भर्खरै :

वाग्मती सफाइका लागि कविता

काठमाडौँ, २६ फागुन । वाग्मती सफाइ महाअभियानले सफाइ अभियान २०० औँ हप्ता पुग्न लागेका उपलक्ष्यमा आज यहाँ आयोजना गरेको कविगोष्ठीमा करिब ४० कविले कविता पाठ गर्नुभएको छ ।
कविता वाचन गर्नेमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ तुलसी दिवस र अशेष मल्ल, साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, राधेश्याम लेकाली, विजयध्वज थापा, फूलमान बल, बाबा बस्नेत, सन्ध्या पहाडी, माला खरेल, लक्ष्मी रुम्बालगायत हुनुहुन्थ्यो ।
सहभागी कविले वाचन गरेका कविताले वाग्मती नदीमाथि भइरहेको प्रदूषण, नदीको इतिहास, मानव सभ्यतामा नदीको महत्वका बारेमा स्रोतालाई पर्याप्त जानकारी दिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले मानव सभ्यतासँग जोडिएको वाग्मती नदी विगतमा जसरी फोहर गरिए पनि अब सबै मिलेर सफा राख्नुपर्नेमा जोड दिनुभयो । चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले सो अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सचिव दिनेशकुमार थपालिया तथा अभियानकर्मी शिशिर योगी, केशव अधिकारी र राजु अधिकारीलाई सम्मान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *