भर्खरै :

किसानदेखि मजदुरसम्म

चिन्मय
उनीहरूको काँध चढेर काठमाडांैका कहाँदेखि कहाँ उक्लिसक्यो । तर, हिजोका भरिया दाजुहरू आज पनि उस्तै छन् । उनीहरूको बिरह उस्तै छ । दिनचर्या उस्तै छ । तर, जीवन ? झन्झन् खस्कँदो छ ।
वीर अस्पतालको बगलबाट भित्र पस्दा दाहिने किनारमा लहरै फार्मेसी भेटिन्छन् । कहिल्यै नसुक्ने व्यापार । औषधि बेच्ने केटाकेटीहरू सधैं आत्तुरीमा देखिन्छन् । फार्मेसीको सिधा अगाडि बाटोको पेटीमै पार्किङ गरिएका हुन्छन् ट्याक्सीहरू । ट्याक्सी चालकहरू कोही ट्याक्सीभित्र आराम गरेर बसेका छन् त कोही टालो लिएर ट्याक्सीको सदाबहार धुलो पुछिरहेका छन् ।
अलि पर केही मान्छे झुम्म परेर बसेका छन् । ती मान्छेको शरीरमा ट्याक्सीमा जमेजत्तिकै धुलोमैलो कलेटी परेको छ । सबैका अनुहार फुस्रा छन् । सबैका ओठ सुकेका । कसैले बाउबाजेको ढाका टोपी अझै त्यागेका छैनन् । भर्खरको उमेरकाहरू पनि आफ्नो उमेरभन्दा बुढा देखिन्छन् । यिनीहरू सबैमा एउटा समानता झुण्डिएको छ । काँधको नाम्लो । सबैसँग आफ्नो नाम्लो छ । नाम्लो अर्थात् उनीहरूको कमाई खाने भाँडो । अर्थशास्त्रको भाषामा उत्पादनको साधन ।
सरासर हिँडेपछि महाबौद्धको फलामे पर्खालले घेरिएका स–साना गुम्बाहरू आउँछन् । त्यहाँ पनि भरिया दाजुहरू सबैजना झुम्मिएका र बसेर तल हेरिरहेका छन् । मनको खसखस शान्त पार्न म घाँटी तन्काएर भित्र नियाल्छु । बीचमा हुन्छ चाक्लो मोबाइल फोन । त्यसमा चारजना खेलाडी लुडो खेलिरहेका छन् । अरू दर्शकजनहरू टाउको ठोक्काएर आ–आफ्ना साथीसँग सल्लाह र साउती गरिरहेका छन् । यो छेउमा उभिएर म पल्लो कुनामा हेर्छु । केही व्यक्तिहरू मुसुमुसु हाँस्दै एकजना बुढो व्यक्तिका कुरा सुनिरहेका छन् उभिएरै । सेतै फुलेका बाजे नाम्लो काँधमा राखेर केही अधबैँसेहरूलाई हँसाइरहेको देखेर मलाई खुल्दुली हुन्छ । व्याडमिन्टन खेलिरहेका केटाकेटीको बीचबाट म उता लाग्छु ।
साँझ पर्ने बेला छ । मानिसहरू दायाँतिरको होटलमा बसेर चिया नास्ता गरिरहेका छन् । यता भरिया दाजुहरूमध्येका पाका बाजे पुराना किस्साहरू सुनाएर सबैलाई हँसाउँदैछन् । “आजभोलि पो फोन छ । उबेला त अनुमान र नक्साको भरमा काम गर्नुपथ्र्यो ।” नजिकैका निलो टोपी लगाउने अधबैँसे दाजुतिर औँलाएर बाजे भन्छन्, “यसलाई साहुले सामान डिल्लीबजार पु¥याउन भनेछ । भर्खर आएको थियो । यसले पु¥याएछ डल्लु ।” सबैजना गलल्ल हाँस्छन् । मलाई आफ्नो हाँसो थाम्न हम्मेहम्मे पर्छ । उनीहरूको गफगाफमा रुचि लिँदै म घुस्रिन्छु ।
०३९ सालमा काठमाडांै आएका गफ्फी बाजे पुराना सम्झना कोतर्छन् । “उबेला यहाँका धनी नेवारहरू हामीलाई अति हेप्थे । सामान पु¥याउँदा सकेसम्म बढी काम अ¥हाउँथे । कोहीले नास्ता खान दिन्थे । हुन त छत्तिसै जातका छौं हामी । तर, यहाँ हाम्रो एउटै जात हो – मजदुरी । त्यसैले उनीहरू हामी सबैलाई नास्ता खाएको भाँडा माझ्न लगाउँथे । … … अहिले उनीहरूभन्दा पनि धनीले बाहिरबाट आएर तिनको सम्पत्ति किने । यहाँ वरिपरि हेर्नुहोस् धेरैजसो घरका मालिक बाहिरकै छन् । धेरै नेवार रिङरोड बाहिर पुगे अहिले ।” बाजेले नजानेरै सामन्ती र पुँजीवादी ‘मत्स्य न्याय’ को कुरा गरिरहेका थिए ।
भरिया दाजुहरू उपत्यका वरिपरिका जिल्लाबाट काम गर्न यहाँ आउँछन् । धेरैजना सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रे आदि जिल्लाका रहेछन् । वास्तवमा यी गाउँले किसान हुन् । गाउँको खेतीपातीले नपुगेपछि दुखजिलो गरेर दुईचार पैसा जुटाउन यिनीहरू सहर पस्न बाध्य भए । पछि शहर नै यिनको बा¥ह मासको बास भयो । गाउँमा त खालि बाली लगाउन, भित्राउन बेला मौकामा जान थाले । यसरी गाउँका यी किसान दाजुहरू क्रमशः मजदुर बन्दै गए । अहिले गाउँमा किसानी गर्न झन् गा¥हो बन्दै छ ।
“सरकारले जमिन बाँझो राख्नेको जमिन खोस्ने रे ! दुईतिहाइको बलियो सरकार बन्यो । अब त केही हुन्छ कि भनेको त यो ओली सरकार त झन् कसाई पो रैछ । किसानलाई राम्रो बीउबिजन, पानी, बिजुली पु¥याओस् न यसले । अनि पो बाँझो राख्नेलाई कारबाही गरोस् । सिँचाइलाई पानी छैन, जे चीज पनि महङ्गो छ, गाउँमा भेटेनरी डाक्टर कोही छैन, सल्लाह दिने कोही छैन अनि कसरी हुन्छ खेतीपाती ?” बाजे अलि कड्के । मेरो दायाँतिर उभिएका बाक्लो जुँगावाल दाजुले थपे, “त्यसमाथि गाउँमा यस्तो गर्न प¥यो भनेर ओलीलाई भन्दा त्यो काम त स्थानीय सरकारले गर्ने हो भन्छ । गाउँको सरकारले जेमा पनि कर लगाउन थालेको छ । हिजो ४०।५० रुपियाँ कर दिनुपर्ने ठाउँमा आज ७००।८०० लिन थालेका छन् । मैले तपाइँलाई मेरो घरको बाख्रो बेच्ने हो भने मैले १०० रुपियाँ सरकारलाई कर तिर्नु पर्ने रे ! मरीमरी काम गर्नुछ । बेच्दा मिहिनेतको ज्याला पनि आउन्न । हामीले बेचेको सामानको भाउ यहाँ काठमाडांैमा सुन्दा दङ्ग परिन्छ । सरकारले बिचौलियालाई खेल्न दिनुभएन नि ! सबै चीजको भाउ तोक्नुप¥यो ।” बाजेले सार खिच्छन्, “अनि गाउँमा कसले खेती गरोस् ? बाँझै छोड्छ नि ! सरकारले जमिन बाँझो राखेको दोष हामीलाई दिन मिल्छ ?”
“यो सरकारजस्तो नालायक त अहिलेसम्म देखिएको थिएन । यहाँ बहाल बढ्या बढयै छ । सरकारले लगाएको कर पनि घरमालिकले हामी गरिबगुरुवासँगै असुल्छन् । जताबाट पनि हामी नै चेपिनुपर्ने ?” मोटो जुङ्गावाल दाजुको प्रश्नमा बाजे पुरानो सम्झना थप्छन्, “कुनैबेला यहाँ काठमाडौंमा बहाल नतिरे पनि बस्न दिन्थे । मालिकको अलिअलि घरायसी कामकाज गरिदिए पुग्थ्यो । आज यहाँ कोठाभाडा छोइसाध्य छैन । सरकारले मूल्य तोक्नुप¥यो नि !” मोटो जुँगावाल दाजु पहिले एमालेको पछि लागेर समय बर्बाद गरेको दुखेसो पोख्दै ओली सरकारमाथि सकेसम्म खनिन्छन्, “यो बाटोमा जतापनि गाडी राख्छन् । पार्किङको ठाउँ छैन । त्यसमाथि बिग्रेका केटाहरू हामीलाई ठोक्काउँदै बाइक गुडाउँछन् । हामीले साहुका हजारदेखि लिएको लाखसम्मका सामान ओसारपसार गर्नुपर्छ । त्यसको जिम्मेवारी लिनुपर्छ । भारी त बोक्नैपर्छ त्यसमाथि दुनियाँको हेलाहोचो पनि हामीले नै सहनुपर्ने ?”
बाजेले आफ्नो रामकहानी पनि सुनाउँछन्, “अब माओवादीले केही गर्ला भनेर दस वर्ष झोला बोकेर हिँडें । गाउँका टाँठाबाठाहरू माथि लागे । तिनका भात्तिजा, मामाभान्जा नालनाता सबैले जागिर पाए । यता हामी भने जहाँको तहीं । …. ०४६ सालको आन्दोलनको बेलामा यहीँ महाबौद्धमा, हाम्रै अगाडि मान्छे सहीद भए । हामी पनि आन्दोलनमा लाग्यौँ । केही होला भन्ने थियो ……. तर चुनाव आउँदा फेरि उहीँ हुन्छ । सित्तैमा गाडी, खाना, खाजाको चाँजोपाजो मिलाएर हामीलाई गाउँ लग्छन् । अनि गाउँ गएर तिनलाई छाप लगाएपछि हामीलाई कसले सोधोस् ? फिर्ता हुने गाडीभाडा पनि आफैले तिरेर आउनुपर्छ । …. यी पाटीसाटी भन्ने सबै भत्क्या पाटी हुन् ।” सबै एकसरो हाँस्छन् ।
“आजभोलि कामको सिजन छैन । यसरी खालि गफ लगाएर बस्नुप¥या छ । त्यसैले तपाइँसित कुरा गर्न मिल्यो । हाम्रो कामै यस्तै छ । काम पाए पाएको पाइ । जुन साहुले पनि यता आइज, उता आइज भन्छन् । काम नहुने बेला कहीँ पनि पाइन्न ।” अर्का पातला दाजुले हाँसो भङ्ग गर्छन् । तैपनि भरिया दाजुहरू गाउँ जान सक्दैनन् । कतै काम पाइहालियो भने अलिअलि भएपनि पैसा जुट्छ कि । फेरि गाउँमा बस्ने आफ्ना लालाबालालाई पढाउनु, लेखाउनु र हुर्काउनु छ । “छोराछोरी यै पेशामा आऊन् भन्ने चाहन्नौँ हामी । फेरि विदेशबाट पनि मान्छेका लास आइरहेका छन् । कोही विदेशमा बितरा परे पनि सरकारले हेर्ने होइन । यहाँ नेताहरूले आफ्ना मान्छेलाई मात्र जागिर ख्वाउँछन् । यै काम गरेर अलिअलि पढाइएको छ । हाम्रा छोराछोरीले किसानी गरुन् वा यहीँ सानोतिनो जागिर खाऊन् तर विदेश नजाऊन् ।” जुँगावाल दाजु मनको रहर पोख्छन् । साँझ झमक्क पर्दै जाँदा उनीहरू छुट्टिने तरखर गर्छन् ।
मलाई यी सिसिफसहरूको कहानी लेख्ने मन हुन्छ । “कसैले लेख्न चाहेमा हजुरहरूको पेशालाई के लेख्न मिल्ला ?” म सोध्छु । मोटो जुँगावाल दाजु भन्छन्, “हेर्नुस् यी ३०।३५ वर्षभित्र १६ किसिमका मजदुरी गरिसक्यौँ । हामी मजदुर हौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *