भर्खरै :

तेलको भाउ बढ्यो

काठमाडौँ, १९ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ ।
शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रूपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ ।
निगमले एलपी ग्यासको मूल्य भने समायोजन गरेको छैन । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रूपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रू. एक अर्ब १६ करोड नाफा हुनेछ ।
आईओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ २५ पैसा र डिजेलमा चार रूपैयाँ २८ पैसा बढाएर नयाँ निगमलाई मूल्यसूची पठाएको भन्दै निगमले मूल्य बढाएको बताएको छ ।
निगमले १५÷१५ दिनमा मूल्य समायोजन गर्ने गरे पनि सर्वसाधारण उपभोक्ताको हित तथा देशको आर्थिक वृद्धिलाई ध्यानमा राखी अघिल्लो पटक इन्धनको मूल्यवृद्धि गरेको थिएन । विगतमा करीब डेढ महिनाजति अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले पेट्रोलियम खरिद मूल्यमा कमी आउँदा विगतको महिनामा भएका नोक्सानी केही हदसम्म पूर्ति भएको निगमका प्रवक्ता गोइतले जानकारी दिनुभयो । यद्यपि, माघ २ गते प्राप्त मूल्यअनुसार निगमको रू. एक अर्ब ६ करोड सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *