होइन जरुरी पनि छ । पर्खाल लगाउने योजना बनाएर सकारात्मक काम थालेकोमा भनपालाई साधुवाद छ । भनपाको उक्त कदमलाई केन्द्र, सङ्घ प्रदेश, स्थानीय जनता र प्रशासनले पनि सहयोग गर्नु आवश्यक छ । सो पर्ती जग्गा संरक्षण भएपछि जग्गा अतिक्रमणबाट जोगिन्छ । डुबान हुने समस्याबाट जोगिन्छ । उक्त ठाउँलाई सुन्दर, शान्त र सफा बनाउन सहयोग पुग्छ । त्यस कार्य गर्न भक्तपुर नपाले अरु योजनाहरू बनाउनुपर्ने देखिन्छ ।
शिलान्यास कार्यक्रममा जानकारी दिइएअनुसार पर्खाल चारफिटको अग्लो बनाइनेछ । त्यसमाथि तीन फिटको जाली राख्नेछ । नपाले हरेक योजनालाई स्थानीय जनताको प्रत्यक्ष सहयोग र अगुवाइमा काम थालेको छ । उपभोक्ता समितिमार्फत हुने काम कम लागतमा भरपर्दाे र बलियो भएको अनुभव नपासँग छ । त्यस्तो काम गुणस्तरीयमात्र होइन त्यस कामप्रति सद्भाव हुन्छ, सुरक्षित हुन्छ । पर्ती जग्गा संरक्षण गर्न र त्यसको सही उपयोग गर्न ट्रष्ट नेपालमा रहेको सो जग्गा सरकारले नपालाई हस्तान्तरण गर्नुपर्छ । जग्गा हस्तान्तरणसँगै नपाको मागबमोजिम ख्वप विश्वविद्यालय खोल्ने विधेयक पारित भएमा यसले भक्तपुरको मात्र होइन देश र देशवासीकै निम्ति फाइदा हुनेछ ।
–दानबहादुर कपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *