भर्खरै :

संशोधनवादीहरू स्वार्थको लागि देश बेच्न पछि नपर्ने

मध्यपुर, १९ माघ । नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि नै पञ्चायत, निरङ्कुशतन्त्र, अराजकतावाद, भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजीसित एक्लै सङ्घर्ष गर्दै झन् शक्तिशाली तथा सङ्गठित हुँदै आइरहेको छ  ।
नेमकिपाको ४५ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘मजदुर किसान’ बुलेटिनको पूर्णाङ्क २२ को विषयमा नेपाल क्रान्तिकारी विद्यार्थी मध्यपुर नगर समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेमकिपाका प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभयो ।
उहाँले प्रतिक्रियावादी तथा संशोधनवादीहरू नेमकिपाको सैद्धान्तिक स्तर र कम्युनिष्ट चरित्रदेखि डराएर नै सानो पार्टी भनी गलत प्रचार गरिरहेको विचार राख्नुहुदै सत्ता र स्वार्थको राजनीतिबाट प्रेरित प्रतिक्रियावादीहरू आफ्नो सत्ता टिकिरहे तथा स्वार्थ पूरा भइरहे देशसमेत बेच्न पछि नपर्ने कुरामा सचेत रहनुपर्नेतर्फ जोड दिनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवाद विश्वयुद्धको कारक भएको हुँदा स्थापनाकालदेखि नै साम्राज्यवादको विरोध गर्दै विश्वमा स्वतन्त्रता, न्याय तथा समाजवादको लागि भइरहेको आन्दोलनमा नेमकिपाले सदा समर्थन तथा एक्यबद्धता जनाइरहेको कुरा प्रष्ट्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीले नेपालमा कम्युनिष्ट भनी स्थापित पार्टीहरू साम्राज्यवादी तथा प्रतिक्रियावादीहरू रिसाउलान् भनी डराएकाले वर्गसङ्घर्षको मुद्दालाई छोडी वर्ग समन्वयतर्फ केन्द्रित भएको विचार राख्नुभयो । उहाँले नेपालमा राजनीति व्यक्तिको विकल्पमा मात्र केन्द्रित रहेको तर सही राजनीति पुँजीवादको विरुद्ध समाजवादको स्थापनाको लागि केन्द्रित हुने तर्क राख्नुभयो ।
नेमकिपा मध्यपुर नगर समितिको अध्यक्ष सुर्यराम श्रेष्ठले वर्गीय शत्रु चिन्न नसकेकोले कम्युनिष्ट आन्दोलन स्थापित हुननसकेको कुरा राख्नुभयो । कार्यक्रममा सुरेन्द्र था, सुरोज प्रजापति, प्रदिप श्रेष्ठ, दिक्षा बाडे, दिपेश श्रेष्ठ, रुपिका बुढा, राजु कैतीलगायतले बुलेटिनमाथि आआफ्नो विचार राख्नुभएको थियो । अम्बर दलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई सुनिल प्रजापतिले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *