भर्खरै :

कथाकार धनमानको नेपालभाषाको कथासंग्रह सार्वजनिक

भक्तपुर, २५ फागुन । कथाकार धनमान श्रेष्ठले आफ्नो ७९ औं जन्म दिन बुधबार आफ्नो नेपालभाषाको कथासंग्रह धनमानया ल्ययाः बाखं( धनमानका चुनिएका कथाहरु) सार्वजनिक गरेर मनाउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सभाकक्षमा आयोजित कार्यक्रममा साहित्यसेवी नरेन्द्रभक्त हाडाले सो कथा संग्रह सार्वजनिक गर्नुभएको हो ।
कथाकार श्रेष्ठका यसअघि नेपाली भाषामा प्रकाशित १९ वटा कथाहरुलाई नेपाल भाषामा अनुवाद गरी सो संग्रह प्रकाशन गर्रिको हो । कथाहरुको अनुवाद कृष्ण प्रजापतिले गर्नुभएको हो ।
२०३० को दशकदेखि हालसालै लेखिएका कथाहरुलाई अनुवाद गरी १४२ पृष्ठको संग्रह सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिक गर्दै साहित्यसेवी नरेन्द्रभक्त हाडाले कथाकार धनमान २०१४ सालतिरबाटै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय भएको स्मरण गर्दै कथाकारलाई नेपालभाषामा पनि कलम चलाउन आग्रह गर्नुभयो ।
कवि ध्रुव मधिकर्मीले पनि कथाकारले भक्तपुरमै बसेर नेपालभाषामा कथा नलेख्नु र कसैले लेख्न आग्रह समेत नगर्नु अध्ययनको विषय भएको बताउनुभयो ।
अनुवादक कृष्ण प्रजापति र कथाकार सौरभ शाक्यले भने धनमान श्रेष्ठले नेपालभाषामा पनि कथाहरु लेख्नुभएको र नेपालभाषामा पनि लेख्न सामथ्र्य भएको कथाकार भएको चर्चा गर्नुभयो ।
साहित्यकार त्रिरत्न शाक्यले कथासंग्रहको समीक्षा गर्दै धनमान श्रेष्ठले पञ्चायतकालमा लेखेका कथाहरुको वैचारिक आधार र समकालीन समयमा लेखेका कथाहरुको वैचारिक उचाई समान रहेको विचार राख्नुभयो ।
कार्यक्रममा प्राडा रत्नकमल वैद्य, बन्दीपुरका लेखक मोहनबहादुर कायस्थलगायतले कथासंग्रहबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *