भर्खरै :

फेरि भारतीय हस्तक्षेप

भारतीय एसएसबीले बिहीबार दिउँसो गोली हान्दा कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारमा एक नेपाली गोविन्द गौतमको मृत्यु भयो। आनन्द बजारस्थित नेपाली भूमिमा नेपालीहरूले कल्भर्ट बनाउँदा गुगल नक्सामा सो भूमि भारतको देखाएको भन्दै एसएसबीले निर्माण रोक्न धम्की दिएको थियो। नेपालीले आफ्नै भूमिमा कल्भर्ट बनाएको जवाफ दिएपछि भारतीय एसएसबीले नेपाल पसेर काम रोकेको थियो। यही निहुँमा भारतीय एसएसबी नेपालीको घरमा छिरेर बुधबार कुटपीटमा लागे। यसको विरोधमा बिहीबार बिहान ९ बजे सीमा क्षेत्रमा पुगेका नेपालीलाई भारतीयले आक्रमण गरेपछि थप झडप भयो।
बिहीबार दिउँसो भारतीय प्रहरीले नेपालतर्फ गोली चलायो। २ गोली लागी स्थानीय नेपाली वर्ष ३० को गोविन्द गौतमको मृत्यु भयो। नेपाल–भारत खुला सीमालाई दुरुपयोग गरी हतियार सहित भारतीय एसएसबी नेपाल प्रवेश गर्ने र नेपालीमाथि आतङ्क फैलाउने काम बारम्बार भइरहेको छ। भारतले १०० भन्दा बढी ठाउँमा नेपाली भूमि अतिक्रमण गरेको छ। दुवै देशको बीच ५९९४ सीमास्तम्भ मध्य ११ सय भन्दा बढी उखेलेर नेपालतर्फ सार्ने काम भएको छ। भारतसँगको सीमानामा बसेका नेपाली राति सुत्दा नेपालमा बिहान उठ्दा भारतमा भइरहेको छ।
दुई देशका नागरिकको विवाद टुङ्ग्याउन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र सुदूरपश्चिमाञ्चलका क्षेत्रीय प्रशासक आनन्द बजार लागेको खबर छापियो तर भारतीय पक्षबाट खासै चास्ाो लिएको देखिँदैन। नेपाली अधिकारी भारतमा पढ्ने र सरकारी जागीरलगतै भारतमै प्रशिक्षण लिने भएको हुँदा भारतीय पक्षसँग शीर ठाडो गरी बोल्न नसक्ने अवस्थामा रहेको पुरानो हो। यसकारण नेपाल सरकारले भारतसँगको खुला सीमामा जाने नेपाली अधिकारी भारतबाहेक अन्य देशमा पढेका र अङ्गे्रजी भाषा बोल्न र लेख्न दख्खल भएका पठाउनुपर्ने सुझाव पनि पुरानो हो।
गएको वर्ष सप्तरी जिल्लाको लालपट्टीमा भारतले यसरी नै नेपाली भूमि अतिक्रमण गर्दा स्थानीय जनताले प्रतिवाद गरेका थिए। भारतले वि.सं. २०२२ सालदेखि नेपालको सुस्ता अतिक्रमण गरेको अभिलेख छ। देशमा नेपाली जनताले भारतीय अतिक्रमणको निरन्तर विरोध गर्दैछन्। तर सरकारमा गएका दलहरू भारतीय शासक वर्गको निर्देशनमा लागेको हुँदा नेपालको भूमिमा भारतीय अतिक्रमण भइरहेको हो।
नेपाल र भारत दुवै देशको हितको लागि खुला सीमा नियमित गर्नु आवश्यक छ। त्यसैले दुवै देशबीचको एक अर्कामा लुक्ने अपराधीहरूलाई पनि नियन्त्रण गर्ने छ। तर भारतीय शासक वर्ग यतातर्फ सचेत छैन। भारतको सार्कका अधिकांश मुलुकसँग मित्रवत सम्बन्ध छैन। भारत, दक्षिण एसियामा दादागिरी चलाउँदैछ तर यो सधंै टिक्ने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *