भर्खरै :

ख्वपमा महिला दिवसको अवसरमा सम्मान

भक्तपुर, २५ फागुन । ‘राजनीतिक अधिकारसँगै आर्थिक समानता आवश्यक छ । निर्वाचनमा दलहरुबीच सैद्धान्तिक छलफल वा विचारको लडाइँ हुनुपर्छ । मत प्राप्त गर्नको लागि सरकारमा गएका दलहरुले ठेक्कापट्टा दिने, सामान र पैसा बाँड्ने, जागीर दिनेजस्ता झूटा आश्वासन दिनु निर्वाचन आचारसंहिताविपरीत र राजनैतिक नैतिकताले नदिने विषय हो ।’
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिक्षण संस्थाहरुको संयुक्त आयोजनामा १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार सम्पन्न प्रवचन कार्यक्रममा उक्त विचार राख्नुभएको थियो ।
अध्यक्ष बिजुक्छेंले चुनावमा गाविस, नगरपालिका र जिविसको एक मुख्य पद महिला नै हुनुपर्ने कानुनी प्रावधान भएको हुँदा समाजमा परिवर्तनको लागि महिलालाई राजनीतिक क्षेत्रमा अगाडि ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसो नभए महिला हितसम्बन्धी कानुनको उपयोगिता नहुने बताउनुभयो ।
पहिलो महिला अधिवक्ता, वरिष्ठ अधिवक्ता र सर्वोच्च अदालतका न्यायाधीश सिलु सिंहलाई सम्मान गर्दै अध्यक्ष बिजुक्छेंले २०१५ सालको चुनावमा सिंह एक सक्रिय महिला कार्यकर्ता भएको र पदको लागि मरिहत्ते नगर्ने उदाहरणीय महिला भएको उल्लेख गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष एवं साहित्यकार प्रा.डा. सुधा त्रिपाठीलाई सम्मान गर्दै अध्यक्ष बिजुक्छेंले महिला साहित्यकार र महिलालाई मुख्य पात्र बनाई लेखिएको साहित्यको अभाव रहेको चर्चा गर्दै हिन्दी भाषामा भन्दा बंगाली भाषामा महिलालाई मुख्य पात्र बनाई साहित्य रचना गरिएको बढी भएको बताउनुभयो ।
उहा“ले शिक्षाध्यक्षको गाडी जलाइएको प्रसंग चर्चा गर्दै विद्यार्थीहरुलाई अध्ययन–अनुसन्धानमा लगाउनुपर्नेमा जोड दिनुभयो ।
प्राध्यापक माणिकलाल श्रेष्ठ संवैधानिक कानुनमा पहिलो स्नातक र नेपालको माक्र्सवादी प्रवक्तासमेत भएको तर शासक दलहरुले संविधान निर्माणबारे प्रा. श्रेष्ठलाई नसम्झेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले ती दलहरुमा विवेक हराएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले शिक्षण संस्थाहरुको तर्फबाट सिंह र त्रिपाठीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षण संस्थाहरुको सञ्चालक समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको लागि सम्पूर्ण कामदार वर्गले आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउँदै प्रजातन्त्र र गणतन्त्र नाम कायम भए पनि, संविधानमा समाजवादउन्मुख उल्लेख भए पनि धारा, उपधाराहरुमा समाजवादउन्मुख प्रावधान उल्लेख नभएको बरु कालोबजारी, तस्कर, नाफाखोरहरुलाई सजिलो हुने गरी सबै क्षेत्र निजीकरण गर्ने ऐनहरु बनिरहेको बताउनुभयो ।
सांसद सुवालले मुख्य मुख्य पदमा महिला पुगे पनि छाउपडी, सुत्केरीलाई गोठमा सुताउने र बोक्सीको आरोपमा ज्यान लिने अन्धविश्वास यथावत रहेको उल्लेख गर्दै यसमा आजसम्मका सरकारहरु र तिनका मन्त्रीहरु दोषी भएको औंल्याउनुभयो ।
प्राध्यापक माणिकलाल श्रेष्ठले मजदुृरलाई आधा तलब दिएकोमा विरोध गर्नेहरुले घरमा काम गर्ने महिलालाई कति पनि पारिश्रमिक नदिएको चर्चा गर्दै संयुक्त राष्ट्र सङ्घले १९७७ मा श्रमिक हटाएर अन्तर्राष्ट्रिय महिला दिवसमा सीमित गरेको बताउनुभयो ।
प्राध्यापक श्रेष्ठले महिला र पुरुषलाई सबै क्षेत्रमा बराबर अधिकार आवश्यक भएको चर्चा गर्दै आर्थिक समानताविनाको राजनीतिक अधिकारले महिलालाई दोस्रो दर्जाको नागरिक नै बनाउने विचार राख्नुभयो ।
सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सिंहले आफू पहिलो महिला अधिवक्ता भएर जाँदा महिला वकिल भनी विश्वास नगरेको तर आफूले बहस गरेको पहिलो मुद्दा आफ्नै पक्षमा जीत भएको चर्चा गर्दै रोल्पाको चुनावसम्बन्धी मुद्दामा आफूले वरिष्ठ अधिवक्ता भएर बहस गरेको बताउनुभयो ।

उहाँले महिलालाई कानुनी शिक्षा दिन ‘हाम्रा कानुनी अधिकार’ पुस्तक लेखेर जिल्ला जिल्ला पुगेको बताउँदै आफ्नो काममा लाग्ने प्रा. माणिकलाल श्रेष्ठको पूर्ण सहयोग प्राप्त भएको बताउनुभयो ।
उहाँले कानुनी अभ्यास भक्तपुर जिल्ला अदालत लायकूमा रहेकै बेला गरेको बताउँदै शोषित पीडित जनताको सेवाको लागि निडर भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले सर्वोत्कृष्ट नारीवाद भनेको माक्र्सवाद भएको र माक्र्सवादले जस्तोसुकै अवस्थामा पनि जिउन सिकाउने उल्लेख गर्दै सम्पूर्ण महिलाहरुको मुक्ति माक्र्सवादले मात्र सम्भव हुने विचार राख्नुभयो ।
ख्वप इञ्जिनियरिङ कलेजका उपप्राचार्य रजनी जोशीको सभापतित्वमा भएको कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य सुनिल दुवाल, शिक्षिका सुषमा सापकोटा, सुनिता गाइँसीले पनि कार्यक्रममा बोल्नुभएको थियो । शिक्षिका विष्णु खतिवडाले कविता वाचन गर्नुभएको थियो भने स्तन क्यान्सर विषयमा ख्वप बहुप्राविधिक अध्ययन संस्थानकी शिक्षिका रविना सुवाल र जेनी माक्र्सको जीवनीबारे इ. रत्नशोभा प्रजापतिले स्लाइड प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रमको सुरूमा कलेजमा अध्ययनरत विद्यार्थीहरूले ‘मेरी श्रीमती काम नै गर्दिनन्’ नामको व्यंग्यात्मक नाटिका प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *